२०८० फाल्गुन १५ मंगलवार

चार शहीदको प्रेम वियोगान्त

‘दशरथ चन्द र गंगालाल श्रेष्ठलाई राति १० बजेतिर लरीमा हालेर प्याफलको बाटोबाट शोभा भगवती लगिएको थियो । गंगालालको घर बाटैमा पर्थ्यो । लरीबाट गंगालालले आफ्नी श्रीमतीलाई हसिना ! हसिना ! भन्न भ्याए ।’ चन्द र श्रेष्ठलाई गोली हान्ने नरशमशेरले आफ्नो आत्मकथामा लेखेका छन् ।

माघ १९९७ मा सहादत प्राप्त गर्नेमध्ये सबैभन्दा कान्छा (२२ वर्षका) थिए श्रेष्ठ । उनीसँगै पक्राउ परेका गोविन्दप्रसाद उपाध्यायले गंगालालका लागि हसिना कति प्यारी थिइन् भनेर वर्णन गर्दै लेखेका छन्- हसिना उनको जीवनको अति प्यारो शब्द थियो । त्यो शब्दभित्र उनकी प्यारी हसिना थिइन् । हसिना उनको दिलको प्रेम र ममताकी मूर्ति थिइन् । १५ माघ (१९९७) मा गंगालाल मारिनुभन्दा दुई दिन अगाडि माघ १३ गते हसिना सुत्केरी भएकी थिइन् । आफू बुवा भएको खबर सुनेका गंगालालले छोराको नाम ‘शशि’ राख्नु भनेर जेलबाट सन्देश पठाएका थिए ।

६ माघमा मृत्युदण्डको सजाय सुनाउँदा गंगालाललाई ‘माफी माग्ने भए आजन्म कारावास’ हुने भनिएको थियो । तर, उनले कसैले बकसमा दिएको जीवन बाँच्दिनँ भन्दै मृत्युदण्ड रोजे । श्रेष्ठकी आमा र हसिनाले भने राणाहरूसँग माफी मागेर गंगालाललाई मृत्युदण्ड नदिन अनुनय गरेका थिए । तर, मातृभूमि हसिनाभन्दा पनि बढी प्रिय भइदियो उनको दिल-दिमागमा । नेपालको प्रजातन्त्रका निम्ति आफ्ना आफन्त र हसिना समेतलाई त्यागेर शोभा भगवती जगद्जननीका सामुको बलिदेवीमा आफ्नो प्राण उत्सर्ग गर्न जाँदैथिए, उपाध्यायले लेखेका छन् ।

राणा शासनविरुद्ध संगठित भएर लागेको आरोपमा मारिने गंगालाल श्रेष्ठ, धर्मभक्त माथेमा, शुक्रराज शास्त्री र दशरथ चन्द सबैले प्रेममा वियोग भोगे । गंगालालबाहेक तीन जनाका प्रियसीहरूले प्रेम वियोग भोग्नुपरेन, किनभने उनीहरू १५ माघ १९९७ भन्दा अगाडि नै बितिसकेका थिए । कलकत्ता-नेपाल (काठमाडौं) आउजाउ गरिरहेका धर्मभक्त माथेमा सबभन्दा पहिला पक्राउ पर्ने नेपाल प्रजापरिषदका सदस्य थिए । चन्द्रशमशेरकै पालामा कलकत्ता भन्सारमा जागिर पाएको माथेमा परिवार उतै थियो । धर्मभक्त काठमाडौंमा आउँदा फुपूको घरमा बस्थे । २ कात्तिक १९९७ को बिहान फुपूकै घरमा पक्राउ परे उनी ।

जुद्धशमशेर राणा प्रधानमन्त्री भएपछि भन्सार उठाउने माथेमा परिवारको जागिर खोसिएपछि तत्कालीन कमाण्डर इन चिफ रुद्रशमशेर (वीरशमशेरका छोरा)ले ‘आफ्नो मान्छे’ भनेर चारबुर्जा दरबार (हाल निर्वाचन आयोग रहेको भवन)मा खरिदारको जागिर दिएका थिए । श्री ३ महाराज बन्नासाथ जुद्धशमशेरले रुद्रलाई पाल्पा धपाएपछि धर्मभक्त श्री ५ त्रिभुवनको व्यायाम शिक्षक बने । उनी क्षयरोगग्रस्त श्रीमतीको हेरचाह र उपचारका लागि बारम्बार कलकत्ता गइरहन्थे । त्यो क्रममा उनी भीमफेदीमा रहेको टंकप्रसाद आचार्यका बुबाको होटलमा बस्थे । इतिहासकार डा. राजेश गौतमले आचार्यलाई उद्धृत गर्दै लेखेका छन्- १९९२ को शुरूतिर मेरो र धर्मभक्त माथेमाको भेटघाट भीमफेदीमा भयो । भोलिपल्ट बिहान म पनि उनीसँगै घोडा चढेर गढीसम्म आएँ । त्यही यात्रामा टंकप्रसाद आचार्यले धर्मभक्त माथेमालाई राणाशासन विरोधी संगठन बनाउने योजनामा सामेल गराएका थिए ।

