झापा । झापामा समुदायमा बसेर प्रजनन गर्ने चराहरुको बास र संख्या घट्दै गएको छ ।
खासगरी पूर्व-पश्चिम राजमार्ग आसपासका रुखहरुमा यसअघि प्रजनन गर्ने ठूलो बथानका चराहरु सडक स्तरोन्नित गर्ने क्रममा रुख काटिँदा समस्यामा परेका छन् । रैथाने चरा जलकबुवा र १४ प्रकारका बकुल्लाले खासगरी समुहमा बसेर असारदेखि भदौ अन्तिमसम्म प्रजनन गरी बच्चा हुर्काउने काम गर्दछन् ।
तर, बर्षेनी उनीहरुको बासस्थानमा अतिक्रमण हुन थालेपछि चराको प्रजननमा समस्या आएको छ । जसका कारण केही बर्षअघि ठूलो बथानमा आउने चरा घट्दै गएको चरा प्रजनन क्षेत्र दमक सडक डिभिजन कार्यालय परिसरमा लामो समयदेखि काम गर्दै आएका कर्मचारी चन्द्रप्रसाद ताजपुरियाले बताए । उनका अनुसार ठूला रुखहरु कटान भएकाले आयतीत चराको संख्या घट्दै गएको छ । यस्तै, पछिल्लो समय भइरहेको जलवायु परिवर्तनले पनि ठूलो समस्या पारेको उनले बताए ।
कतिपय अवस्थामा सिकारीले लुकीछिपी चरा मार्ने गरेकाले पनि एकान्त र सुरक्षित स्थल चराको रोजाइमा पर्ने गरेको छ । सडक डिभिजन कार्यालय दमक घेराबारामा रहेकाले धेरै चराहरूको प्रजनन क्षेत्र बन्न पुगेको छ । तथापी कहिलेकाँही चोरी सिकारी हुने हुँदा कर्मचारीले सुरक्षा दिने गरेको कार्यालयमा २६ बर्षदेखि काम गर्दै आएका रेवतीरमण कोइरालाले बताए ।
पूर्व-पश्चिम राजमार्गलाई एसियन मार्गमा स्तरोन्नित गर्दा झापा खण्डमा मात्र झण्डै ५ हजार रुखहरु कटान भएका छन् । रुख कटान गरेपछि चराको बाससँगै प्रजनन स्थान समेत नष्ट भएको छ । झण्डै ९ सय प्रजातिको चरा पाइने नेपालमा पछिल्लो समय जलबायु परिवर्तन र जंगल क्षेत्र घट्दै जाँदा चराको प्रजनन समयमा नै प्रभाव परेको लामो समयदेखि चरा सम्बन्धी अध्ययन अनुसन्धान गर्दै आएका मेची चरा तथा वन्यजन्तु संरक्षण समाजका अध्यक्ष देवेन्द्र खरेलले बताए ।
उनका अनुसार यसबर्ष पूर्व-पश्चिम राजमार्गका धेरै रुख कटान भएकाले विगतमा प्रजनन गर्ने चराहरु अन्यत्रै गएका छन् । मानवले उत्पादन गरेको ध्वनी प्रदुषण, चर्को लाइट र अन्य कारणले पनि चराहरुको प्रजनन प्रकृयामा समस्या भएको छ । केही चराहरु अति गर्मी हुन थालेपछि पहाडी क्षेत्रतिर सर्न थालेको उनले बताए ।
पूर्वको मेचीनगरदेखि झापा र मोरङको सिमानामा रहेको मावा खोलासम्म ५२ दशमलव ७ किलोमिटर क्षेत्रमा ४ हजार ७ सय बढी रुखहरु काटिएका छन् । रुख काटिएको क्षतिपूर्ति वन विकास कोषमा पूर्वी खण्डका लागि १ करोड ९० लाख रुपयाँ जम्मा समेत भएको छ । तर, पुनः रुख रोप्ने कार्य सडक विस्तारसँगै गरे पर्यावरणमा भएको क्षतिपूर्ति चाँडो हुने डिभिजन वन कार्यालय झापाका प्रमुख मेघराज राईले बताए ।
झापाको काँकरभिट्टा, धुलाबारी, चारआली, चन्द्रगढी, दमक लगायतका सरकारी कार्यालय परिसर र पूर्व-पश्चिम राजमार्ग आसपासका रुखहरु समूहमा प्रजनन गर्ने चराको मुख्य प्रजनन क्षेत्र हो । तर, पछिल्लो समय रुख कटान र सिमसार क्षेत्र संरक्षण हुन नसक्दा चरामा परेको प्रभावले पर्यावरणमा विस्तारै क्षति पुग्दै गएको चरा सम्बन्धीका विज्ञहरुको भनाई छ ।