२०८१ कार्तिक २० मंगलवार

पूर्वीनाका काँकरभिट्टाबाट पर्यटक आगमन बढ्यो

झापा । पूर्वीनाका काँकरभिट्टाबाट पर्यटकको आगमन बढेको छ । विगत दुई महिनामा यहाँबाट आठ सय ९० जना तेस्रो मुलुकका नागरिक नेपाल प्रवेश गरेको अध्यागमन कार्यालय काँकरभिट्टाले जनाएको छ ।

कोरोना महामारीपछि चार वर्षसम्म अवरुद्ध रहेको पर्यटक आवागमन दुई महिनाअघि मात्र खुल्ला भएको थियो । सन् २०२४ को सेप्टेम्बर महिनामा यस नाका भएर दुई सय ८७ जना तेस्रो मुलुकका नागरिक नेपाल प्रवेश गरेको अध्यागमन कार्यालय काँकरभिट्टाका प्रमुख तुलसी भट्टराईले बताए ।

अक्टुबर महिनामा तेस्रो मुलुकका नागरिकको आगमन बढेर ६ सय तीन पुगेको उहाँले जानकारी दिए । आगामी दिनमा आगमन अझ बढ्ने सम्भावना छ । भारत सरकारले कोरोना महामारी सुरु भएदेखि काँकरभिट्टासँग जोडिएको भारतीय नाका पानीटंकीबाट तेस्रो मुलुकका नागरिकलाई आउजाउ गर्न निषेध गर्दै आएको थियो । नेपालको निरन्तर दबाबपछि यही अगस्तदेखि तेस्रो मुलुकका नागरिकको आवतजावतका लागि भारतले नाका खुला गरेको हो ।

भारतको पानीटंकी नाका हुँदै काँकरभिट्टाबाट नेपाल प्रवेश गर्ने तेस्रो मुलुकका नागरिकमा भूटानीको सङ्ख्या अधिक रहेको छ । विगतमा बङ्गलादेशी नागरिकको लर्को लाग्ने गरेकामा हाल बङ्गलादेशी नागरिकको आगमन नगण्य छ ।

अध्यागमन अधिकृत भट्टराईका अनुसार सेप्टेम्बर महिनामा नेपाल प्रवेश गरेका दुई सय ८७ जना तेस्रो मुलुकका नागरिकमा भूटानीको सङ्ख्या एक सय ६८ र अमेरिकी ५४ र अस्ट्रेलियन चारजना रहेका छन् ।

यसैगरी, अक्टुबरमा तेस्रो मुलुकबाट नेपाल आएकाको कुल सङ्ख्या ६ सय तीन रहेकामा भूटानी तीन सय ४६, अमेरिकी एक सय ३० र अस्ट्रेलियन २३ जना रहेको भट्टराईले बताए ।

‘काँकडभिट्टा नाका भएर आउने तेस्रो मुलुकका नागरिकमध्ये आधाजसो भूटानी नागरिक छन्,’ अध्यागमन अधिकृत भट्टराईले भने, ‘धेरैजसो भूटानी नागरिक धार्मिक तीर्थाटन र थोरैजसो भेटघाटका लागि आउनु हुँदोरहेछ ।’

घुमफिरका लागि आउने भूटानी नागरिकहरुले लुम्बिनी, फर्पिङ र हलेसी जाने बताउने गरेका छन् । भूटानीसहित सार्क मुलुकका नागरिकका लागि काँकडभिट्टा नाकामै ‘अनअराइभल भिसा’ जारी हुने व्यवस्था छभने एक वर्षमा एक खेपमा ३० दिन अवधिसम्मको भिसा निःशुल्क हुने गरेको छ ।

‘सार्क मुलुकका नागरिकका लागि एक भिसा वर्षमा ३० दिनसम्म निःशुल्क भिसा प्रदान गरिने व्यवस्था छ,’ भट्टराईले भने, ‘यो निःशुल्क सुविधाको भूटानी नागरिकले लाभ लिएको देखिन्छ । तीस दिनभन्दा बढी अवधिका लागि भिसा दिनु परेमा प्रत्येक दिनको तीन अमेरिकी डलरका दरले भिसा शुल्क लिने गरिएको छ ।’

गैरआवासीय नेपाली नागरिक र शरणार्थीका रुपमा तेस्रो मुलुकमा पुनस्र्थापना भएका भूटानी नागरिकले नेपाल आउनका लागि काँकरभिट्टा नाका प्रयोग गर्न रुचाउने गरेको पाइन्छ । रासस

२०८१ कार्तिक १२, सोमबार प्रकाशित 1 Minute 93 Views

ताजा समाचार