२०८१ मंसिर २५ मंगलवार

पशुपतिनाथ मन्दिरको महास्नानघर पुनर्निर्माण गरिएको एक वर्षपछि पुनःभासियाे

पशुपतिनाथको महास्नानघर पुनर्निर्माण सम्पन्न भएको करिब एक वर्षपछि पुनःभासिएको छ।

२०७२ वैशाख १२ को भूकम्पले आंशिक क्षतिग्रस्त बनाएको महास्नानघर  २०७९ भदौ पहिलो साता जीर्णोद्धार सम्पन्न भएको थियो।

महास्नानघर भासिएपछि चालु आर्थिक वर्षमा पुनःनिर्माणका लागि बजेट व्यवस्थापन गरिएको कोषका कार्यकारी निर्देशक सुभाषचन्द्र जोशीले जानकारी दिए। महास्नानघरको भुँइतलाको भागमा प्रहरी बस्ने गरेको थियो। भवन भासिएपछि प्रहरीलाई त्यहाँबाट स्थानान्तरण गरिएको छ।

महास्नानघर निर्माणकालमा चौघेरा सत्तल एकैपटक नबनेका कारण भासिएको हुनसक्ने अनुमान गरिएको कोषका इन्जिनियर रिका जोशीले बताए। राणाकालमा बनेको चौघेरा सत्तल कोषले नै जीर्णोद्धार  गरी योजना महाशाखा पनि करिब छ महिना सञ्चालन गरिएको उनले बताए।

महास्नानघरमा केही समय नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिको कार्यालय पनि राखिएको थियो। महास्नानघर जीर्णोद्धार गर्दा तलको भागमा केही नगरिएका कारण भासिएको हुनसक्ने कोषका योजना महाशाखा प्रमुख इन्जिनियर पशुपति ठाकुरले बताए। लकासीको मुख्य काठ कुहिएका कारण भवन भासिएको उनले जानकारी दिए। भासिएको भवनलाई तत्काल टेको लगाएर हाललाई भत्किनबाट जोगाएको जानकारी पनि कोषले गराएको छ।

दुई वर्षअघि नेपाल इन्भेष्टमेन्ट बैंकले पाँच करोड १४ लाखको लागतमा महास्नानघरको जीर्णोद्धार सकी पशुपति सङ्ग्रहालय निर्माण सम्पन्न गरेको बताएको थियो। भवन भासिएपछि कोषले चालु आर्थिक वर्षमा यसको पुनःनिर्माणका लागि एक करोड रुपैयाँ बजेट व्यवस्थापन गरेको जनाएको छ। प्रत्येक महिना पूर्णिमाका दिन पशुपतिनाथलाई ८४ व्यञ्जनसहितको भोग लगाउन यो भवन प्रयोग गरिन्छ। यसका लागि राजा रणबहादुर शाहको शासनकालमा यो भवन बनाइएको थियो।

हाल महास्नानघरको पूर्वी भागबाट पूर्णिमाका दिन गरिने कर्म सम्पन्न हुन्छ। महास्नानघरको दक्षिण भाग भासिएकाले पूर्णिमाका दिन गर्ने कर्मका लागि कुनै असर नपरेको कोष अमालकोट कचहरीका द्वारे रामकृष्ण डंगोलले जानकारी दिए।

२०८१ भाद्र १४, शुक्रबार प्रकाशित 0 Minutes 126 Views

ताजा समाचार