गत बिहीबारदेखि शनिबारसम्म परेको अविरल वर्षाका कारण १३ वटा पुल र २१ किलोमिटर सडक बगाएको छ । यसबाट राज्यलाई २५ अर्ब रुपैयाँबराबरको क्षति पुगेको छ ।
विभिन्न स्थानमा गएको पहिरो पन्छाइएपछि र अस्थायी बाटो बनाउन थालिएपछि बीपी लोकमार्गबाहेकमा यातायात सञ्चालनमा आएको छ । सडक विभागका अनुसार सोमबारसम्ममा पृथ्वी लोकमार्ग, काठमाडौं–हेटौंडा र हेटौंडा–धरान चतरा जोड्ने तीनवटा सडक सञ्चालनमा आएका छन् । त्रिभुवन राजपथअन्तर्गत हेटौंडा–भैंसे सडक र सिमभञ्ज्याङ–पालुङ–नौबिसे सडकमार्ग पनि सोमबार बिहानदेखि सुचारु भएको छ ।
सडक विभागका प्रवक्ता तथा उपमहानिर्देशक उमेशबिन्दु श्रेष्ठका अनुसार बीपी लोकमार्गका विभिन्न ठाउँमा पक्की सडक र पुल बगाएका कारण अस्थायी रूपमा सञ्चालनमा ल्याउन पनि कठिन भएकाले तत्काल खुल्न सक्ने सम्भावना कम भएको छ । सो सडकमा १ हजार ४ सय मिटर सडक नै भासिएको छ ।
पृथ्वी लोकमार्गमा पहिरो पन्छाउँदै गर्दा अलपत्र यात्रुलाई आपत्कालीन रूपमा सुरुङमार्ग हुँदै काठमाडौं ल्याइएको थियो । बीपी लोकमार्गमा भने केही हेलिकोप्टरबाट र अधिकांश हिँडेर गन्तव्यतर्फ लागेका थिए ।
यसैबीच, भौतिक पूर्वाधार तथा यातायातमन्त्री देवेन्द्र दाहालले पछिल्लोपटकको प्राकृतिक प्रकोपबाट भौतिक पूर्वाधार क्षेत्रमा साढे २५ अर्ब रुपैयाँभन्दा बढीको क्षति भएको जानकारी दिए ।
भौतिक तथा पूर्वाधार मन्त्रालयले हालसम्म संकलन गरेको विवरणनुसार सडक, बाटो, पुल, झोलुंगे पुल र अन्य भौतिक क्षेत्रमा गरी साढे २५ अर्बभन्दा बढीको क्षति भएको उनको भनाइ छ । राष्ट्रिय स्तरका सडक र पुलमा मात्रै २ अर्ब ६७ करोडको क्षति पुगेको र ४२ सडकखण्ड अझै अवरुद्ध रहेका बताइएको छ ।
राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले तयार गरेको प्रतिवेदनअनुसार २३ वटा प्रमुख मार्गहरू प्रत्यक्ष रूपमा अवरुद्ध भएका छन् ।
प्राधिकरणका उपसचिव डा. डिजन भट्टराईले कल्भर्ट १, बेली ब्रिज २, पक्की ढलान पुल ६, आर्क ब्रिज १, स्टिल ट्रस १, ट्रेल ब्रिज २ गरी कुल ६ सय १० मिटरका पुल बगाएको जानकारी दिए ।
प्रहरीका अनुसार बाढी पहिरोका कारण पाँचथर, सुनसरी र सिन्धुपाल्चोकमा गरी तीनवटा बेली ब्रिज बगाएको छ । त्यस्तै, पक्की पुल पाँचवटा, झोलुंगे पुल सातवटा र अन्य किसिमका पुल चारवटा गरी १९ वटा पुलमा क्षति भएको छ ।
सडक विभागका अनुसार देशभर ११ वटा पुल र सय किलोमिटरजति सडक बाढीले बगाएको छ । वर्षा तथा बाढी–पहिरोका कारण देशभर सडक तथा पुल गरेर ४० करोड रुपैयाँभन्दा बढीको क्षति भएको छ । विभागका सूचना अधिकारी सिनियर डिभिजनल इन्जिनियर अमितकुमार शर्माले हालसम्म एक कल्भर्ट, दुई बेली ब्रिज, चार आरसीसी सपोर्टेड ब्रिज, एउटा आर्क ब्रिज, एउटा स्टिल ट्रससहित ११ वटा पुल बगेको जानकारीमा आएको बताए ।
कोशी प्रदेशले भने २६ पक्की र झोलुंगे पुलमा क्षति पुगेको जनाएको छ । क्षतिको विवरण संकलन भइरहेकाले पूरा विवरण आइनसकेको प्रदेश सरकारले जनाएको छ । सडक विभागका अनुसार अरनिको, कान्ति, तथा बीपी लोकमार्गमा गम्भीर क्षति पुगेको छ ।पृथ्वी लोकमार्गलगायत देशभरि ४२ वटा लोकमार्गमा क्षति पुगेको छ । लोकमार्गमा १ हजार ५ सय ५० मिटर बाटोमा गम्भीर क्षति पुगेको छ । बीपी लोकमार्गको एक ठाउँमा ३ सय मिटरभन्दा लामो सडकमा क्षति पुगेको छ ।
राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले तयार गरेको प्रतिवेदनअनुसार ४२ ठाउँका लोकमार्ग र सडक अवरुद्ध छन् । आजको राजधानी दैनिकमा खबर छ ।