२०८१ कार्तिक ३० शुक्रबार

त्रिशूलीमा खसेको ६ दिन बित्दा पनि किन भेटिएन बस?

चितवनको सिमलतालमा पहिरोले बगाएर दुई वटा बस त्रिशूलीमा बेपत्ता भएको ६ दिन बितिसकेको छ।

गत असार २८ गते बिहान साढे ३ बजे भरतपुर महानगरपालिका वडा नम्बर २९ सिमलतालमा पहिरो खसेर ६५ यात्रु चढेको बागमती प्रदेश ०३-००६ ख १५१६ नम्बरको एन्जल डिलक्स र बा ०३-००१ ख २४९५ नम्बरको गणपति डिलक्स बसलाई बगाएर त्रिशूलीमा बेपत्ता बनाएको हो।

तर अहिलेसम्म ती बस र सबै यात्रु फेला पर्न सकेको छैन। बसमा सवार यात्रुहरूको खोजी गर्दा बिहीबार बिहानसम्म १९ वटा शव फेला परेको छ। जसमध्ये पाँच जनाको सनाखत हुन बाँकी छ।

बसमा रहेका यात्रुहरूको शव कम्तिमा पनि ४० किलोमिटरभन्दा टाढा फेला परिरहेका छन्। जसकारण जिल्ला प्रशासन कार्यालय चितवनले भारतस्थित बिहार राज्‍यको पश्चिम चम्पारण जिल्लाका डिस्ट्रिक्ट म्याजिस्ट्रेटसँग पनि खोजी तथा उद्धारका लागि समन्‍वय गरेका छन्।

६ दिनदेखि नेपाल प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेनाको छुट्टाछुट्टै टोलीले त्रिशूलीदेखि भारतको गण्डक ब्यारेजसम्म नै खोजी गरिरहेका छन्।

जिल्ला प्रशासन कार्यालय चितवनका अनुसार पाँच सय सुरक्षाकर्मी खटिएर खोजी गरिरहेका छन्।

अहिले पानीको बहाव कम भइसकेको छ। उनकाअनुसार १६-१७ फिट पानीको गहिराइ घटेको छ। पानी घटेकै कारणले पनि शव विभिन्न ठाउँमा फेला परेका छन्।

शव बालुवामुनि पनि फेला परेको उनी बताउँछन्।

‘किनारमा भएका रूख नै डुब्ने गरी नदीमा पानी बढेको पायौं। जसले गर्दा शव रूखमै अड्किएको अवस्थामा पनि फेला परेको छ। त्यसैगरी कतिपय शव बालुवाको मुनि गाडिएको अवस्थामा फेला परेका छन्। ३-४ फिटसम्म खनेर शव निकाल्नुपर्ने अवस्था आएको छ,’ उनले भने।

गोताखोरहरूले त्रिशूली नदीमा मात्रै खोजी गरिरहेका छन्। पहिलो दिनमा पानीको बहाव र लेदोसहितको पहिरो भएकाले गोताखोरहरू पानीभित्र पस्न सकेका थिएनन्। तर अहिले पानीको बहाव घटेसँगै भित्र गएर खोजिरहेका छन्।

गोताखोरहरूलाई पनि थुप्रै चुनौती रहेको एसएसपी पौडेल बताउँछन्। उनकाअनुसार अहिले गोताखोरहरू त्रिशूलीमा मात्रै खोजी गरिरहेका छन्।

नारायणी नदीमा गोही भएकाले त्यहाँ ज्यानसमेत जानसक्ने चुनौती रहेको उनले बताए। त्यस्तै विदेशबाट गोताखोर झिकाउन पनि सम्भव नभएको उनी बताउँछन्।

