२०८१ मंसिर २६ बुधबार

झाडीको पत्रमुनि पतरे पुल

वसन्त पराजुली

नारायणगढ, कात्तिक २७ गते । चीन र भारतलाई स्थलमार्गबाट जोड्ने सडकमा रूपमा हेरिएको भरतपुर–ठोरी हुलाकीमार्गमा पर्ने ‘पतरे’ खोलामाथिको पुल निर्माणको काम अलपत्र बनेको छ ।

सात वर्षअघि सम्झौता भई पटक पटक म्याद थप गर्दा पनि पुल निर्माणको काम अघि बढ्न नसक्दा आयोजना नै अलपत्र परेको हो । भरतपुर–माडी– ठोरी हुलाकीमार्ग आयोजना कार्यालय वीरगन्जका निमित्त प्रमुख सञ्जयकुमार ठाकुरले पुलको ‘बेस लेबल’ को काम गरेर पनि निर्माण कार्य रोकिएको बताउनुभयो।

“पुल निर्माणका लागि राखिएका रड खिया लागेर काम नै नलाग्ने अवस्थामा पुगेका छन् । अनि बनेका संरचना पनि खर, खडाईलगायतका झाडीले छोपेर देख्नै नसक्ने अवस्थामा पुगेको छ,” उहाँले भन्नुभयो, “एकातिर पुल निर्माणको काम रोकिएको छ । अर्कातर्फ खोला पार गर्न नसकेर सधैँ यात्रुले सास्ती भोग्नुपरेको छ ।”

उहाँले पुल निर्माण परियोजनाका लागि पैसा भए पनि ठेकदारले काम नगर्दा योजना अलपत्र बताउनुभयो । भरतपुर माडी ठोरी हुलाकी सडक निर्माण तथा स्तर उन्नतिको काम भइरहेका बेला यो पुल पनि निर्माण गर्न लागिएको हो । पुल निर्माणका लागि कार्यालयले लोहोनी एन्ड ब्रदर्स कन्स्ट्रक्सनसँग २०७४ साउन ११ गते पहिलो पटक सम्झौता गरेको थियो । अहिलेसम्म तीन पटक म्याद थप हुँदा पनि निर्माण कार्य अगाडि बढ्न सकेको छैन । पुल निर्माणका लागि तीन करोड ८४ लाख २५ हजार ४६१ रुपियाँ सम्झौता अनुसारको रकम विनियोजित भई थन्किएको छ ।

माडी नगरपालिकाको वडा नम्बर ७ मा पर्ने यो पुल निर्माण कार्य रोकिन नहुने माडी नगरपालिकाकी प्रमुख ताराकाजी महतोले बताउनुभयो । वर्षाको समय र झरी परेका बेला यो चुरेबाट आउने ठाडो खोला भएकाले धेरै सर्वसाधारणले यात्राका क्रममा दुःख पाउनुपरेको उहाँको भनाइ छ । “भारतसँग सीमा जोडिएको सडकको स्तर वृद्धि हुँदै गर्दा यो पुल निर्माण हुन सकेन भने यसले सबै कार्य सम्पन्न भएका कामलाई पनि ओझेलमा पार्छ,” उहाँले भन्नुभयो । सडकभरि नै एउटा मात्रै पुल नहुँदा पनि त्यसले यातायात सञ्चालनमा अफ्ठ्यारो पार्ने उहाँको भनाइ छ । “अहिले पनि खोलामा हेलिएरै पार हुनुपर्ने बाध्यता छ । यसले त जोखिम बढाएको छ,” उहाँले भन्नुभयो । सडककै स्तर वृद्धि भइरहेको भरतपुर–माडी– ठोरी हुलाकी सडकमा अहिले ठुलासाना ११ वटा पुल निर्माण भइरहेका छन् । निर्माण भइरहेका पुलमध्ये आठ वटा पुलको निर्माण प्रायः सकिएको छ भने दुई वटा पुल निर्माणकै व्रmममा छन् । निर्माण भइरहेका पुलका लागि ६६ करोड रुपियाँभन्दा बढी बजेट विनियोजित पनि छ तर पतरे पुल भने निर्माण

