२०८१ माघ २ बुधबार

माघ सांस्कृतिक महोत्सव सुरु

घोराही, पुस २० गते । दाङको घोराहीमा शुक्रबारदेखि माघ सांस्कृतिक महोत्सव सुरु भएको छ । महोत्सवको उद्घाटन गर्दै लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले थारू समुदायको कला, संस्कृतिलाई आर्थिक विकास र समृद्धिसँग जोड्न जरुरी रहेको बताउनुभयो । उहाँले भन्नुभयो, “थारू समुदायको कला, संस्कृतिको प्रवर्धन गर्नका लागि थारू बस्तीमा होमस्टे, सङ्ग्रहालयलगायतका संरक्षण निर्माणमा प्रदेश सरकारले सहयोग गर्ने छ । त्यसका लागि के कसरी अघि बढ्न सकिन्छ भनेर तपाईंहरू अघि सर्नु पर्छ ।”

थारू कल्याणकारिणी सभा दाङले थारू समुदायको कला, संस्कृति प्रवर्धन गर्ने उद्देश्यले गरेको कार्यक्रममा लुम्बिनी प्रदेशका उद्योग, पर्यटन तथा यातायातमन्त्री प्रचण्डविक्रम न्यौपानेले थारू समुदायको कला, संस्कृतिलाई विकास गर्दै आयआर्जनसँग जोड्न आवश्यक रहेको बताउनुभयो । थारू समुदायको कला, संस्कृति बिक्री गरेर चितवन, बर्दियालगायतका ठाउँ पर्यटकीय केन्द्रसँगै आयआर्जनसँग जोडिएको भन्दै मन्त्री न्यौपानले दाङलाई पनि पर्यटकीय क्षेत्रका रूपमा विकास गर्नुपर्ने बताउनुभयो ।

कार्यक्रममा ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री सीता चौधरीले थारू समुदायको मौलिक कला, संस्कृतिलाई पर्यटनसँग जोडेर विकास गर्न आवश्यक रहेको बताउनुभएको थियो ।

माघ सांस्कृतिक महोत्सव पुसको २० गतेसम्म चल्ने छ । महोत्सवमा थारू नृत्य, थारू हस्तकलासँगै थारू परिकार माछा, घोँगी, गँगटा, सुँगुरको मासु, मुसाको मासु, ढिक्री, अनदीको रोटीलगायतका विभिन्न परिकार राखिएको छ । ‘आर्थिक जागरण र सांस्कृतिक रूपान्तरण हाम्रो अभियान, सामाजिक न्यायसहित समृद्धिमा हाम्रो योगदान’ भन्ने मुख्य नारासहित माघ सांस्कृतिक महोत्सव सुरु भएको हो । जिल्लाका विभिन्न ठाउँका ६३ भन्दा बढी थारू समुदायका नृत्य प्रस्तुत गरिने थारू कल्याणकारिणी सभा दाङका अध्यक्ष अशोककुमार चौधरीले जानकारी दिनुभएको छ ।

थारू कल्याणकारिणी सभाले विभिन्न माग राख्दै १० बुँदे ज्ञापनपत्र मुख्यमन्त्री आचार्यलाई बुझाएको छ । थारू भाषालाई सरकारी कामकाजको भाषाका रूपमा प्रयोगमा ल्याउनुपर्ने, थारू समुदायको मतहवा परम्परालाई कानुनी मान्यता दिनुपर्ने, थारू समुदायका ठुला कार्यक्रम गर्न सभा हल निर्माण गर्नुपर्नेलगायतका माग समेटेर ज्ञापनपत्र बुझाएको थारू कल्याणकारिणी सभा दाङका अध्यक्ष चौधरीले बताउनुभयो ।

गोरखापत्र अनलाइन

२०८१ पुष २०, शनिबार प्रकाशित 0 Minutes 15 Views

ताजा समाचार