२०८१ बैशाख १५ शनिबार

राप्रपालाई सरकारमा जान हतारो छैन : अध्यक्ष लिङ्देन

अनुमतिबिना दूतावासका कार्यक्रममा नजान सांसदलाई निर्देशन

काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङदेनले राप्रपालाई सरकारमा जान हतारो नभएको बताएका छन् । सोमबार पार्टीको केन्द्रीय सचिवालयले आयोजना गरेको पार्टीबाट निर्वाचित सांसदहरुलाई स्वागत तथा बधाई कार्यक्रममा बोल्दै अध्यक्ष लिङदेनले राप्रपालाई सरकारमा जान हतारो नभएको बताएका हुन् ।

आफूहरुले सरकारमा नजाने भनेर कसम पनि नखाएको भन्दै आगामी दिनमा के गर्दा आफ्नो मान्यताहरु स्थापित हुन्छन् सोही गर्ने लिङ्देनको भनाइ छ । उनले आफूहरु मन्त्री खानका लागि कसैको घर नधाउने स्पष्ट पारे । अध्यक्ष लिङदेनले सरकारमा जानुपरेमा वा कसैलाई समर्थन गर्नुपरेमा कारणसहित गर्ने उल्लेख गर्ने बताए ।

‘सरकार निर्माणको प्रक्रिया शुरु भएको छ । राष्ट्रपतिबाट आह्वान भएको छ । हामी बैठक बसेर आधिकारिक धारणा पनि बनाउँछौँ । कोही पनि हाम्रो साथीहरुले आत्तिनुपर्दैन । नेतृत्वले गल्ती गर्छ कि, फेरि राष्ट्रिय प्रजातन्त्र पार्टी जोखिममा जान्छ कि यो चिन्ता लिनुपर्दैन । हामी सोचि, विचारी निर्णय गर्छौ । अहिले न हामीलाई सरकारमा जान हतारो छ । न सरकारमा नजाने भनेर हामीले कसम खाएरै आएका छौँ । के गर्दा उपयुक्त हुन्छ । के गर्दा हाम्रो मान्यताहरु स्थापित हुन सक्छन् । के गर्दा देश र जनताको अवस्थामा परिवर्तन ल्याउन सकिन्छ । त्यो सोचेर, विचार गरेर हामी निर्णय गर्छौ । हामी मन्त्री खानको लागि कसैको घर धाउँदैनौँ । कुनै दलको पुच्छर बनेर हिँड्दैनौँ । हामीले सरकारमा गएर, नगएर पनि अरु कसैलाई समर्थन गर्नुपर्‍यो भने कारणसहित गर्छौं । कारणसहित जान्छौँ । त्यसमा तपाईहरु सबै ढुक्क रहन आग्रह गर्छु,’ उनले भने ।

अध्यक्ष लिङ्देनले राप्रपाको उकालो यात्रा सुरु भएको समेत बताए । उनले आगामी दिनमा सतर्कतापूर्वक अगाडि बढ्दै पार्टीलाई पहिलो बनाउने बताए । उनले पार्टीले अझै मत ल्याउनुपर्ने भन्दै प्राप्त भएको मत परिणाम बाट आफू सन्तुष्ट नभएको उल्लेख गरे ।

अध्यक्ष लिङ्देनले नवनिर्वाचित सांसदहरूलाई विदेशी दूतावासहरुले कार्यक्रमहरुमा बोलाएमा पार्टीको अनुमतिबिना नजान निर्देशन दिए । दूतावासले बोलाएर रक्सीमासु खुवाउने भन्दै उनले त्यस्तो नगर्न आग्रह गरेका हुन् । सांसदहरुलाई अनुशासन र मर्यादामा बस्न निर्देशन दिँदै उनले भने, ‘अब तपाईहरुलाई कहिलेकाहीँ अन्तर्वार्तामा बोलाउँछन् । कहिले कुनै विदेशी दूतावासहरूले कार्डहरु पठाइराख्छ । ए मलाई फलाना दूतावासले बोलाएको छ भनेर खुरुर कुँदेर गएर त्यहाँ रक्सी खानेले रक्सी खाने मासु खान पाउनेले मासु खान कुदिहाल्नु हुन्न । पार्टीलाई सोधेर जानुपर्छ । हिजोअस्ति तपाईं व्यक्तिगत रुपमा जहाँ जानुहुन्थ्यो, जहाँ नाच्नुहुन्थ्यो केही छैन । तर अहिले केही मर्यादाहरु, केही जिम्मेवारीहरु छन् अब ।’

 

 

२०७९ पुष ४, सोमबार प्रकाशित 1 Minute 330 Views

ताजा समाचार