‘हेर्दा फूर्तिलो, शरीरमा कुनै रोग लागेको समेत सुन्नु परेको थिएन, तर फलानोको राति अचानक मृत्यु भयो ।’
यस्ता खबर बेलाबखतमा सुन्ने र देख्ने गरिन्छ । जसको उदाहरणका रुपमा चर्चित भारतीय अभिनेता सिद्धार्थ शुक्लाको मृत्युलाई लिन सकिन्छ ।
उनको ४० वर्षको उमेरमा निधन भएको थियो । उनले राति असहज महसुस गरे र औषधि खाएर सुत्न गए । तर भोलिपल्ट बिहान उठेनन् । उनकी आमाले उनलाई उठाउने धेरै प्रयास गरिन्, तर सिद्धार्थले जवाफ दिएनन्, किनकि उनको मृत्यु भइसकेको थियो । चिकित्सकले उनलाई मृत घोषित गरे ।
यसरी उपचाररत नरहेका वा नथलिएका व्यक्तिको एक्कासि किन मृत्यु हुन्छ ?
अप्रत्यासित मृत्यु हुने कारण एउटा मात्र होइन, धेरै छन् । जसमध्ये यी चार कारण प्रमुख हुन् ।
कार्डियाक एरिथमिया
मुटुको धड्कनको कम्पन अचानक अनियमित हुनु कार्डियाक एरिथमिया हो । यो विना कुनै अग्रिम संकेत पनि हुनसक्छ ।
सामान्यतया मुटुको धड्कन प्रतिमिनेट ६० देखि १०० पटक धड्किन्छ । जब मुटुको धड्कन नियन्त्रण गर्ने मुटुको विद्युतीय संकेतमा समस्या हुन्छ र राम्रोसँग काम गर्दैन । यस्तोमा मुटुको कुनै भागमा वा रगत पम्प गर्न समस्या भएको हुनसक्छ ।
जसकारण मुटुको धड्कन धेरै छिटो वा ढिलो धड्किन थाल्छ । यसरी मुटुको चालमा अनियमितता आउनु कार्डियाक एरिथमिया हो । यस्तो अवस्थामा एक्कासि टाउको दुख्ने, थकान लाग्ने, चक्कर लाग्ने, मुटु ढुकढुक गर्ने, पसिना आउनु, छाती दुखेर सास फेर्न कठिनाइ हुने, बेहोस भई भुईंमा लडेर घटनास्थलमै मृत्यु हुनसक्छ ।
कारण
धेरै रक्सी वा कफी पिउने, धुम्रपान गर्ने, तनाव वा चिन्ता लिने, धेरै खाने, कडा व्यायाम गर्ने र तापक्रममा तीव्र उतारचढ़ाव, इलेक्ट्रोलाइट (सोडियम, पोटासियम, म्याग्नेसियम वा क्याल्सियम)मा असन्तुलन, स्लीप एपनिया युवाहरूमा एरिथमिया हुने सबैभन्दा सामान्य कारण हुन् ।
किनकि माथि उल्लेखित क्रियाकलाप र शारीरिक अवस्थाले मुटुको चालमा अनियमितता ल्याउन सक्छ । फलस्वरुप कार्डियाक एरिथमिया हुनसक्छ ।
हृदयघात
सामान्यतया हृदयघात हुनुलाई चिकित्सकीय भाषमा मायोकार्डियल इन्फार्कसन पनि भनिन्छ । यो तब हुन्छ जब कोलेस्टेरोल, क्याल्सियम, बोसो र रगत जम्न गई कोरोनरी धमनीहरूमा साँघुरिन्छ ।
जमेको रगतको थेग्लाले धमनी साँघुरिएर थुनिदिंदा वा थुनिएको भाग भन्दा अगाडिका अक्सिजन र पोषण तत्वको अभाव भई हृदयको मांसपेशीहरु मर्न थाल्छन् । मृत र नेक्रोटिक मुटुको पर्खालले अक्सिजनयुक्त रगतलाई धमनीबाट शरीरका अन्य भागमा धकेल्न सक्दैन । यसले एरिथमिया, मुटु फेल, मुटुको मांसपेशी फुट्ने, गम्भीर रक्तस्राव निम्त्याउने जोखिम हुन्छ । जसकारण हृदयघात र आकस्मिक मृत्युको जोखिम बढाउँछ ।
को बढी जोखिममा ?
