२०८१ जेष्ठ ९ बुधबार

महिनावारीका ती पट्यारलाग्दा चार दिन!

विमला तिवारी 

प्रकृतिको नियमअनुसार सबैले रजस्वला हुनुपर्ने। म बाह्र वर्षको उमेरमा भएँ। यसभन्दा पहिले म कति सानी र माया लाग्दी थिएँ, छरछिमेकका आमा काकीहरू भन्नुहुन्थ्यो।

उहाँहरूले मलाई हाम्री प्यारी परी भनेर बोलाउने गर्नुहुन्थ्यो। जसरी अहिले मेरी छोरीलाई मायाले काली भनेर बोलाउँछन्।

त्यसपछि त मलाई सबैले ठूली भयौ भन्न थाले। यस्तो लाग्न थाल्यो मेरी आमा पनि रजस्वला भएर पो ठूलो भएकी रहिछन्। म दोधारमा परेँ, रजस्वला किन हुन्छ? आफ्नो अंगबाट निस्केको रगतको कारण ठूलो हुने रहेछ?

मस्तिष्कले केही सोच्न सकेन। बाल मस्तिष्क जो थियो। ममा आएको परिवर्तन स्वाभाविक हो वा होइन, मनमा भने हरदम त्रासदी रहिरह्यो। त्यही समयमा आमाले मलाई महिनावारी सम्बन्धी केही नियमहरू बताउनुभयो।

पहिलो पटक नछुनी हुँदा घर नदेखिने ठाउँमा लुक्नुपर्छ। घामको मुख हेर्न हुँदैन। परिवारको पुरुष सदस्यको अगाडि पर्न हुँदैन। नछुनी भएको समयमा भान्छा छुन हुँदैन, भगवानको मठ मन्दिरमा दर्शन गर्न जान हुँदैन। आमा मलाई यस्तै कुराहरू सिकाउनु हुन्थ्यो।

किन यो सबको पछि लाग्नु पर्यो? म त स्कुल जान्छु। सधैं गर्ने काम गर्छु भनेर जिद्दी गर्थेँ। तर डर भने भगवान रिसाउने कुरा सुनेपछि बढ्दै जान्थ्यो।

‘हामी सबैले पालना गरिरहेको नियम हो। यो नियमलाई नारी जातीले सदैव मान्नुपर्छ। तिमीले जिद्दी गरेर सुख पाउँदैनौ। यो सामाजिक नियमको अवहेलना कोहिले गर्नु हुँदैन। म तिमीजस्तै नै त थिएँ। मेरो आमाले मलाई सिकाउनु भयो। मैले तिमीलाई सिकाउँछु। एवं रितले यो प्रक्रिया चलिरहन्छ,’ आमाका यी वचनहरूले मलाई छाउपडी व्यवस्थाभित्र व्यवस्थापन गर्न थाल्यो।

अब आमाले पूरा गर्नु भएका सबै संस्कारलाई मेरो काँधमा सार्न यहीबाट सुरु भयो।

आमाले नछुनी भएको भन्नुभयो। मलाई भने यो रजस्वला हो भन्ने सानो जानकारी थियो। किनकी म कक्षा सातमा पढ्दै थिएँ। स्वास्थ्य तथा जनसङ्ख्या भन्ने विषयको किताबमा प्रजनन सम्बन्धी एउटा पाठ थियो। रजस्वला शब्द मैले त्यही पाठमा पढेर सुनेँ।

तर आमाले यसलाई त नछुने भएको भन्नुभयो। यो समयमा पर सरेको, नछुनी भएको, पन्छिएको, महिनावारी भएको विविध नाम भन्दा रहेछन्। तर किताबमा महिनावारी वा रजस्वला भनेर लेखिएको हुन्थ्यो। डिम्ब निष्कासन भन्ने शब्द पनि त्यहाँ कतै थियो।

त्यस पाठमा आफ्नै अंगको चित्रसहित बयान गरेर लेखिएका पूरै कुरा बुझ्न नपाउँदै मलाई रजस्वला भयो। अर्कैको घरमा केही दिन बस्नु पर्यो। परापूर्व कालदेखिको रितलाई चटक्कै तोड्न कहाँ सकिन्छ र भन्दै पुर्याइयो। के हो रित, के हो संस्कार मलाई भने केही थाहा थिएन।

पहिलो पटक रजस्वला हुँदा म छिमेकी हजुरआमाको घरमा बसेँ। उहाँले मलाई धेरै माया गर्नुहुन्थ्यो। मेरी आमाले मलाई घरबाट खाना पठाउँदा दूध पठाउनु हुने थिएन। तर हजुरआमाले बेलुका जहिले एक गिलास दूध दिनुहुन्थ्यो।

घरमा गाईको दूध भएको कारण मैले खान नहुने रहेछ ती दिनमा। यता हजुरआमाकोमा त भैंसीको दूध रहेछ, पछि थाहा पाएँ। गाई भैंसी ब्याएको एघार दिन नपुग्दासम्म पर सरेको समयमा दूध खान हुँदैन रे! गाईको दूध त पर सरेको समयमा कहील्यै पनि खान हुँदैन। गाईको दूध भगवानको प्रसाद हो। यदि खाएमा देवता कचपचिन्छन् अरे!

