इश्वरचन्द्र झा
काठमाडौँ, मङ्सिर १६ गते । स्थानीय तह उपनिर्वाचन २०८१ अन्तर्गत मङ्सिर १६ गते आज (आइतबार) मतदान हुँदै छ । स्थानीय तहमा रिक्त रहेका ४१ पदका लागि मतदान हुने छ ।
निर्वाचन आयोगका प्रवक्ता नीता पोखरेल अर्यालले सम्पूर्ण तयारी पूरा भएको र आइतबार बिहान ७ देखि बेलुकी ५ बजेसम्म मतदान हुने बताउनुभयो । आयोगको अन्तिम नामावलीमा नाम हुनेले मतदाता परिचयपत्र वा नेपाली नागरिकताको प्रमाणपत्र वा राष्ट्रिय परिचयपत्र वा राहदानी वा स्थायी लेखा नम्बर वा सवारीचालक अनुमतिपत्रको सक्कल प्रमाणपत्रका आधारमा सम्बन्धित मतदान केन्द्रमा मतदान गर्न पाउने प्रवक्ता अर्यालले बताउनुभयो ।
आयोगको अन्तिम मतदाता नामावली अनुसार रिक्त पदमा दुई लाख २६ हजार ७९९ मतदाता मतदान गर्न योग्य छन् । महिला मतदाता एक लाख ११ हजार ८९६ र पुरुष मतदाता एक लाख १४ हजार नौ सय र अन्य तीन जना छन् ।
मतदाता २,२६,७९९
मतदान स्थल १६२
मतदान केन्द्र २९३
उम्मेदवारबमोजिम मतपत्र
आयोगले उम्मेदवारको अन्तिम नामावली अनुसार मतपत्र छापेको छ । निर्वाचन अधिकृतको कार्यालयले उम्मेदवारलाई निर्वाचन चिह्न प्रदान गरी प्रकाशन गरेबमोजिमको नामावली समावेश गरी मतपत्र छापिएका छन् । कीर्तिपुर नगरपालिकामा दुई वटा मतपत्र प्रयोग हुने छ ।
कीर्तिपुरमा प्रमुख र वडाध्यक्ष पदसमेत रिक्त रहेको हुँदा प्रमुख पदका लागि नगरपालिकाका सबै मतदाताले र वडाध्यक्ष पदका लागि सम्बन्धित वडावासीले मतदान गर्ने छन् । कीर्तिपुर–१ र ४ मा प्रमुख र वडाध्यक्ष गरी दुई पदका लागि दुई÷दुई वटा मतपत्र प्रयोग हुने छ । बाँकी ३८ स्थानमा भने एउटा मात्र मतपत्र रहने छ ।
४१ पद, ३७६ उम्मेदवार
आयोगका प्रवक्ता अर्यालका अनुसार स्थानीय तह उपनिर्वाचनमा कुल २० राजनीतिक दलले भाग लिँदै छन् । आयोगमा २५ वटा दल दर्ता भए पनि पाँच वटा दलले उम्मेदवारी दर्ता गरेनन् । उपनिर्वाचनमा राजनीतिक दल र स्वतन्त्र गरी कुल ३७९ जना उम्मेदवार छन् । तीन जना निर्विरोध निर्वाचित भएका छन् । आइतबार हुने मतदानबाट ३७६ जना उम्मेदवारमध्ये ४१ निर्वाचित हुने छन् ।
२०७९ वैशाख ३० गते सम्पन्न स्थानीय तह निर्वाचनबाट निर्वाचित भएकामध्ये निधन भएका वा अन्य कुनै कारणले रिक्त हुन गएका पदमा निर्वाचन हुन लागेको हो ।
स्थानीय तह निर्वाचन ऐन, २०७३ को दफा ३ ले जिल्ला समन्वय समितिको प्रमुख, उपप्रमुख, गाउँपालिकाको अध्यक्ष, उपाध्यक्ष तथा वडाध्यक्ष एवं नगरपालिकाको प्रमुख, उपप्रमुख तथा वडाध्यक्षको पदावधि समाप्त नहुँदै निजको पद कुनै कारणले रिक्त भएमा बाँकी पदावधिका लागि रिक्त भएको पद उपनिर्वाचनद्वारा पूर्ति गरिने व्यवस्था छ तर एक वर्षभन्दा कम पदावधि बाँकी रहेको अवस्थामा उपनिर्वाचन नगरिने ऐनमा उल्लेख छ ।
२०७९ वैशाख ३० गते सम्पन्न मतदानबाट निर्वाचित भई रिक्त भएका ४४ मध्ये २७ पदमा कांग्रेस, आठ वटामा एमाले, सात वटामा माओवादी केन्द्र र जनता समाजवादी पार्टी नेपाल र स्वतन्त्र एक/एक स्थानमा निर्वाचित भएका थिए । निर्विरोध निर्वाचित तीनमध्ये दुई जिल्ला समन्वय समितिको प्रमुखमा कांग्रेसका र एक वडध्यक्ष पदमा माओवादी केन्द्रका छन् ।गोरखापत्र दैनिकमा खबर छ।