‘कतिपय शवको खुट्टा माछा वा गोहीले खाइसकेको अवस्थामा फेला परेको छ। गोताखोर माथिल्लो बेल्टमा मात्रै खटिएका छन्। नारायणीमा गोही भएकाले त्यहाँ जान सक्ने सम्भावना छैन,’ उनले भने, ‘विदेशी गोताखोरहरू ल्याऔं भने पनि कठिन छ। किनभने उताका गोताखोरहरू यति धेरै ‘करेन्ट’ भएको पानीमा खोज्न अभ्यस्त पनि नहुने रहेछ। उनीहरूमा तालिएको र सफा पानीमा खोजी गर्ने बानी हुने भएकाले यहाँ खोजी गर्न गाह्रो हुन्छ।’

त्यसैगरी वाटर ड्रोन र सोनार क्यामेराकै प्रयोगले पनि त्यति सहयोग नपुर्‍याएको उनले बताए।

उनकाअनुसार वाटर ड्रोन विशेष गरी स्थिर हुने पानीभित्र रहेको दृश्यलाई कैद गर्न प्रयोग गरिन्‍छ। तर त्रिशूलीको जस्तो उच्च बहाव वा ‘करेन्ट’ हुने नदीभित्र भने दृश्य नै कैद गर्न कठिन भएको उनी बताउँछन्। त्यसैगरी सोनार क्यामेराबाट खोजी गर्न पनि करेन्टकै कारणले गाह्रो हुने उनले बताए।

‘प्रविधिको पनि सीमितता हुँदो रहेछ। सोनार क्यामेराले स्थिर बहाव रहेको ठाउँमा काम गर्छ। यसले वाटर ड्रोन जस्तो भिडिओ नै पनि खिच्ने होइन। साउन्ड वेभ पठाएर सम्भावित वस्तुको आकार देखाउँछ। यसरी नै खोज्दा वस्तुको आकार देखिन्छ। भित्र गोताखोर पठाउँदा ढुंगा भेटिन्छ,’ उनले अगाडि थपे, ‘खोँचतिर गएर बस अड्किएको पो हो कि भन्ने पनि हाम्रो अनुमान हो। खोँचतिर धेरै हल्लिने हुँदा पनि यस प्रविधिले काम गर्न सकेको छैन।’

त्रिशूलीमा हराएका दुई वटै बस लेदोले पुरिएको वा अन्तै अप्ठ्यारो खोँचतिर अड्किएको हुनुपर्ने अनुमान छ। यद्यपि कतिपय खोँचहरूमा पुग्नै नसक्ने ठाउँहरू पनि रहेको उनी बताउँछन्।

यसरी खोजी गर्दा अघिल्ला वर्षमा हराएका गाडीकै कुनै अवशेष पनि फेला नपरेको उनले बताए। खोजी गरिरहँदा केही पनि फेला नपर्दा आश्चर्यजनक रहेको उनी बताउँछन्।

खोजी गरेको पहिलो दिन बसको पर्दा फेला परेको थियो। त्यसबाहेक बसका अन्य कुनै पनि वस्तु फेला पर्न सकेको छैन।

यात्रु र बसको खोजी गर्न वाटर ड्रोन, सोनार क्यामेरा, र्‍याफ्टिङ बोट, गोताखोर लगायतको पनि प्रयोग गरिएको छ। विभिन्‍न उपायको प्रयोग गर्दा पनि खोजीकार्यमा कठिनाइ भएको सशस्त्र प्रहरीको विपद व्यवस्थापन व्यवस्‍थापन तालिम शिक्षालय कुरिन्टारका समादेशक एसएसपी माधव पौडेलले बताए।

‘खोजीका थुप्रै प्रयास गरिरहेका छौं। यति धेरै सुरक्षाकर्मीले खोजिरहेका छौं। तीन वटै सुरक्षा निकायसँग भएका सबै सामग्रीको प्रयोग गरेका छौं,’ उनले भने, ‘तर त्रिशूली नदीको गहिराइ, खोँचहरू, बहाव सबै कारणले गर्दा खोजी कार्यमा चुनौती भइरहेको छ।’  सेतोपाटी

२०८१ श्रावण ३, बिहीबार प्रकाशित 1 Minute 113 Views

ताजा समाचार