नेकपा (एमाले) का महासचिव शङ्कर पोखरेल । फाइल तस्बिर
काठमाडौं, मङ्सिर ४ गते । नेकपा (एमाले) का महासचिव शङ्कर पोखरेलले देशको प्रधानमन्त्री जस्तो जिम्मेवार व्यक्तिका विरुद्धमा नक्कली कागजात तयार गरी जनतामा भ्रम सिर्जना गर्नु राष्ट्र र जनताका विरुद्धको षडयन्त्र भएको बताउनुभएको छ ।
कुनै पनि समाजका लागि षडयन्त्र र अराजकताले त्यस समाजको भविष्यलाई बर्वाद बनाउने विषवृक्ष भएको पोखरेलले प्रष्ट पार्नुभएको छ । ‘यस प्रकारको षडयन्त्र र अराजकतावाद राष्ट्र र समाजलाई सुरक्षित गर्नु हामी सबैको कर्तव्य हो’, सामाजिक सञ्जाल फेसबुकमा महासचिव पोखरेलले लेख्नुभएको छ ।
आफूलाई सामाजिक अभियन्ता भन्ने दुर्गा प्रसाईँले कम्बोडियामा रहेको टेलिकम एक्जियाटा कम्पनीमा प्रधानमन्त्री केपी शर्मा ओलीको २१ करोड अमेरिकी डलर लगानी रहेको भन्दै विभिन्न कागजात राखेर भिडियो सार्वजनिक गर्नुभएको थियो । प्रसाईंले सो भिडियो सामाजिक सञ्जालमा राखेपछि महासचिव पोखरेलले यो राष्ट्र र जनताविरुद्धको षडयन्त्र भएको उल्लेख गर्नुभएको छ ।
‘प्रसाईले म मर्न तयार छु तर यस्ता तस्करसँग झुक्न तयार छैन’ भन्दै सामाजिक सञ्जालमा भिडियो राख्नुभएको छ । यो सुरुवात मात्र भएको भन्दै यस्ता प्रमाणहरू अन्य दलका नेताका पनि आइरहने धम्की पनि प्रसाईँले दिनुभएको छ ।गोरखापत्र अनलाइन