भगवानको नाम परेका फलफूल खान पनि बर्जित थियो। बारम्बार यी वाक्यहरूको सहयोगले मलाई र मेरो यो अवस्थालाई पर-पर सारिरह्यो। यस्ता अलिखित कानुनका दस्तावेजहरू एकाएक निस्कन थाले। उहाँले जे-जे भन्दै जानुभयो त्यही त्यही म मान्दै गएँ। त्यसको सात दिनपछि घर आएर आफ्नो नियमित काममा लागेँ। महिनैपिच्छे पर सर्दा आमाले मलाई गाईको दूध कहिले खान दिनुभएन।

सकसपूर्ण रहेका यी दिनहरूमा मलाई सबैभन्दा बढी डर केही गरी मेरो कारण देवता रिसाउँछन् कि भन्ने पीर परिरह्यो। जुन सानो उमेरमा पाएको नियन्त्रित नैतिक शिक्षाको नतिजा थियो। त्यो यतिसम्म बलियो बनेर बसेको थियो झुक्किएर केही छोयो भने ठूलो पाप गरेको बुझेर झसङ्ग बनाइरहन्थ्यो।

कहिलेकाहीँ तरकारी र फलफूलका बोटहरू छोइएमा अब कुहिने भयो भन्नुहुन्थ्यो आमा फेरि। मासिक चार दिनहरूमा मैले यसरी नछुने बारेर बस्दा भगवान खुसी भए कि भएनन्, मैले कहिले पनि थाहा पाउन सकिनँ। तर सधैं केही गल्ती हुन्छ कि भनि अदृष्य रहेका भगवानँसग नित्य डराइरहेँ म।

यस्तै-यस्तै गरी दिन, महिना र वर्षहरू बितिरहे। तर ती दिनहरूले कहिले पनि छोड्न सकेनन्। प्रत्येक महिना निरन्तर आइरहे।

आमाले सधैँ महिनावारी अशुद्ध अवस्था हो भन्ने। मैले किन र कसरी भनेर प्रश्न गर्दा यसको जवाफ भने आमासँग नहुने। मात्र भगवानसँगको डर रहने। आमाको पाको बुझाइमा आइमाईको प्राकृतिक अवस्था हो भन्ने थिएन। यो त ती सामाजिक नीति नियमहरू हुन्। जुन समाज सञ्चालन गर्नको लागि अपरिहार्य छ भन्ने थियो। अरु केही थिएन।

आफूभन्दा अगाडिका पुस्ताले गरेका कामहरूको निरन्तरता थियो। हो यस्तै गरी-गरी नारी अशुद्ध अवस्थाको सामाजिकीकरण व्यापक रुपमा फैलिएको रहेछ। तर यो शिक्षाको औपचारिक कक्षा भने कही चलेको मलाई थाहा भन्ने आधारहरू भने आमाले बताउनु भएन। पूर्वजहरूले गरेका कामको संरक्षणका लागि मात्र यो सञ्चालनमा रहेको छ आजसम्म।

मेरी आमाको शैक्षिक पाठशाला मेरी हजुरआमाको हितोपदेश मात्र थियो। मेरो शैक्षिक पाठशाला भने आमाले नदेखेको स्कुल सँगैसँगै हजुरआमाको शिक्षाको प्रभाव दुवै थियो। फेरि अहिले मेरी छोरीको शैक्षिक पहुँच मेरोभन्दा गुणस्तरीय र प्रयोगात्मक बनिरहेको छ।

जब-जब मेरो शिक्षामा पहुँच बढ्दै गयो। तब मैले मेरो र मैलेजस्तै गरी महिनावारीलाई मान्दै र बुझ्दै आएका ती सबै छोरीको अवस्थाबारे जान्न थालेँ।

पढदै र बढ्दै गएपछि ती दिनहरूमा रहेका केही अप्ठ्याराहरू महसुस गर्दै गएँ। विस्तारै औपचारिक शिक्षालाई निरन्तरता दिँदा महिनावारी प्राकृतिक अवस्था रहेको थाहा पाएँ।

प्राकृतिक विषय र धार्मिक विषयलाई कसरी एक ठाउँमा गाँसियो होला? शरीरको नियमित एक प्रक्रियालाई अशुद्ध अवस्थाको रुपमा कसरी व्याख्या गरियो होला? महिनावारीलाई सामाजिक नीति नियमले पापी कर्म जस्तो बनाइएको हो कि जस्तो लाग्यो। पापी कर्म र अशुद्ध अवस्था मान्न मलाई मेरो विवेकले दिएन।

