खुवा बनाइरहनुभएका हेटौँडा–६, चुच्चेखोलाका ७५ वर्षीय कृष्णप्रसाद तिमल्सिना ।
अनिल पराजुली
हेटौँडा, पुस २१ गते । बागमती प्रदेशको राजधानी हेटौँडाको बुद्ध चोकबाट आठ किलोमिटरको दुरीमा रहेको चुच्चेखोलाले छुट्टै पहिचान बनाएको छ । कान्ति राजपथ हुँदै हेटौँडा–काठमाडौँ आउजाउ गर्दा हेटौँडा बजारनजिकै रहेको हेटौँडा–६, चुच्चेखोला खुवा र खुवाको परिकारका लागि पर्यायवाची बनेको छ । हेटौँडा पुग्ने जोकोहीलाई पनि चुच्चेखोला पुगौँ पुगौँ लाग्ने एउटै कारण छ– खुवा (कुराउनी) ।
खुवाका पारखीलाई उपयुक्त गन्तव्य बनेको चुच्चेखोला खुवा उत्पादनको ‘हब’ बनेको हो । यहाँ आधा दर्जनभन्दा बढी खुवा उत्पादन गर्ने व्यावसायिक पसल छन् । सडक सञ्जालको विस्तारसँगै खुवाको परिकारले यहाँ भैँसी पालनको सुरुवातसँगै सामुदायिक वनको कुकाठ दाउराको रूपमा खपत हुँदै आएको छ। खुवाका कारण यो स्थानको परिचय बदलिनुका साथै स्थानीयवासी आयआर्जनसँग जोडिएका छन् । यहाँको रानी सामुदायिक र चुच्चेखोला वन उपभोक्ता समूहको जङ्गलमा उत्पादन भएका कुकाठ र दाउरा खुवा उत्पादनका लागि खपत भइदिँदा यहाँका सामुदायिक वन पनि आर्थिक उपार्जनमा जोडिएका छन्।
३७० रुपियाँमा दुई वटा कराही किनेर चिया पसलसँगै खुवा व्यापार सुरु गर्नुभएका हेटौँडा–६, चुच्चेखोलाका कृष्णप्रसाद तिमल्सिनाले अहिले लाखौँको खुवा व्यापार गरिरहनुभएको छ । २२ वर्षको उमेरमा काभ्रेपलाञ्चोकबाट हेटौँडा आएर खुवा पसल सुरु गर्नुभएका तिमल्सिनाको परिवारै यो पेसामा होमिएको छ । उमेरले ७५ नाघ्नुभएका उहाँ अहिले पनि खुवा घोटेरै बसिरहनुभएको छ । खुवा बेचेरै मनग्य आम्दानी गर्दै आउनुभएका उहाँले परिवारको पालनपोषण, शिक्षादीक्षा मात्रै होइन, घरजग्गा नै जोड्नुभएको छ । चिया नास्तासँगै खुवा घोट्न थाल्नुभएका तिमल्सिना यहाँका पुराना खुवा व्यवसायी हुनुहुन्छ ।
सुरुवाती समयमा भैँसी पालन नगर्ने र डेरी पनि नभएको स्मरण गर्दै तिमल्सिना अहिले चुच्चेखोलामा आधा दर्जनभन्दा बढी खुवा पसल खुलेसँगै दुध सङ्कलनका लागि डेरी खुल्नुका साथै भैँसी पालन गर्ने किसानको पनि सङ्ख्या बढेको बताउनुहुन्छ ।
हेटौँडा–काठमाडौँ सडक सञ्जालको विस्तारसँगै खुवा व्यापारले पाएको तीव्रता र काठमाडौँ जाने यात्रुले पनि कोसेलीका रूपमा खुवा लैजान लागेपछि यहाँ खुवा व्यापार फस्टाएको हो । तिमल्सिनाले दैनिक तीन सय लिटर दुध खपत गर्ने गरेको र ३० देखि ४० किलोसम्म खुवा घोट्ने गरेको बताउनुभयो ।
१५ रुपियाँबाट सुरु गरेको खुवा अहिले उहाँले प्रतिकेजी ७०० रुपियाँमा बिक्री गर्दै आएको बताउनुभयो ।
त्यस्तै विगत २६ वर्षदेखि चुच्चेखोलामा कृष्ण कन्हैया खुवा भण्डारमार्फत खुवा बिक्री गरेर चम्किरहनुभएका श्यामकुमार मानन्धरले पनि मनग्य आम्दानी गरिरहनुभएको छ । १० हजार रुपियाँ लगानीबाट सुरु गर्नुभएका मानन्धरले भाडाको घरसहित अहिले आफ्नै लगानीमा घर निर्माण गरेर दुई वटा खुवा पसल सञ्चालन गरिरहनुभएको छ । खुवा पारखीहरूका लागि ‘श्याम दाइ’ पर्याय जस्तै बन्नुभएको छ । मानन्धरले दैनिक करिब दुई सय लिटर दुध घोटेर २५ किलोभन्दा बढी खुवा बनाएर बिक्री गर्दै आउनुभएको छ ।
उहाँको पसलमै बसेर खुवा खाने, घरमा लैजाने तथा कसैलाई उपहार लैजानका लागि खुवा खरिद गर्नेहरूको भीड नै लाग्ने गर्दछ । खुवाको अतिरिक्त दूधबाट बन्ने मिठाई, पेडा, बर्फीलगायत शाकाहारी खाजा पनि बिक्री गर्ने मानन्धरले मासिक लाखौँको आम्दानी गर्ने गरेको बताउनुभयो । व्यापारको क्रममा २०३६ सालमा भक्तपुरको ठिमीबाट बुबासँगै मकवानपुर झर्नुभएका मानन्धरले करिब ३० वर्षको उमेरदेखि आफैँले खुवा पसल सुरु गर्नुभएको हो ।
त्यस्तै कान्ति राजपथ पूर्ण रूपमा सञ्चालन भएपछि यहाँको लक्ष्मीनारायण खुवा बिक्री भण्डारले पनि दोब्बर व्यापार गरिरहेको छ । परिवारले गरिरहेको व्यवसायलाई सघाउनैका लागि रोजगारीका क्रममा युरोप पुग्नुभएका मदनकुमार तिमल्सिना पनि खुवा व्यवसाय फस्टाएपछि स्वदेश फर्कनुभएको छ । सबै खर्च कटाएर मासिक एक लाख रुपियाँ बच्ने भएपछि उहाँले युरोपको बसाइलाई बिट मार्दै परिवारसँगै रहेर आफ्नै काम गर्ने उद्देश्यका साथ अहिले खुवा व्यापारमा सघाइरहनुभएको छ ।
गोरखापत्र अनलाइन