२०८१ मंसिर २६ बुधबार

चट्याङबाट मानवीय क्षति बढ्दो

झापा । कोशी प्रदेशमा विगत दश वर्षमा चट्याङ लागेर २५४ जनाले ज्यान गुमाएका छन् । मनसुनी वर्षाको अवधिभर प्रदेशमा चट्याङले त्रास सृजना गर्दै आएको छ ।

कोशी प्रदेशको आन्तरिक मामिला तथा कानून मन्त्रालयका उपसचिव कमल थापाका अनुसार विसं २०७० देखि २०८० सम्मको एक दशकका मनसुनजन्य विपद्को विश्लेषण गर्दा सबैभन्दा बढी मानवीय क्षति चट्याङबाट सृजना भएको छ । उक्त अवधिमा कोशी प्रदेशमा चट्याङका ६९८ घटना भएका थिए । त्यसमा २५४ जनाको मृत्यु र ५८७ घाइते भएका उनले जानकारी दिए । प्रदेशभर एक दशकमा ७५७ परिवार चट्याङबाट प्रभावित भएका थिए ।

उपसचिव थापाका अनुसार एक दशकमा चट्याङबाट तीन करोड ९५ लाख ५८ हजार रुपैयाँ बराबरको भौतिक सम्पत्तिको क्षति भएको छ । खेतमा कृषिको काम गरिरहेका किसान चट्याङको सिकार बन्ने गरेका छन् ।

कोशी प्रदेशमा एक दशक अवधिमा मनसुनजन्य विपद्का दुई हजार ६० घटना भएको ‘मनसुन पूर्वतयारी तथा प्रतिकार्य कार्ययोजना २०८१’ मा उल्लेख छ । यस अवधिमा मनसुनजन्य विपद्बाट ५८३ मानिसको मृत्यु, १२० बेपत्ता र ७४९ जना घाइते भएका थिए भने १८ हजार ७२८ परिवार प्रभावित भएका थिए ।

मनसुनजन्य विपदमध्ये बाढीका ४६४ घटनामा १३२ जनाले ज्यान गुमाएका थिए भने ८२ बेपत्ता र २५ जना घाइते भएका थिए । पहिरोबाट सोही अवधिमा ६७२ घटना भएका थिए । त्यसमा १९२ जनाले ज्यान गुमाउनु परेको थियो भने ३८ जना बेपत्ता र ११९ जना घाइते भएका थिए ।

एक दशकको मनसुनजन्य विपद्बाट भएको मानवीय क्षतिको विश्लेषण गर्दा लगभग आधा जति मानवीय तथा भौतिक क्षति चट्याङबाटै हुने गरेको छ । विपदविज्ञ यशप्रसाद सुब्बाले विश्वको चट्याङ पर्ने पाँच ‘हटस्पट’मा नेपाल पनि पर्ने बताए जलवायु परिवर्तन र भौगोलिक स्थितिका कारण नेपालमा चट्याङको प्रकोप हुने गरेको छ । ‘प्रभावकारी अर्थिङको व्यवस्था नहुनु र सचेतनाको कमीका कारण चट्याङबाट बढी क्षति भइरहेको छ’, सुब्बा भन्छन् । चट्याङ प्राकृतिक प्रकोप भए पनि यसबाट हुने क्षति न्यूनीकरणका उपाय भए पनि मानवीय लापरबाहीले बढी क्षति हुने गरेको विज्ञहरू बताउँछन् ।

२०८१ असार ६, बिहीबार प्रकाशित 0 Minutes 163 Views

ताजा समाचार