नितान्त नारी शरीरको एक जैविक सन्तान उत्पादन गर्ने प्रक्रिया हो भनेर बुझ्नु र बुझाउनु पर्छ। जुन एउटा सामान्य शारीरिक प्रक्रिया नाकबाट सिँगान आउनु, मुखबाट र्‍याल आउनु, आँखाबाट आँसु आउने जस्तै हो यो महिनावारी भन्नेमा म पुगेको छु।

समय क्रमसँग यो प्राकृतिक जीवन प्रणाली हो भनेर बुझ्ने चेष्टा गरे। यो त मानव शरीर निर्माण गर्ने अभिन्न पाटो रहेछ। यसको अभावमा त सृष्टि सम्भव नै रहेनछ। फेरि यसलाई पाप सँग किन जोडिन्छ? यदि यो पाप हो भने मानव सृष्टिका प्रत्येक संरचना पापी हुन्?

मानव समाज सञ्चालन गर्न तय गरिएका नियमहरूले कतै हाम्रो व्यक्तित्व नै हरण गरेको त होइन? नारीको यौनिकतामाथि पितृसत्ताले नियन्त्रण गरेको पो हो कि? घरीघरी यस्ता विषयहरूले प्रश्न गर्न खोजेको अनुभूति गर्न थालेँ। कता-कता त्यो अवस्थाभित्र बिताएको समय, पाएको दुःख र अशुद्धताको भारीले थिचिएको आफूलाई त्यहीभित्र पाएँ।

मलाई भगवान आफ्नो कर्मअनुसार निर्धारण हुन्छन् भन्ने लाग्न थालेको छ। भगवानले कहीँ कतै प्राकृतिक अवस्थामाथि अवरोध गर्दैनन्।

असामान्य रफ्तारमा मनले महिनावारीलाई पवित्र अवस्थाको रुपमा लियो। आजभोलि रजस्वला हुनु हाम्रो निम्ति गर्व गर्न लायक अवस्था मान्छु। ती चार दिनहरूले हामीलाई नारी हुनुमा सम्मान दिएको छ। पृथ्वीमा अर्को एक मानव उत्पादन गर्ने क्षमता प्रदान गरेको छ। जसका कारण हामी आमा हुन सक्छौँ र त गर्वले आफूलाई भन्न सक्छौं, हामी आमा हौं।

मलाई आज पनि ती पट्यारलाग्दा चार दिनको सम्झना आइरहन्छ। जुन समयमा म त्यो अवस्था आउँदा किन नारी भएँ भनेर आफूसँग झर्किन्थेँ। झर्किनु बेकार थियो, रहेछ। तर आज यी सबै-सबै विषयलाई वैज्ञानिक शिक्षाको उज्यालो चश्मा लगाएर हेर्न थाल्दा त आनन्द आउन थालेको छ।

त्यसैले आजभोलि म मेरी छोरीलाई ती पट्यारलाग्दा चार दिनका कुरा सुनाइरहन्छु। किनकी उनले यो समयमा मेरो अनुभवलाई दोहोर्याउन नपरोस् भन्ने चाहना राख्छु। मलाई मेरो छोरीले ती दिनहरूमा आफूलाई पट्यारलाग्दो गरी होइन, गर्व गर्न लायक गरी आफूलाई सम्झिऊन् भन्ने बनाउन चाहन्छु। छोरी हुनु बोझिलो होइन गर्विलो कामको जिम्मेवारी पूरा गर्नु रहेछ भनेर बुझाउन चाहन्छु।

उनले यसबाट केही सत्य तथ्यको बारेमा खोजी गरून्। मैले जुन बाटोबाट हिँडेँ त्यही गोरेटो उनले नपछ्याऊन्। उनले अनुसन्धानात्मक गोरेटो समातून्। जहाँ नारीको यो अवस्थालाई अशुद्ध नामाकरण गरिएको छ हो, त्यो अवस्थालाई सम्मानित बनाउन सकून्।

उनले त रजस्वलाको वैज्ञानिक अवस्था र मानवीय आवश्यकता बारे खुलेर बहस गर्न सकून्। आफ्नो बुद्धि र विवेकको सही उपयोग गरून।

हरेक छोरीहरूले रजस्वलाको वैज्ञानिक महत्त्व बुझून् जसलाई रहस्यमय बनाइएको छ। ती छोरीहरूले नछुनी हुने, पर सर्ने जस्ता शब्दहरूलाई विस्थापन गरेर महिनावारी, मासिक स्राव वा रजस्वला जस्ता शब्दहरूलाई स्थापित गर्नेतर्फ लागून्। सेतोपाटीबाट

२०७९ माघ ११, बुधबार प्रकाशित 1 Minute 330 Views

ताजा समाचार