२०८१ भाद्र २७ बिहीबार

मेचीनगरमा छ दल ‘पर्ख र हेर’ मा

मेचीनगर । मेचीनगर नगरपालिका नेतृत्वको ठोस निणर्यको पर्खाइमा रहेका आन्दोलनरत ६ राजनीतिक दलले न्यूनतम सर्त अघि सारेका छन् । मेचीनगरका नगर प्रमुख गोपालचन्द्र बुढाथोकी र उपप्रमुख मीना पोखरेल उप्रेतीसमक्ष तेस्रो चरणको वार्तामा न्यूनतम २० बुँदे सर्त अघि सारेका हुन् ।

यसअघि २१ बुँदे माग अघि सारेको असन्तुष्ट ६ राजनीतिक दलले राष्ट्रिय आवास कम्पनीको जग्गा नगरको स्वामित्वमा ल्याउने विषयमा मन्जुरी गर्दै अन्य २० बुँदेमा न्यूनतम सर्त अघि सारेको वार्तामा सहभागी एक नेताले बताए । नेतृत्वले ६ दलको मागका बुँदाका विषय नगरको बोर्ड बैठक र कार्यपालिकाको बैठकमा राखेर मात्रै अघि बढ्ने भनेपछि वार्ता सकिएको माओवादी केन्द्रका क्षेत्रीय अध्यक्ष माधव अर्यालले बताए । नगरका तमाम विषयमा नगर प्रमुख र उपप्रमुखले मात्रै निणर्य लिन नसक्ने भएपछि कार्यपालिकाको बैठक पछि पुनः वार्तामा बस्ने उनको भनाई छ ।

नगर नेतृत्वले मसिनो ढंगले अध्ययन गर्दै गरेको बताएपछि केही दिनका लागि तयारीपछि पुनः छलफल गर्नेगरी वार्ता सकिएको वार्तामा सहभागी नेपाली कांग्रेसका क्षेत्रीय सभापति इन्द्रबहादुर बुढाथोकीले बताए । तर, उक्त दिन बस्ने वार्तामा नगरको कानुनी विषय पनि समेटिने भएकाले निष्कर्ष निकाल्नुपर्ने उनको जोड थियो ।

नगरपालिकाले दोस्रो पटकको वार्तापछि प्रतिप्रश्न गरेर पत्रचार गरेकोमा ६ दलले त्यसको जवाफी पत्र फर्काइसकेको जनाएको छ । नगर भित्र चरम बेतिथि भएको भन्दै त्यसलाई सुधार गर्न नगरको नेतृत्वलाई ध्यानाकर्षणपछि ज्ञापन पत्रसमेत बुझाएका थिए । नगरको नेतृत्वको कार्यशैली जनहितकारी नभएको भन्दै ६ दल गत भदौ १ गतेदेखि चरणबद्ध आन्दोलनमा उत्रिएको छ ।

वार्तामा क्षेत्रीय सभापति इन्द्रबहादुर बुढाथोकी, माओवादी केन्द्रका क्षेत्रीय अध्यक्ष माधव अर्याल, रास्वपाका तर्फबाट क्षेत्रीय सभापति भीमबहादुर कुँवर, राप्रपाका तर्फबाट क्षेत्रीय उपाध्यक्ष विश्वराज पोखरेल, एकीकृत समाजवादीका तर्फबाट विपी भट्टराई, जसपाका नगर अध्यक्ष ओमप्रकाश खापुङलगायतको सहभागिता रहेको थियो ।

२०८१ भाद्र १३, बिहीबार प्रकाशित 0 Minutes 360 Views

ताजा समाचार