२०८१ बैशाख ८ शनिबार

बसन्तको ‘महाभारा’ बन्यो वर्षोत्कृष्ट कृति

झापा । जयेन्द्रप्रसाद प्रसाईं साहित्य सेवा कोषले पत्रकार एवं लेखक बसन्त बस्नेतको पुस्तक ‘महाभारा’लाई वर्षोत्कृष्ट कृतिका रुपमा छनौट गरेको छ ।

कोषका अध्यक्ष गोपीकृष्ण प्रसाईको अध्यक्षतामा बुधबार बसेको बैठकले २०७८ सालमा प्रकाशित कृतिहरु मध्ये बस्नेतद्वारा लिखित ‘महाभारा’ लाई उत्कृष्ट कृतिका रुपमा छनौट गर्दै पुरस्कृत गर्ने निर्णय गरेको हो ।

पुरस्कारको राशि जनही २५ हजार नगदसहित सम्मान पत्र रहेको संस्थाका महासचिव छविलाल खतिवडाले जानकारी दिए । यस्तै कोषले दिने विष्णुचन्द्र पद्मा विशेष प्रतिभा पुरस्कार कलाकार तथा प्राज्ञ पवन राजवंशीलाई प्रदान गर्ने निर्णय भएको छ । बैठकले धनमाया सक्रिय महिला पत्रकारिता पुरस्कारबाट ग्यालेक्सी टेलिभिजनमा कार्यरत सिर्जना घिमिरेलाई पुरस्कृत गर्ने निर्णय गरेको छ ।

यसै वर्षदेखि स्थापना गरिएको फरक क्षमता (अपाङ्गता) भएका व्यक्तिलाई प्रदान गरिने पुरस्कारबाट दृष्टिविहीन शिक्षक चन्द्रप्रसाद भट्टराईलाई प्रदान गर्ने निर्णय गरेको छ । यसै वर्षदेखि वितरण गर्न लागिएको फरक क्षमता भएका व्यक्तिलाई प्रदान गरिने पुरस्कारको राशि नगद ११ हजारसहित सम्मान पत्र रहेको छ ।

उत्कृष्ट कृति तथा प्रतिभा छनौटका लागि कृतितर्फ कोषका उपाध्यक्ष विष्णुकुमार भट्टराईको संयोजकत्वमा तीन सदस्यीय समिति गठन गरिएको थियो भने बिष्णुचन्द्रमपद्मा बिशेष प्रतिभा पुरस्कारका छनौटका लागि कोषका अध्यक्ष प्रसाई संयोजक रहेको समिति थियो ।

धनमाया सक्रिय महिला पत्रकारिता पुरस्कार छनौटका लागि लोकराज ढकाल र फरक क्षमता भएका व्यक्तिका लागि प्रदान गरिने पुरस्कार छनौटका लागि खिलप्रसाद शिवाकोटीको संयोजकत्वमा समिति बनाइएको थियो ।

पुरस्कार फागुन ६ गते विशेष कार्यक्रमको आयोजना गरी प्रदान गरिने संस्थाले जनाएको छ ।

२०७९ माघ ११, बुधबार प्रकाशित 0 Minutes 491 Views

ताजा समाचार