२०८१ कार्तिक २० मंगलवार

दमक औद्योगिक पार्कमा भूमाफियाको चलखेल

झापा । करिब २ हजार विघा जग्गामा चीन सरकारको सहयोगमा निर्माण सुरु गरिएको दमक औद्योगिक उद्यान (दमक क्लिन इन्डस्ट्रियल पार्क) स्थानीय बासिन्दाका निम्ति पीडाको कारक तत्व बन्न पुगेको छ । जबरजस्ती रुपमा स्थानीयको जग्गा कब्जा गरिएको घटना लगायत मुआब्जाबाट बञ्चित हुन परेको कैयन समस्या छन् ।

पार्क अधिग्रहणका क्रममा ती क्षेत्रका जग्गा धनीले आफ्नो अर्बौंको जग्गा कौडीको भाउमा दिन नसकिने भन्दै सरकारी निकायसँग उचित मुआब्जा माग पनि सुनुवाइ नभएपछि निराश हुनुपर्ने अवस्था छ । झापाको कमल गाउँपालिका-७ संगमस्थल सबैभन्दा पीडित क्षेत्रका रुपमा चिनिने भएको छ ।

कांग्रेसका स्थानीय नेता एवं समाजसेवी धर्मेन्द्र सेढाँइसँग सरकारले ४ विघा जग्गा लिएकोे थियो । तर, उनलाई केवल २.५ विघाको मात्र मुआब्जा दिइयो । उक्त मुआब्जा रकम पनि अति न्यून हो । त्यसैगरी, एमालेका पूर्वसदस्य विष्णु निरौलाको पनि सहमति अनुसार प्रतिविघा ८ लाखका दरले मुआब्जा रकम पाउनुपर्ने भएपनि आजसम्म केही रकम पाउन सकेका छैनन् ।

अर्का स्थानीय दिल्लीराम सिवाकोटीबाट पनि विघाको २ लाख दरले जग्गा लिएर विघाको ४० लाखका दरले विक्री गरेको घटनाले यस क्षेत्रमा भूमाफिया ठूलै दबदबा रहेको प्रष्ट हुन्छ । यस्तै, घटना अर्का स्थानीय बुद्धिप्रसाद सिटौलासँग पनि घटेको छ । उनीबाट २ लाखका दरले जग्गा अधिग्रहण गरे पश्चात भूमाफियाले ४० लाखका दरले बिक्री गरेको बुझिन आएको छ ।

यस्ता कयैन घटना प्रकाशनमा आउनाले के इंगित गर्छ भने दमक औद्योगिक उद्यान पैसा कमाउनका निम्ति आफैँमा एउटा उद्योग भएर प्रस्तुत भएको छ । यसमा सरकारी निकायका कारिन्दा, राजनीतिक दलका नेता, कार्यकर्तासँगै चीन नजिकको सम्बन्ध/उठबस रहेका व्यवसायिक समुदाय र ठेकेदारको संलग्नता स्पष्ट रुपमा देखिएको छ । यिनीहरुको मिलिभगतले दमक औद्योगिक उद्यानलाई भ्रष्टाचारको मुख्य अड्डा बनाएका छन् ।

यहाँ जनता सामान्य मुआब्जाबाट बञ्चित हुनुका साथै आफ्ना पिता, पुर्खाले जोहो गरेको जमिन गुमाउनपर्ने बाध्यतामा परेका छन् । यिनै घटनाक्रमले के देखाउँछ भने अर्बौं रुपैयाँ भ्रष्टाचार गरिरहेका छन् । नेपालीले आफ्नो उर्बर भूमि दमक औद्योगिक पार्कलाई हस्तान्तरण गरेपछि यसबाट निम्न प्रभाव पर्न गएका छन् ।

खेतीयोग्य २ हजार विघा जमिनलाई पार्कमा अनुबन्धन गरी अन्न उब्जनीको एउटा मार्गलाई व्यवधान पुर्याउनु, बलजफ्ती जग्गा अधिग्रहण गरी साधारण जनतालाई जीवन जिउने हक र अधिकारबाट बञ्चित तुल्याउनु, जैविक सम्पदाको दोहन गर्नु, चिनियाँ कामदारको उपस्थितिले दमक क्षेत्रको सामाजिक, सांस्कृतिक व्यवस्थामाथि कुठाराघात पुर्याउनु रहेका छन् ।

यी सबै विषयको विरोध गर्दै स्थानीय जनताले विभिन्न कार्यक्रम आयोजना गरे पनि सरकार कानमा तेल हालेर बसेको अवस्था छ । पीडितले न्यायको ढोका ढकढक्याउँदा पनि उचित न्याय पाउन सकेका छैनन् ।

दमक पार्कको भूमाफिया प्रकरणमा एमाले अध्यक्ष केपी शर्मा ओली लगायत कयैन स्थानीय नेताहरुको संलग्नता रहेको स्थानीयले आरोप लगाएका छन् । तत्कालीन प्रधानमन्त्री ओलीले २०७७ फागुन १६ मा पार्कको शिलान्यास गरेका थिए । दमक ओलीको निर्वाचन क्षेत्र पनि हो । प्रधानमन्त्रीकै क्षेत्रमा आयोजना बन्ने भएपछि स्थानीय पनि उत्साहित भएका थिए । तर, सुरुवातमै आयोजना भ्रष्टाचार, मुआब्जा विवाद र चिनियाँ पक्षको गैरजिम्मेवारीको शिकार बनेको छ ।

ओलीकै गृहजिल्लामा घोषणा गरिएको यो महत्वाकांक्षी परियोजनाले समृद्धिभन्दा गरिबी बढाउने चिन्ता थपिएको छ । योजना कार्यान्वयन भएमा वर्षौंसम्म यसमा चिनियाँ व्यापारीको आधिपत्य रहनेछ । परियोजनाबाट चिनियाँ कम्पनीहरुले त फाइदा लिनेछन् तर स्थानीय सुकुम्बासी बन्नेछन् ।

२०८१ जेष्ठ ३१, बिहीबार प्रकाशित 1 Minute 456 Views