२०८१ असार १२ मंगलवार

सर्पले टोकेको उपचार कहाँ, कसरी ?

सर्पदंश विशेषज्ञ डा. कमल देवकोटा भन्छन्, ‘अहिले सर्पदशंको घटना बढेको छ । सर्पको टोकाइबाट मृत्युसम्म भएको घटना पनि सुनिन्छ । तर यसको अर्थ सर्प विषालु हुँदै गएको वा सर्पको बिगबिगी बढ्दै गएको होइन । बरु हामीले पूर्णत: सावधानी नअपनाएको हो ।’

उनी के पनि स्पष्ट पार्छन् भने सर्पको आहार होइन मान्छे । आफ्नो बचाउको लागि मात्रै सर्पले मान्छेलाई डस्ने हो ।

सर्प दुई प्रकारका हुन्छन्, विषालु र विषरहित । विषरहित सर्पले टोकेमा शरीरमा कुनै किसिमको हानि हुँदैन । नेपालमा गोमन, करेत र भाइपर प्रजातिका सर्पले धेरैलाई टोक्ने गरेको पाइन्छ । त्यसमा पनि करेत सर्पले टोक्ने धेरैको मृत्यु नै हुने गरेको छ ।

किनकि यो सर्पले रातको समयमा टोक्ने भएकाले समयमै उपचार अभावमा मृत्यु हुन्छ । पहाडी क्षेत्रमा भाइपरले धेरै टोक्छ । यसले मानिसको मृत्यु नै हुनेभन्दा पनि घाइते भने धेरैलाई बनाएको तथ्यांक छ ।

कुनकुन क्षेत्र प्रभावित ?

नेपालका २६ जिल्लालाई सर्पदंशको जोखिम क्षेत्रको रुपमा लिइन्छ । तराई, भित्री मधेसका क्षेत्रहरू र कतिपय पहाडी जिल्लाका कम उचाइका क्षेत्र सर्पदंश प्रभावित मानिन्छ । उदयपुरको कटारी, सिन्धुलीको पिथौली, स्याङ्जाको चापाकोट, पाल्पाको रामकोट क्षेत्र पहाडी क्षेत्र भएपनि सर्पदंशको प्रकोप छ । तराईको मेचीदेखि महाकालीसम्मका जिल्लासहित पाल्पा, सिन्धुली, सुर्खेत, डडेल्धुरामा विषालु सर्पको डसाइबाट ज्यान गुमाउनेको संख्या बढी छ ।

कुन सर्पले टोकेको घटना बढी छ ?

नेपालमा गोमन, करेत र भाइपर प्रजातिका सर्पले धेरैलाई टोक्ने गरेको पाइन्छ । नेपालमा धेरै मानिसलाई टोक्ने सर्पमा गोमन रहेको छ । त्यसपछि करेतले टोक्ने गर्छ । पूर्वतिर गोमनको टोकाइ बढी हुन्छ भने पश्चिमतिर करेतले बढी टोक्ने गर्छ ।

लक्षण

सर्पको प्रजातिअनुसार यसको लक्षण फरक-फरक हुन्छ । गोमन र करेत सर्पले टोकेपछि आँखा खोल्न गाह्रो हुने, आँखा लट्टिने, खाना खान वा थुक निल्न गाह्रो हुन्छ । त्यस्तै भाइपर सर्पमा हेमोटक्सिन विष हुन्छ, जसले शरीरमा रगतलाई खराब गर्छ । टोकेको ठाउँ सुनिने, समयमा उपचार भएन भने घाउ बढ्दै बढ्दै जाने र हातखुट्टा काट्नुपर्ने वा अंगभंग हुने जोखिम बढी हुन्छ ।

सर्पले कुन भागमा बढी टोक्छ ?

जुनसुकै ठाउँमा सर्पले टोक्न सक्छ । सर्पले प्रायः शरीरको तल्लो भाग जस्तै हात, खुट्टा, कम्मर, ढाड, छाती, घाँटी आदिमा टोक्छ ।

कहाँ टोकेको जोखिमपूर्ण ?