सामान्यतया वृद्धवृद्धा, अनियन्त्रित उच्च रक्तचाप र मधुमेह भएकाहरु बढी जोखिममा पर्छन् । विशेषगरी मोटोपन, बस्ने काम, पारिवारिक इतिहास, धुम्रपान गर्नेहरू, बोसोयुक्त खाना, परिष्कृत कार्बोहाइड्रेट र कम मात्रामा फलफूल र तरकारी सेवन गर्ने बानी भएकाहरुमा पनि कालान्तरमा यसको जोखिम रहन्छ ।
पल्मोनरी एम्बोलिज्म
पल्मोनरी एम्बोलिज्म एक गम्भीर अवस्था हो, जसमा जमेको रगत फोक्सोमा पुग्छ र पल्मोनरी धमनीहरूमा अवरोध गर्छ । यो अवरोधले फोक्सोमा रगत प्रवाहलाई रोक्छ, जसले अचानक मृत्यु निम्त्याउँछ ।
यो सामान्यतया तब हुन्छ जब हामी धेरै घण्टा (जस्तै, लामो दूरीको उडान वा बस वा कारमा यात्रा गर्दा वा डेस्कमा लामो समयसम्म हाम्रो खुट्टा नहल्लाइकन निष्क्रिय बस्दा हुनसक्ने समस्या हो ।
यी अवस्थामा हाम्रो खुटटाको तल्लो छेउबाट मुटुको दाहिने छेउमा रक्त प्रवाहलाई सुस्त बनाउँछ, जसले ठूला नसाहरूमा अवरोध गरी रगत जम्छ । जुन रगतको प्रवाह हुँदै फोक्सोमा पुग्छन्, जसले अवरोध निम्त्याउँछ ।
हिप, घुँडा प्रत्यारोपण वा अन्य प्रमुख शल्यक्रिया, क्यान्सर र आनुवंशिक रोग भएका व्यक्तिहरू यसको उच्च जोखिममा हुन्छन् ।
इस्केमिक स्ट्रोक
स्ट्रोकमध्ये इस्केमिक स्ट्रोक अचानक मृत्यु गराउनेमध्ये एक प्रमुख कारण हो । तर माथि उल्लेखित अन्य समस्या जस्तो अप्रत्यासित रुपमा देखिने भएपनि द्रूत रूपमा विकास हुँदैन । तर उपचारमा ढिला भए ज्यान जोखिममा पार्न सक्छ ।
हाम्रो शरीरमा नसाको मद्दतबाट रक्तसञ्चारले नै शरीरका विभिन्न भागमा अक्सिजन पुर्याउने गर्छन् । तिनै नसाहरु अवरुद्ध हुँदा इस्केमिक स्ट्रोक हुने गर्छ । यी स्ट्रोकहरू मस्तिष्कको निश्चित क्षेत्रमा रगत प्रवाहमा अवरोधको भई खुट्टा वा हात पारालाइसिस हुने वा आवाज गुमाउन सक्छन् । तर यदि मस्तिष्कको स्टेम (जहाँ हाम्रो श्वासप्रश्वास र हृदय केन्द्रहरू)मा रक्त आपूर्ति रोकिसकेको अवस्थामा मृत्यु निश्चित हुन्छ ।
कसलाई हुनसक्छ ?
वृद्धावस्था, उच्च रक्तचाप, मधुमेह, कोलेस्टोरोल, सुर्ती तथा मदिराजन्य पदार्थको लत लगायतले स्ट्रोकको जोखिम बढाउँछ ।
अप्रत्यासित मृत्यु हुने अवस्थाको मुख्य कारण जीवनशैली र स्वास्थ्यमा ध्यान नदिनु प्रमुख हो । जसले गर्दा उमेरअगावै मृत्यु हुने घटना बढिरहेका हुन्छन् । यसबाट बच्न शारीरिक व्यायाम सन्तुलनमा गर्ने, पौष्टिक आहार खाने, पर्याप्त निद्रा लिने, दीर्घ रोग भए चिकित्सकको निगरानीमा औषधि खाएर नियन्त्रण गर्ने जस्ता अभ्यास गर्नुपर्ने देखिन्छ ।