२०८३ असार १७ बुधबार

हात्ती महोत्सव पुस १५ मा

काठमाडौँ, मङ्सिर १२ गते । चितवनको सौराहामा १८ औँ चितवन हात्ती तथा पर्यटन महोत्सव हुने भएको छ । क्षेत्रीय होटल सङ्घ नेपाल चितवनको आयोजना तथा युनाइटेड हात्ती सञ्चालन सहकारी संस्था लिमिटेड र रेस्टुरेन्ट एन्ड बार एसोसिएसन नेपालको सहआयोजनामा पुस ११ देखि १५ गतेसम्म महोत्सव सञ्चालन हुने छ ।

महोत्सवबारे जानकारी दिन मङ्गलबार यहाँ आयोजित पत्रकार सम्मेलनमा क्षेत्रीय होटल सङ्घ चितवनका महासचिव गुणराज थपलियाले महोत्सवले चितवनको मात्रै नभएर समग्र देशकै पर्यटन प्रवर्धन हुने बताउनुभयो ।

विसं २०५५ देखि सुरु भएको हात्ती महोत्सव कोराना महामारीका कारण तीन वर्ष रोकिए पनि गत वर्षदेखि पुनः निरन्तरता दिएको उहाँले जानकारी दिनुभयो।

होटल सङ्घ नेपालका अध्यक्ष विनायक शाहले महोत्सवका कारण चितवनमा हरेक वर्ष २५ देखि ३० प्रतिशत पर्यटकको आवागमनमा वृद्धि हुने गरेकाले महोत्सव कोसेढुङ्गा साबित हुँदै आएको धारणा राख्नुभयो ।

पाँच दिनसम्म सञ्चालन हुने महोत्सवमा ८० वटा हात्तीको सहभागिता रहने छ । महोत्सव अन्तर्गत हात्ती शृङ्गार प्रतियोगिता, हात्ती वनभोज र डुङ्गा दौडलगायतका प्रतियोगिता हुने छन् ।

महोत्सवमा हात्तीको दिनचर्याबारे जानकारी, स्वदेशी तथा विदेशी ट्राभल एजेन्सीसँग बिटुबी कार्यक्रम, स्थानीय वेशभूषा तथा कला संस्कृतिको संरक्षण, कलाकारको सांस्कृतिक कार्यक्रम, स्थानीय कृषि उत्पादनको प्रवर्धनात्मक कार्यक्रम गरिने छ ।

क्षेत्रीय होटेल सङ्घका अनुसार गत आवमा सौराहामा स्वदेशी तथा विदेशी गरी दुई लाख २५ हजार पर्यटक भित्रिएका थिए । तीमध्ये एक लाख ३० हजार जना पर्यटकले निकुञ्ज अवलोकन गरेको सङ्घले जनाएको छ ।

गोरखापत्र अनलाइन

२०८१ मंसिर १२, बुधबार प्रकाशित 0 Minutes 156 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।