२०८१ मंसिर २८ शुक्रबार

विश्वको प्रदूषित सहरको छैटौं नम्बरमा काठमाडौं

पहिलो प्रदूषित सहर बन्यो पाकिस्तानको लाहोर

न्युज अफ नेपाल

काठमाडौं ।

मुलुकभर चिसो बढेसँगै वायु प्रदूषणको मात्रा पनि बढ्दै गएको छ । अहिले काठमाडौं विश्वको प्रदूषित सहरको छैटौंैं नम्बरमा परेको छ । दुई विशाल छिमेकी मुलुक भारत र चीनमा उत्पादन भएको प्रदूषण हावाको माध्यममार्फत् नेपाल प्रवेश गर्ने गरेकाले पनि वातावरण प्रदूषित हुँदै गएको वातावरण विज्ञहरू बताउँछन् ।

नेपालमा अहिले पश्चिमी वायु सक्रिय रहेको र नेपालभन्दा पश्चिममा रहेका पाकिस्तान तथा भारतमा फैलिएको प्रदूषणलाई हावाले उडाएर नेपाल ल्याएकाले पनि प्रदूषण बढ्नुको प्रमुख कारण रहेको वरिष्ठ वातावरणविद् भूषण तुलाधरले नेपाल समाचारपत्रलाई जानकारी दिनुभयो ।

विश्वको प्रदूषित सहरमा पाकिस्तानको लाहोर सहर रहेको छ । सिंगापुरको वायुको शुद्धता मापन गर्ने वेभसाइटका अनुसार त्यहाँको वायु शुद्धता सूचकांक (एक्युआई) १११७ रहेको छ । जुन अत्यत्नै हानिकारक हो । लाहोरमा प्रदूषणको मात्रा अत्यधिक बढेपछि त्यहाँको सरकारले अत्यावश्यक सेवाबाहेक अन्य काममा नलाग्न जनतालाई आग्रह नै गरेको थियो ।

पाकिस्तानपछि प्रदूषित सहरको सूचीमा भारतको नयाँदिल्ली, कोलकोत्तालगायतका सहरहरू परेका छन् । नेपालमा पश्चिमी वायुका साथै वर्षा सकिएपछि चिसो बढ््ने र चिसो बढेसँगै प्रदूषणका कणहरू हावामा नै जम्मा भएर बसिरहने भएकाले पनि वायु प्रदूषणको मात्रा बढ्ने वातावरण विज्ञ तुलाधरले जानकारी दिनुभयो ।

वायु प्रदूषण प्राकृतिक र मानव सिर्जित दुवै कारणबाट बढ्ने भएकाले यसका लागि सजकता अपनाउनुको विकल्प नभएको पनि उहाँले बताउनुभयो । हिउँदे याम शुरू भएपछि नेपालमा बालीनाली भित्र्याउने र पातपतिंगरलगायत जम्मा भएर बसेको फोहोर मैला जलाउने र त्यसबाट निस्कने प्रदूषण पनि नेपालका लागि हानिकारक हुने गरेको छ ।

अहिले काठमाडौंमा प्रदूषणको मात्रा बढेर १ सय ५० एक्युआई पुगेको छ । यो मानव स्वास्थ्यका लागि हानिकारक मानिएको छ । नेपालमा हिउँदे याम शुरू भएपछि इँटाभट्टाहरू सञ्चालन गर्ने जंगलतिर पनि आगलागी हुनेजस्ता घटनामा वृद्धि हँुदै गएपछि नेपालका प्रमुख सहरहरूमा वातावण प्रदूषण बढ्दै गएको छ । निर्माणाधीन सडकबाट निस्कने धुलो र त्यसका कणहरू देशैभर फैलिएका कारण नेपालमा वायु प्रदूषण बढेको निष्कर्षमा वातावरणविद्हरू पुगेका छन् ।

मौसम पूर्वानुमान महाशाखाका अनुसार काठमाडौं उपत्यकालगायत देशभर अहिले वर्षा हुने सम्भावना नरहेकाले वायु प्रदूषणको तह घट्ने छाँट देखिँदैन । अहिले वायु प्रदूषणको मारमा एसियाली मुलुकहरू परेका छन् । यी मुलुकमा ठूलाठूला उद्योग कलकारखाना रहेका र त्यसबाट निस्कने प्रदूषलाई व्यवस्थित गर्न नसक्दा यो समस्या आएको वातावरणविज्ञहरूले बताउँदै आएका छन् ।

२०८१ कार्तिक ३०, शुक्रबार प्रकाशित 0 Minutes 26 Views

ताजा समाचार