२०८१ मंसिर २६ बुधबार

नेतृत्वविरुद्ध बोल्दा एमाले सांसदको पद गयो

काठमाडौं । नेकपा एमालेले पार्टी नेतृत्वविरुद्ध बोलेको भन्दै लुम्बिनी प्रदेश सभाका सदस्य दुर्गाप्रसाद चौधरीलाई सांसदबाट निलम्बन गरेको छ । अध्यक्ष केपी शर्मा ओली र महासचिव शंकर पोखरेललगायत नेताको कार्यशैलीको आलोचना गर्दै आएका चौधरीलाई नेकपा एमालेको बाँके जिल्ला कमिटीले निलम्बन गरेको हो ।

नेकपा एमाले बाँके जिल्ला अध्यक्ष निरक गुरुङले पार्टी हितविपरीत गतिविधि गरेको र चित्तबुझ्दो स्पष्टीकरण नबुझाएका कारण प्रदेशसभा सदस्य चौधरीलाई कारबाही गर्नुपरेको उल्लेख गर्नुभएको छ ।

‘पार्टीलाई हानि नोक्सानी पुर्‍याउने मनशायका साथ केन्द्रीय अध्यक्ष, महासचिव समेतको मानहानि हुनेगरी पार्टीका मूल्यमान्यताविपरीत सार्वजनिक रूपमा गाली गलौज गर्ने, सामाजिक सञ्जालमा पार्टीका नेता, कार्यकर्तालाई खुइल्याउने, पार्टीका विरुद्धमा समाचार लेख्नेजस्ता गतिविधि निरन्तर गरेका कारण’ प्रदेश सांसद चौधरीलाई निलम्बन गरेको अध्यक्ष गुरुङले जनाउनुभएको छ ।

पार्टीले सोधेको स्पष्टीकरणको जवाफ दिने क्रममा कमी कमजोरी सुधार्नुको साटो पार्टी पंक्तिविरुद्ध लिखित जवाफ दिएकाले विधानबमोजिम नै सांसद चौधरीलाई कारबाही गरिएको बाँके एमालेले जनाएको छ । चौधरीलाई सांसदबाट मात्रै नभएर पार्टी सदस्यबाटै हटाइएको अध्यक्ष गुरुङले जानकारी दिनुभयो । सांसद चौधरीलाई गरिएको कारबाहीबारे जिल्ला कमिटीले लुम्बिनी प्रदेश कमिटीलाई बोधार्थ पठाएको छ । सांसद चौधरी बाँके क्षेत्र नम्बर १ को ‘ख’ बाट प्रत्यक्ष निर्वाचित प्रदेशसभा सदस्य हुनुहुन्छ । उहाँले सत्तारूढ दल भएर पनि नेकपा एमालेले गत मंसिर ७ गते गरेको सडक प्रदर्शनको विरुद्ध सामाजिक सञ्जालमा लेख्नुभएको थियो । नेकपा एमालेको लुम्बिनी प्रदेश कमिटीको सदस्यबाट उहाँलाई यसअघि नै हटाइएको थियो । महासचिव शंकर पोखरेलसँग असन्तुष्ट चौधरीले पोखरेलविरुद्ध सामाजिक सञ्जालमा नियमित लेख्दै आउनुभएको थियो ।

२०७९ मंसिरमा भएको निर्वाचनमा उहाँले बाके क्षेत्र नम्बर १ को ‘ख’ बाट कांग्रेसका फुलाराम थारूलाई हराउँदै प्रदेशसभा सदस्यमा निर्वाचित हुनुभएको थियो । त्यतिबेला चौधरीले १५ हजार ५५७ मत ल्याउनुभएको थियो । उहाँ माथिको कारबाही नेकपा एमालेको माथिल्लो तहले सदर गरेर पदमुक्त भएमा सो क्षेत्रमा उपनिर्वाचन गराउनुपर्ने हुन्छ । एमाले लुम्बिनी प्रदेशका केही नेताहरू भने चौधरीको कारबाही केन्द्रबाट सदर नहुने र सम्झाई बुझाई गरेर पद थमौती गरिने दाबी गर्दछन् ।

पदको भिक्षा माग्दिनँ : चौधरी
जिल्ला कमिटीले साधारण सदस्यबाट समेत निलम्बन गरेका लुम्बिनी प्रदेशसभा सदस्य दुर्गाप्रसाद चौधरीले पदको भिक्षा नमाग्ने बताउनुभएको छ । सामाजिक सञ्जाल फेसबुकमा मंगलबार साँझ स्टाटस लेख्दै चौधरीले आफू गणतन्त्रका लागि ज्यानको आहुति दिन हिँडेको मान्छे रहेको भन्दै पदको भिक्षा नमाग्ने र जनतालाई गद्दारी नगर्ने उल्लेख गर्नुभएको छ । ‘पदको भिक्षा माग्दैन र जनतासित गद्धारी गर्दैन । समय आएपछि इँटको जवाफ पत्थरले दिनेछु र राज्यमा आवाज नपुग्ने समुदायको आवाज सदैव बोलिरहने छु’ चौधरीले लेख्नुभएको छ ।हिमालय टाइम्स

२०८१ मंसिर १२, बुधबार प्रकाशित 0 Minutes 17 Views

ताजा समाचार