काठमाडौँ, कात्तिक २५ गते । राष्ट्रपति रामचन्द्र पौडेलले किरात धर्मावलम्बीका महागुरु फाल्गुनन्द लिङ्देनले देखाउनुभएको बाटोमा हिँड्न सकेमा मुलुकको राष्ट्रिय एकतालाई थप सुदृढ एवं सबल बनाउन सकिने विश्वास व्यक्त गर्नुभएको छ ।
उहाँले फाल्गुनन्द जयन्तीले धार्मिक, सामाजिक तथा सांस्कृतिक विविधताबिच सहिष्णुता र सद्भाव कायम गर्दै सबैमा सहिष्णुता, सद्भाव एवं समाज सुधारको महान् अभियानमा लाग्ने प्रेरणा मिलोस् भन्ने कामनासमेत गर्नुभएको छ ।
राष्ट्रपति पौडेलले किरात धर्मावलम्बीका महागुरु फाल्गुनन्द लिङ्देनको १४० औँ जयन्तीका अवसरमा त्यस्तो कामना गर्नुभएको हो । फाल्गुनन्दले अपनाउनुभएको दर्शन, प्रेम र अहिंसामा आधारित प्रेरणादायी मार्गदर्शनले समाजलाई सही बाटो मिल्ने विश्वाससमेत व्यक्त गर्नुभएको छ ।
उहाँले शुभकामना सन्देशमा उल्लेख गर्नुभएको छ, “सामाजिक चेतना फैलाउने महागुरु फाल्गुनन्द धार्मिक गुरु मात्र नभई, सामाजिक अभियन्ताका रूपमा उहाँले समाज सुधारक भई कार्यसमेत गर्नुभएको थियो । सामाजिक रुढीवादी अन्त्य गर्दै समाजलाई सही बाटो देखाउँदै आर्थिक अनुशासन कायम गर्न उहाँले दिनुभएको मार्गनिर्देश अनुसरणयोग्य रहेको छ ।”
त्यसै गरी उपराष्ट्रपति रामसहायप्रसाद यादवले फाल्गुनन्द जयन्तीको शुभकामना दिँदै यस जयन्तीले राष्ट्रिय एकता, पहिचान र सामाजिक चेतना बढाउन सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभएको छ ।
उहाँले यस जयन्तीलाई किरात समुदायको गौरवशाली इतिहास र परम्परालाई जगेर्ना गर्ने अवसरका रूपमा लिन सक्नुपर्ने बताउनुभएको छ । उहाँले सन्देशमा भन्नुभएको छ, “फाल्गुनन्दले तयार पार्नुभएको ‘सत्यधर्म मुचुल्का’ आज पनि उत्तिकै सान्दर्भिक छन् । त्यसमा छोरीको विवाह गर्दा सोत–रित (पैसा लिन नहुने), भगवान्को पूजा गर्दा जीव हत्या गर्न नहुने, मद्यपान तथा मासु सेवन नगर्ने, मृत्यु संस्कार तीन दिनमा सम्पन्न गर्नेजस्ता समाज सुधारका महत्वपूर्ण सामाजिक एवं सांस्कृतिक पक्ष समेटिएका छन्, जुन सबै धर्म, सम्प्रदाय, जाति, समुदाय र समाजका लागि उत्तिकै अनुकरणीय छन् ।”
किरात धर्म र संस्कृतिको मौलिक पहिचान र संरक्षणमा महत्वपूर्ण योगदान पु¥याउनुभएका राष्ट्रिय विभूति फाल्गुनन्द लिङ्देनले समाज सुधारका लागि खेलेको अहम् भूमिकाको कदर गर्दै पाँचथर, ताप्लेजुङ, तेह्रथुम, इलाम र झापालगायत नेपालका पूर्वी जिल्लामा विभिन्न कार्यक्रम आयोजना गरी उहाँको जन्मजयन्ती मनाउने गरिन्छ ।
गोरखापत्र अनलाइन