मुक्ति पौडेल
पाटापुर । झापाको पुर्बोउत्तर बाहुण्डागीमा रहेको महाभारतकालीन पौराणिक कथन अनुसार भगवान श्रीकृष्णले गाई चराएको किंवदन्ती जोडिएको धार्मिक पर्यटकीय स्थल कृष्णथुम्कीमा मन्दिर र गुम्बाको मर्मत सम्भार गरिएको छ ।
मेचीनगर नगरपालिका वडा नं १ स्थित कृष्णथुम्की मन्दिरमा गाईको खुरको छाप रहेको पवित्र शिला रहेको छ भने मन्दिर वरपर श्रीकृष्ण र पाँच पाण्डवको प्रतिकको रुपमा पाथी आकारको छ वटा मनमोहक डाँडा रहेका छन् ।
मन्दिर र गुम्बाको मर्मत सम्भारमा ३० लाख ३९ हजार १८० खर्च भएको कृष्णथुम्की विकास समितिका अध्यक्ष हिम्मत क्षेत्रीको भनाइ छ। जसमा सहरी विकास मन्त्रालयले २८ लाख पाँच हजार १९७ सहयोग गरेको र समितिको आन्तरिक स्रोतबाट दुई लाख ३४ हजार ६२६ जुटाइएको उनले जानकारी दिए ।
मन्दिर र गुम्बाको मर्मत सम्भारपछि कृष्णथुम्की धार्मिक क्षेत्रको मुहार नै फेरिएको छ । पहाडी अग्लो टाकुरामा रहेको मूल मन्दिर पुग्नका लागि रेलिङसहितको पक्की सिढी निर्माण गरिएको छ भने गुम्बा, साकेला थान र राधाकृष्णको मन्दिर रंगरोगन गरेर आकर्षक बनाइएको छ ।
काँकरभिट्टाबाट १७ किलोमिटर उत्तर मेची र सिद्धी नदीको संगमस्थलमा रहेको कृष्णथुम्की धार्मिक क्षेत्र हिन्दू, किरात र बौद्ध धर्मावलम्बीहरुको साझा तीर्थस्थल हो । वर्षेनी हजारौं बाह्य तथा आन्तरिक पर्यटक यहाँ आउने गरेको समितिका पुर्ब अध्यक्ष महेन्द्र मल्लले बताए ।
यो क्षेत्र दृश्यावलोकनका लागि समेत प्रसिद्ध छ । यहाँका छ वटै थुम्कीबाट नेपाल र भारतको टाढासम्मको भूभाग अवलोकन गर्न सकिन्छ । द्वापर युगमा श्रीकृष्णले चराएको गाईको खुरको दर्शन र दृश्यावलोकन गर्न नेपाल र भारतका पर्यटक आउने गरेको समितिका अध्यक्ष मल्लले बताए ।
झापाको काँकरभिट्टाबाट इलामको सलकपुर र श्रीअन्तु जोड्ने सडक स्तरोन्नति गर्ने कार्य धमाधम भइरहेको र दक्षिणतिरबाट सडक कालोपत्रे भइरहेको हुँदा आगामी दिनमा कृष्णथुम्कीसम्म पुग्नका लागि पर्यटकलाई सहज हुने भएको छ।
पूर्वपश्चिम राजमार्गलाई चार लेनको एसियाली राजमार्गको रुपमा स्तरोन्नति भइरहेको र बाहुनडाँगीमा मदन भण्डारी राजमार्गको प्रस्थान विन्दु समेत रहेको कारण बाहुनडाँगी क्षेत्रका कृष्णथुम्की लगायतका ऐतिहासिक धार्मिक क्षेत्रहरुको पर्यटन प्रवर्धनमा सघाउ पुग्ने सम्भावना छ बढेको छ।