१९९४ माघमा धर्मभक्तकी श्रीमतीको मृत्यु भयो । त्यसबेला छोरी रेणु माथेमा साढे दुई वर्षकी थिइन् । इतिहासकार गौतमका अनुसार श्रीमतीको मृत्युपछि ‘होलटाइमर’ भएर राणा विरोधी अभियानमा लाग्न धर्मभक्तले साढे दुई वर्षकी छोरीलाई कलकत्तामै छाडेर आए ।

जुद्धशमशेरको आदेशमा १३ माघको राति उनलाई सिफलमा झुन्ड्याइयो । सद्गत गर्नलाई काठमाडौंमा उनको परिवार थिएन । कलकत्तामा पनि राणा सरकारको आग्रहमा अंग्रेज सरकारले उनको परिवारलाई थुनामा राखेको थियो ।

धर्मभक्तकी फुपूकी छोरी सूर्यलक्ष्मीलाई उद्धृत गर्दै इतिहासकार डा. गौतम लेख्छन्- नातेदारहरू पनि उनको लाश छुन तयार भएनन् । हामीहरू घरमा आइमाई मात्र थियौं । हाम्रो घरमा भात पकाउने र धर्मभक्त माथेमाको सेवा गर्ने गरेका लमजुङका एक जना शिवचन्द्र घिमिरे थिए । घिमिरे बाजे नै उनको अन्तिम कार्य गर्न तयार भए । घिमिरेले केही साथी बटुलेर अन्तिम संस्कार गरे ।

ज्वाईं-जेठान शहीद

फरक राजनीतिक संगठन भएका धर्मभक्त माथेमा र शुक्रराज शास्त्रीबीच ज्वाईं-जेठानको नाता थियो । नेपाल प्रजापरिषद् गठन भएको एक वर्षपछि ६ मंसिर १९९४ मा धर्मभक्तकी बहिनी मेनकादेवीसँग शास्त्रीको विवाह भएको थियो । शास्त्रीले त्यही वर्ष गंगालाल श्रेष्ठ, केदारमान व्यथित आदिलाई मिलाएर ‘नेपाल नागरिक अधिकार समिति’ बनाएका थिए ।

नेपाली भाषा प्रकाशिनी समितिमा जागिर खाइरहेका शास्त्री राजनीतिक अधिकार समिति बनाएपछि अंग्रेज विरोधी अभियान चलाइरहेका महात्मा गान्धी र सुभाषचन्द्र बोसलाई भेट्न भारत गए । उनले गान्धी र बोसलाई भेटेको कुरा त्यहाँका पत्रपत्रिकाले महत्वका साथ छापे । नेपाल फर्किएपछि जागिर खोसेर शास्त्रीलाई नजरबन्दमा राखियो ।

लामो समय नजरबन्दमा परेका शास्त्रीले ‘आफू भोकले मर्न लागेको र आफूमाथि न्यूनतम मानवीय व्यवहार गर्नुपर्ने भन्दै निवेदन दिएको’ भारतको जनता पत्रिकाले छापेको छ ।

माग सुनुवाइ नभएपछि शास्त्रीले असनमा आमसभा गरेर राणा सरकारको विरोध गरे । त्यो कार्यक्रममा केदारमान व्यथितले हातमा पानको बिडा लिएर भने, ‘यहाँ उपस्थित भएकाहरूमा कोही आमाको सपुत छोरा छ भने यहाँ आई यो पान खाई भाषण गरोस् !’ भन्दै चुनौती दिए ।

आमाको मृत्युमा बरखी बारिरहेका गंगालाल श्रेष्ठले चुनौती स्वीकार्दै व्यथितको हातबाट पान लिए र राणा शासनविरुद्ध कडा भाषण गरे । यो घटनापछि पक्राउ परेका शास्त्रीलाई तीन वर्ष कैद सजाय सुनाइयो । कैद सजाय पूरा भइसके पनि उनलाई रिहा नगरी फाँसीमा चढाइयो ।