टाउको र घाँटीमा टोकेमा विषले चाँडै असर गर्छ, जसकारण मृत्यु हुने जोखिम पनि धेरै हुन्छ । टाउबाहेक जुनसुकै ठाउँमा सर्पले टोक्न सक्छ ।

कुन समयमा बढी टोक्छ ?

गोमन र भाइपर प्रजातिको सर्पले प्राय; दिउँसो टोक्छ भने करेतले राति टोक्ने गर्छ ।

कुन सर्प बढी विषालु ?

नेपालमा धेरै मानिसलाई टोक्ने सर्प गोमन र त्यसपछि करेत हो । यसले प्रत्यक्ष रुपमा मस्तिष्क र स्नायुमा असर गर्छ । यसैकारण धेरैको मृत्यु नै हुने गरेको छ । साथै करेतले रातको समयमा टोक्ने भएकाले उपचार अभावमा मृत्यु हुन्छ । नेपालमा गोमन, करेत र भाइपर प्रजातिका सर्पले धेरैलाई टोक्ने गरेको पाइन्छ ।

कुन सर्पले टोकेको कसरी चिन्ने ?

सामान्यतया सर्पले टोक्नासाथ सर्पले टोकेको ठाउँमा सर्पको दुईवटा दाँतको डाम छ कि छैन भनेर हेर्न सकिन्छ । टोकेको छ भने टोकेको ठाउँमा सर्पको दुईवटा दाँतको डाम देखिन्छ । टोकेको व्यक्तिले नजिकै सर्प देखेको हुन्छ । आफूलाई सियोले घोचेजस्तै अनुभव हुन्छ ।

गोमन (कोब्रा) : यसले दिनमै टोक्छ । बिहान उज्यालो हुने बेला, दिउँसो १२ बजेको आसपास र साँझ सूर्य अस्ताउने बेला टोक्ने जोखिम धेरै हुन्छ । यो सर्प चिन्न सजिलो छ । यसले टाउको उठाउँछ । फ्वाँ फ्वाँ गर्छ । धेरै विषालु हुन्छ ।

करेत : यो सर्पले राति सुतिरहेको बेला टोक्छ । टोकेको पनि थाहा हुँदैन । बिहान उठ्दासम्म विष फैलिसकेको हुन्छ । सर्पको टोकेको ठाउँमा दुईवटा दाँतको डाम देखिन्छ ।

भाइपर : भाइपर सर्पको दाँत सानो हुने भएकाले त्यसले टोकेको ठाउँमा दुईवटा दाँतको डाम नदेखिन पनि सक्छ । टोकेको ठाउँमा निलो डाम वा रगत देखिन्छ । विष लागेपनि यो सर्पले टोकेर मृत्यु हुने जोखिम भने निकै कम हुन्छ ।

सबै सर्पले टोक्दा विष छोड्छ ?

प्राय: करेत र गोमन सर्पले विष छाड्छ । भाइपरले टोके पनि विष नछाड्ने हुन्छ । साथै सबैले बुझ्नुपर्ने कुरा विषालु सर्पले टोक्दैमा सबैमा विष छोड्ने सम्भावना हुँदैन । किनभने करिब ८० प्रतिशत सर्पले विष छोडेको हुन्छ भने बाँकी २० प्रतिशत सर्पले टोके पनि विष छोडेको हुँदैन । विषालु सर्पले टोकेर पनि विष नछाडेका कारण शरीरमा विष नफैलिएका केसलाई ‘ड्राइ बाइट’ अर्थात सुक्खा डसाइ भनिन्छ ।

विष छाडेका केसका के गर्ने ?

यसको एउटै मात्र उपचार एन्टिस्नेक भेनम हो । यस बाहेक अरु कुनै उपचार छैन । त्यसैले सर्पले टोकेपछि तुरुन्तै नजिकैको स्वास्थ्यचौकी वा अस्पतालमा लैजानुपर्छ । समयमै उपचार पाएन भने मृत्यु पनि हुन्छ ।

के हो एन्टिस्नेक भेनम ?