व्यवसायीको लापर्बाहीले निर्माण कार्य अघि बढ्न नसकेको गुनासो सर्वसाधारणको छ ।

माडीका समाजसेवी श्रीप्रसाद दवाडी माडीमा तीव्र रूपमा भइरहेको विकासमा जीर्ण अवस्थामा रहेको पतरे खोलामाथिको पुल निर्माणको कामले जिस्क्याइरहेको बताउनुहुन्छ । “माडीका पुलहरू निर्माण हुनु भनेको माडीको विकासले फड्को मार्नु हो । सडकको स्तर वृद्धि हुँदै छ । पुलहरू धमाधम बन्दै छन् तर एउटा पुल नबन्नु भनेको दाँतमा मासु अड्कनु जस्तै हो,” उहाँले भन्नुभयो ।

भौतिक योजना तथा पूर्वाधार मन्त्रालयका सचिव केशव शर्मा भने समयमा निर्माण सम्पन्न नगरी लापर्बाही गर्ने निर्माण व्यवसायीको ठेक्का रद्द गर्ने अधिकार आयोजनासँग भएको बताउनुहुन्छ । “निर्माण कम्पनीलाई सम्झाउने, बुझाउने हो । यदि पटक पटक म्याद थप्दा पनि काम हँुदैन भने त्यसको ठेक्का रद्द गर्ने अधिकार सम्बन्धित आयोजनालाई हुने छ,” उहाँले भन्नुभयो ।

आयोजनाका निमित्त प्रमुख सञ्जयकुमार ठाकुर पनि पतरे खोलामाथिको पुल निर्माणमा निर्माण व्यवसायीले काम नगरेका कारण आफूहरूले ठेक्का रद्द गर्न प्रक्रिया अगाडि बढाएको बताउनुभयो । “२०८० असार मसान्तमा सकिएको म्याद अहिले थप भएको अवस्था पनि छैन । अब यो रद्द गर्ने नै हो,” उहाँले भन्नुभयो ।

पुल निर्माण कम्पनी लोहोनी ब्रदर्सका इन्जिनियर अनिल लोहोनी भने आफूहरूका कारणभन्दा पनि आयोजनाकै कारणले पुल निर्माणमा ढिलाइ भइरहेको दाबी गर्नुहुन्छ । “हामीलाई दिइएको पुल निर्माणको स्टिमेट योजना भौगोलिक अवस्थासँग नमिल्ने देखियो । त्यो ठाउँमा आउने पानीको बहावभन्दा तल पुल रहने भएपछि स्टिमेट परिवर्तन गर्ने सहमतिमा रोकिएको हो । अब नयाँ ढङ्गबाट अगाडि बढ्ने हो भने हामी योजना अगाडि बढाउन तयार नै छौँ,” उहाँले भन्नुभयो ।

हुलाकी सडक आयोजना निर्देशक कुवेरसिंह नेपाली पनि सम्झौता रद्द गर्ने प्रक्रियागत झन्झटिलो अवस्था हुने भएकाले सकेसम्म पुरानै ठेकेदारलाई काम गर्न दिनुपर्ने बताउनुहुन्छ । “काम नै नगरे त हाम्रो अन्तिम कुरा रद्द नै गर्ने हो । यदि ऊ काम गर्न तयार छ भने हामी केही महिना उसलाई सहज बनाउन सक्छौँ,” उहाँले भन्नुभयो ।

भरतपुर–माडी– ठोरी हुलाकी सडक चितवनको विकाससँग जोडिएको सडक हो । कुनै बेला नेपालकै मध्यपहाडी क्षेत्र तनहुँ, लम्जुङ, गोरखा, कास्कीलगायतका बासिन्दा नुन बोकेर हिँड्ने यो सडक अहिले भारत र चीनसँग सम्बन्ध राख्ने छोटो सडकका रूपमा पनि चिनिन्छ । यो सडक जति सक्दो छिटो निर्माण कार्य सक्नुपर्ने स्थानीयको माग छ ।गोरखापत्र दैनिकमा खबर छ ।

 

२०८१ कार्तिक २७, मंगलवार प्रकाशित 1 Minute 13 Views

ताजा समाचार