शास्त्रीलाई जेल सजाय हुँदा मेनकादेवी गर्भवती थिइन् । इतिहासकार डा. राजेश गौतमका अनुसार शास्त्री जेल परेको केही दिनमा नै मेनकादेवीले छोरी पाइन्, तर सात दिनमै छोरीको मृत्यु भयो । त्यसको करिब एक महिनामा मेनकादेवीको पनि मृत्यु भयो । गौतम लेख्छन्- मेनकादेवीले मृत्यु अगाडि पतिसँग भेट्ने अन्तिम इच्छा व्यक्त गरेकी थिइन् । यस विषयमा राणा सरकारसँग अनुरोध समेत गरिएको थियो, तर अनुमति दिइएन ।

प्रेमिकाको जुठो बार्ने दशरथ चन्द

२ कात्तिक बिहान ८ बजेतिर पकनाजोलको मावली घरबाट पक्राउ परे दशरथ चन्द । पक्राउ पर्दा उनले लगाएको पहिरनको वर्णन गर्दै इतिहासकार डा. गौतम ‘अमर शहीद दशरथ चन्द र नेपालको प्रजातान्त्रिक आन्दोलन’ पुस्तकमा लेख्छन्- कृष्णबहादुर थापा (पक्राउ गर्न गएका मान्छे) घर घेरेर बसिरहे । केही समयपछि दशरथ चन्द डम्बरकुमारी खास्टो ओढेर निस्किए ।

दशरथ चन्द र जुलिया दूरबीनबाट एकअर्कालाई हेरेर रमाउँथे । चन्द जुलियाको प्रेममा कतिसम्म समर्पित थिए भने जुद्धका छोरा बहादुरशमशेरले आफ्नी छोरी दिने प्रस्ताव गर्दा उनले इन्कार गरे ।

पक्राउ पर्दा ओढेर आएको त्यो खास्टो उनले प्रेमिकाबाट पाएको अन्तिम निशानी थियो । १५ माघ १९९७ मा गंगालाल श्रेष्ठसँगै मारिंदा पनि उनले त्यही खास्टो ओढेको चन्दसँगै पक्राउ परेका चन्द्रमान सैंजुको भनाइ उद्धृत गर्दै गौतमले लेखेका छन् ।

चन्द बैतडीबाट १९८८ तिर काठमाडौं पसेका थिए । त्यो बेला राणाहरूले झर्रा ठकुरीलाई दरबारमा राखेर छोरी दिने चलन थियो । त्यही चलनअनुसार कमाण्डर इन चिफ रुद्रशमशेरले चन्दलाई आफ्नो चारबुर्जा दरबारमा राखेका थिए ।

रुद्रशमशेरको दरबारमा उनले प्रेमिका पनि भेट्टाए, रुद्रकै छोरी जुलिया । त्यहीं उनले धर्मभक्त माथेमालाई पनि भेटे । दरबारभित्र दशरथ चन्दलाई प्रेमपत्र पठाउँथे ।

रुद्रशमशेरका नाति, जुलियाका भदा पुरुषोत्तमशमशेर जबराको किताब ‘श्री ३ हरूको तथ्य वृत्तान्तमा’उल्लेख भएअनुसार चन्दले सानो महारानी (रुद्रशमशेरकी नातिनी, पुरुषोत्तमशमशेरकी बहिनी) मार्फत दुईवटा प्रेम पत्र जुलियालाई पठाएका थिए रे !

चन्द र जुलिया दूरबीनबाट एकअर्कालाई हेरेर रमाउँथे । सुरतबहादुर शाहको ‘सुदूरपश्चिममा उदाएका अमर नक्षत्र’ किताबका अनुसार, जुलिया चारबुर्जा दरबारको आफ्नो खोपीबाट दूरबीनबाट दशरथ चन्दलाई नियाल्थिन् । सो कुरा आफ्ना मावलीतर्फका नातेदार गल्कोटे राजा भरत बमलाई बताएपछि चन्दले पनि एउटा दूरबीन पाए । त्यसरी दुवै जना दूरबीनबाट एकअर्कालाई हेर्दै अनेक इशाराबाट प्रेम प्रकट गर्न थाले ।