सर्पले टोक्दा वा टोकेमा बिरामीको उपचारका लागि दिइने औषधिलाई एन्टिस्नेक भेनम भनिन्छ । एन्टिभेनम दुई प्रकारका हुन्छन्, पोलोभ्यालेन्ट र मोनोभ्यालेन्ट एन्टिभेनम ।

पोलोभ्यालेन्ट एन्टिभेनम

एकभन्दा बढी सर्पको विषको मिश्रण गरेर तयार पारिएको छ भने त्यसलाई पोलोभ्यालेन्ट एन्टिभेनम भनिन्छ । यसमा गोमन, करेत, भाइपर प्रजातिको आवश्यकताअनुसार एकभन्दा बढी सर्पको विष मिसाइएको हुन्छ । नेपालमा जुनसुकै सर्पले टोक्दा पनि यही पोलोभ्यालेन्ट एन्टिभेनम दिइन्छ ।

मोनोभ्यालेन्ट एन्टिभेनम

मोनोभ्यालेन्ट एन्टिभेनम निश्चित एक सर्पको विष मिलाएर बनाइएको हुन्छ । यसमा ठ्याक्कै जुन सर्पले टोकेको त्यही सर्पकै मोनो एन्टिभेनम दिइन्छ । जस्तै गोमन सर्पले टोकेको छ भने गोमन सर्पकै मोनोभ्यालेन्ट एन्टिभेनम दिइन्छ, जुन नेपालमा प्रयोगमा छैन ।

कहाँबाट ल्याइन्छ ?

यो भारतबाट आयात गरिन्छ । किनभने नेपालमा हालसम्म एन्टिभेनम औषधिको उत्पादन हुँदैन । नेपालमा पाइने एन्टिभेनममा कमन कोब्रो, कमन करेत, रसेल्स भाइपर र सस्केल भाइपर (जुन नेपालमा पाइँदैन) यी चारवटा सर्पको विष मिसाएर पोलोभ्यालेन्ट हुन्छ ।

सर्पले टोकेको कति समयमा दिइन्छ एन्टिभेनम ?

सर्पले टोक्ने बित्तिकै एन्टिभेनम औषधि लगाइहाल्नुपर्दैन । किनभने शरीरमा सर्पको विष नभएको अवस्थामा यसले उल्टो असर गर्न सक्छ । त्यसैले सर्पले टोकेपछि लक्षण देखापरेमा मात्र पोलोभ्यालेन्ट एन्टिभेनम लगाइन्छ । किनभने सर्पअनुसार लक्षण ढिलो चाँडो देखिन्छ । जस्तै- गोमनले टोकेमा चाँडै लक्षण देखिन्छ भने करेत सर्पले टोक्दा ढिलो लक्षण देखापर्छ ।

कति भाइल दिनुपर्छ ?

बिरामीको स्वास्थ्य अवस्थाअनुसार पोलोभ्यालेन्ट एन्टिभेनलको भाइल फरक-फरक हुन्छ । चिकित्सकको जाँच गरिसकेपछि बिरामीको आवश्यकताअनुरुप कसैलाई दुईवटा भाइल दिंदा नै निको हुन्छ भने औसतमा कसैलाई ३० भाइलसम्म पनि दिनुपर्ने हुन्छ । शरीरमा विषले असर कति छ त्यसमा भर पर्छ ।

सर्पले टोकेमा के गर्ने ?

सबैभन्दा पहिला सर्पले टोकेको थाहा पाउने बित्तिकै छिटोभन्दा छिटो अस्पताल लैजानुपर्छ । अस्पताल नजाउन्जेलसम्म सर्पले टोकेको ठाउँमा धारा वा सफा बग्ने पानीले धुने, कसिलो कपडा लगाएको भएमा खुकुलो बनाउने र सर्पले टोकेको ठाउँमा लगाउने पीआईबी (प्रेसर इमुलाइजेसन ब्यान्डेजिङ) नामको ब्यान्डेज लगाउन सकिन्छ, जसले घाउलाई छोप्न र नहल्लाउन सहयोग गर्छ ।

सर्पले टोक्नासाथ के नगर्ने ?