दशरथ चन्द र जुलिया राणाको विवाह पनि गराउन खोजिएको थियो, तर दुई पटक मिति तोकेर पनि जुठो परेका कारण त्यसो हुन नसकेको देवीप्रसाद ओझाको किताब ‘अमर शहीद दशरथ चन्द’मा उल्लेख छ ।

५ चैत १९९० मा जुद्धशमशेरले रुद्रशमशेरको सम्पूर्ण सम्पत्ति हरण गर्दै काठमाडौंबाट पाल्पा धपाए । बुवासँगै जुलिया पाल्पा गएपछि चन्दसँग विछोड भयो ।

इतिहासकार डा. गौतमका अनुसार, चन्द जुलियाको प्रेममा कतिसम्म समर्पित थिए भने जुद्धका छोरा बहादुरशमशेरले आफ्नी छोरी दिने प्रस्ताव गर्दा उनले इन्कार गरे । उनी लेख्छन्- बहादुरशमशेरले उनलाई दरबारमा राखी आफ्नी छोरी दिने विचारले बोलाएका थिए । तर, रुद्र शमशेरकहाँ बस्दा उनकी छोरी जुलियासँग प्रेम बसिसकेकाले उनी बहादुरशमशेरकहाँ गएनन् ।

रुद्रको परिवार पाल्पा धपिएपछि पनि चन्द र जुलियाबीच पत्र-संवाद भइरहन्थ्यो । १९९५ या ९६ सालमा जुलियाले आफ्नो प्रेमको निशानी स्वरुप डम्बरकुमारीलाई खास्टो पठाइन् । त्यसको केही दिनमै क्षयरोगका कारण जुलियाको मृत्यु भयो । त्यो खबर पाएपछि चन्दले १३ दिनसम्मै जुठो बारेर बसे ।

डा. गौतमका अनुसार, रुद्रशमशेरको पाल्पा पलायन र चारबुर्जा दरबार जुद्धका छोरा बहादुरशमशेरको भएपछि दशरथ चन्द आफ्नो मामाघर (कान्छी आमाको माइतीघर) पकनाजोल बस्न थालेका थिए । उनले त्यहीं जुलियाको जुठो बारेका थिए । त्यसपछि कामको खोजीमा बारा पुगेका उनीसँग १९९१ पुसमा टंकप्रसाद आचार्यसँग भेट भयो । आचार्य पनि कामको खोजीमा बुबासँग बाराको बरैया पुगेका थिए ।

आचार्यलाई उद्धृत गर्दै डा. गौतमले लेखेका छन्- साँझको बेला एक छिनपछि सोलो हृयाट लगाएको हात्ती चढेको एक व्यक्ति आइरहेको देखा पर्‍यो । उक्त व्यक्ति हात्तीबाट ओर्लेपछि चिनाजानी भयो । उनी बैतडी निवासी दशरथ चन्द थिए । दशरथ र मेरो आँखा जुध्नासाथ मलाई किन हो अनौठो आत्मीयताको अनुभव भयो ।

यही भेटमा आचार्य र चन्दबीच राणाशासन विरुद्ध संगठित हुने योजना बन्यो । माल अड्डामा काम गर्ने आचार्यका बुबालाई राणाहरूले अनियमितताको आरोप लगाएर प्रताडित गरेका थिए ।

माथेमाको जस्तै चन्दका पनि काठमाडौंमा दाजुभाइ थिएनन् । ६ माघमा फाँसीको सजाय सुनाइएपछि उनले जेल सफा गर्न आउने राममाया च्यामिनीलाई ‘म मरेपछि तिमी रोइदिनू’ भनेका थिए । च्यामिनीसँग पनि कुराकानी गरेका गौतम लेख्छन्- मेरा साथीहरूलाई मारेपछि रुने उनीहरूका आफन्त थुप्रै छन् । तर, मेरा लागि रुने कोही छैनन् । त्यसैले म मरेपछि तिमी रोइदेऊ है राममाया भनेर चन्दले भनेका थिए ।

१५ माघ १९९७ को राति साढे १ बजेतिर दशरथ चन्दलाई र २ बजेतिर गंगालाललाई शोभा भगवतीमा गोली हानेर मारियो । चन्दको देहसँगै जुलियाको प्रेम निशानी डम्बरकुमारी खास्टो पनि गोलीले छियाछिया भएको थियो । अनलाइन खबरबाट

२०७९ माघ १६, सोमबार प्रकाशित 1 Minute 242 Views

ताजा समाचार