गाउँघरमा अहिले पनि सर्पले टोक्ने बित्तिकै टोकेको ठाउँमा कपडाले कसिएर नबाँध्ने, सर्पले टोकेको ठाउँमा मुखले चुसेर विष ननिकाल्ने, धारिलो चीजले काटेर विष मिसिएको रगत फाल्ने जस्ता काम गर्नु हुँदैन । धामीझाँक्रीसँग उपचार लगाएर समय खेर फाल्नु हुँदैन । टोकेको भागमा मलम वा माटो राख्ने गर्नुपर्छ भन्ने बुझाइ एकदमै गलत हो । यसले फाइदाभन्दा पनि हानि पुर्‍याउँछ । सर्पले टोकेमा यसको खास प्राथमिक उपचार नै छैन ।

कुनकुन ठाउँमा उपचार हुन्छ ?

सरकारी निकायबाट निःशुल्क रुपमा उपचार हुँदै आएको छ । लगभग एक सय सर्पदंश केन्द्रबाट उपचार हुँदै आएको छ । नेपालका सबै अस्पताल र स्वास्थ्य केन्द्रमा सर्पदंशको उपचार हुँदैन । मुख्य अस्पताल, केही निजी अस्पतालमा यसको उपचार हुन्छ भने सेनाले पनि ठाउँठाउँमा आफ्नो ब्यारेकमा सर्पदंश उपचार केन्द्र सञ्चालनमा ल्याएको छ । सर्पले टोकेपछि एन्टिस्नेक भेनम औषधि लगाइदिने गरिन्छ, जुन सरकारी अस्पतालमा निःशुल्क पाइन्छ ।

सर्पदंशको उपचार गर्दा कुनै स्वास्थ्यकर्मीलाई नै कुनै अन्योल भएमा ०१–४५०२०११ मा फोन गरेर सहयोग लिन सकिन्छ । त्रिवि शिक्षण अस्पतालमा स्थापना गरिएको यो सूचना केन्द्रले २४ सै घण्टा आवश्यक सूचना उपलब्ध गराउँछ ।

सर्पको टोकाइबाट कसरी बच्ने ?

सर्पको टोकाइबाट बच्न बाहिर हिंड्दा बाहुला भएको लुगा लगाउने, गाउँघरमा शौचालय प्रायजसो घरबाहिर हुने भएका कारण टर्चलाइट बालेर जाने, घरवरिपरि मुसाको दुलो छ भने टाल्ने गर्नुपर्छ । यसैगरी भुईंमा नसुती खाटमा सुत्ने, खाटमा झुल लगाएर सुत्ने, घरआँगन सफासुग्घर राख्ने, घरमा लिपपोत गर्दा वा घाँस दाउरा गर्दा बुट वा हातमा पञ्जा लगाएर गर्दा सर्पको टोकाइबाट बच्न सकिन्छ ।

अध्ययनअनुसन्धानले के भन्छन् ?

नेपालमा वार्षिक २० हजार मानिसलाई सर्पले टोक्ने गरेको पाइएको त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल अन्तर्गतको विष सूचना केन्द्रको परियोजना तथ्यांकले देखाएको छ । जसअनुसार वार्षिक करिब एक हजार जनाले सर्पदंशका कारण ज्यान गुमाउँछन् ।

सर्पले मान्छे बचाउँछ ?

विश्व स्वास्थ्य संगठनले सिफारिस गरेका कतिपय अचूक औषधि सर्पबाट बन्छन् । क्यान्सरको बिरामीको दुखाइ कम गर्ने औषधि सर्पको विषबाट बन्छ । बीबीसीको एक रिपोर्टअनुसार गोमन सर्पको विषबाट कोब्रोक्सिन भन्ने औषधि बनेको छ । साथै सर्पको विषबाट हैजा नियन्त्रण गर्ने औषधि बनाइन्छ ।

सर्पले किन टोक्छ ?

सर्पले आफ्नो प्राण बचाउनका लागि मान्छेलाई डस्छ । अनलाइन खबरबाट

२०८१ जेष्ठ २७, आईतवार प्रकाशित 1 Minute 91 Views

ताजा समाचार