२०८१ मंसिर २५ मंगलवार

आर्थिक उपलब्धि नहुने देखिएको दमक भ्यु टावर !

झापा । नेपालमा पहाडका थुम्कादेखि तराईका समथर भूमिमा विकासको नाममा अग्ला भ्यु टावरले भरिएका छन् । तत्कालीन केपी शर्मा ओलीले नेतृत्व गरेको सरकारले यस्ता भ्यु टावर निर्माणमा जोड दिएको थियो । त्यसको उदाहरणमा दमक भ्यु टावर एक थियो ।
त्यसपछि संघीय सरकार मात्र नभएर, प्रदेश सरकार र स्थानीय सरकारहरू पनि कंक्रिट टावर निर्माणमा गर्न लागि परे । लाखौँ-करोडौँको बजेट छुट्टाउने र अग्ला भ्यु टावर ठड्याउने एक प्रकारको होडबाजी नै चल्यो । तत्कालीन एमाले-माओवादी एकतापछि बनेको सरकारले खर्चिला भ्यु टावर निर्माण गर्ने र मुलुकलाई आर्थिक भार पार्ने काम मात्रै भएको तर उपलब्धि भने हुन सकेको छैन ।

‘नेकपा सरकारको पालामा यस्ता भ्यु टावरहरू निर्माण भएको पाउँछांै’, आवास तथा भौतिक योजना मन्त्रालयका एक इन्जिनियरले भने । अहिले निर्माण भइसकेको र सञ्चालनमा आउने तयारी रहेको दमक भ्यु टावरको व्यापारिक प्रतिफलको सुनिश्चित नरहेको सहरी विकास मन्त्रालयका अर्का एक इन्जिनियरको दाबी छ । ‘यसको व्यापारिक प्रतिफलको कुनै सुनिश्चितता छैन,’ ती इन्जिनियरले भने ।

सरकारको बजेट खर्च गर्ने सही संयन्त्र नभएपछि पछिल्लो समय भ्यु टावरजस्ता अनावश्यक क्षेत्रमा प्रतिस्पर्धात्मक रूपमा अन्धाधुन्ध लगानी गरेर आर्थिक रूपमा मुलुकलाई व्ययभार थपिरहेको छ । दमक पनि यसकै उदाहरण रहेको सहरी विकास मन्त्रालयका ती इन्जिनियरको दाबी छ ।

नेपालकै अग्लो भवनको रूपमा दाबी गरिएको दमक भ्यूटावरको निर्माण कार्य सम्पन्न भइसकेको छ । नेकपा सरकारको पालामा भ्यु टावरको नाममा मुलुकको अरबौँ रुपैयाँ नोक्सानी बेहोरेको गुनासो बढिरहेका बेला भर्खरै मात्र दमक भ्यु टावरको निर्माण कार्य सम्पन्न भएको हो । दुई अर्ब बढी रुपैयाँ खर्च गरेको बनाइएको दमकको बिजनेस टावर निर्माण सम्पन्न भए पनि त्यसको उपयोगिता हुन सकेको छैन । अब यसको उद्घाटन गर्न मात्रै बाँकी छ । उद्घाटन हुनै लाग्दा पनि बिजनेस टावरलाई व्यावसायिक प्रयोजनका लागि उपयोग गर्न कसैले चासो देखाएका छैनन् । यसबाट उद्घाटनपछि पनि बिजनेस टावर रित्तै भएको प्रस्ट देखिएको छ ।

केपी ओली प्रधानमन्त्री हुँदा दमकमा सय मिटर अग्लो १८ तले भ्यु टावर निर्माणका लागि २७ असार ०७६ मा ठेक्का लाग्यो । २७ पुस ०७८ मा सक्ने गरी चिनियाँ कम्पनी जेडसिजिआइइसी, आशिष र ओम साइराम जेभीले एक अर्ब ५६ करोड १४ लाख ३९ हजार एक सय ६४ रुपैयाँमा ठेक्का लिएका थिए । हाल यो योजनाको लागत बढेर एक अर्ब ७० करोड पुगेको छ ।

आगलागीसम्बन्धी सुरक्षाका काम थपिँदा यसको लागत पनि वृद्धि भएको थियो । भ्यु टावर निर्माणको काम समयमा नसकिएपछि दुई पटक म्याद थपिएको थियो । दमक नगरपालिका-३ ढुकुरपानीमा निर्माण भएको भ्यु टावर अहिले ‘टावर’ मात्रै छ । त्यहाँ कुनै व्यापारिक योजना समेत बनेको छैन । कुल पाँच बिघा जमिनमा फैलिएको टावर १८ तलाको रहेको छ । टावरको भुईँ तलामा पार्किङ रहेका छन् ।

भुईँ तलादेखि तेस्रो तलासम्म पसलहरूका लागि छुट्टाइको भए अहिले शून्य छ । चौथोदेखि नवौँ तलासम्म कर्पोरेट कार्यालय रहने र दसौँदेखि तेह्र तलासम्म ग्यालरी र प्रदर्शनी हल रहने गरी निर्माण गरिएको छ । टावरको १४ औँ र १५ औँ तलामा रेस्टुरेन्ट र क्याफे रहँदा १६ औँ र १७ औँ तला भने दृश्य अवलोकनको लागि छुट्टाइएको छ । त्योभन्दा माथि २८ मिटरको टावर रहेको छ ।

‘नयाँ दमक’ नाम दिइएको यो परियोजना नगरपालिका र स्थानीयको सहकार्यमा बन्ने भनिए पनि अहिलेसम्म स्थानीय सरकारसँग सहकार्यका लागि प्रस्ताव पनि गरिएको छैन । जसमा स्थानीयले जग्गा उपलब्ध गराउने र नगरपालिकाले सडक, खानेपानी, ढल, बगैँचा, स्वास्थ्य चौकीलगायत पूर्वाधार निर्माण गर्ने भन्ने उल्लेख छ ।

स्रोतका अनुसार २०८० फागुन १४ गते तत्कालीन सहरी विकास मन्त्री सीता गुरुङले बिजनेस टावरको उद्घाटन गर्ने तयारी गरेकी थिइन् । यसको लागि मन्त्रालयले निमन्त्रणा कार्डसमेत छपाइसकेको थियो । त्यतिबेला टावरको काम ९५ प्रतिशत मात्र पूरा थियो । तर, यसको उपयोगिताबारे प्रश्न उठेपछि उद्घाटन हुनबाट रोकिएको थियो । साथै, बिजनेस टावरको काम नसकिँदै उद्घाटन गर्न हतार भएको भन्दै विरोध भएको थियो ।

झापा ओलीको गृह जिल्ला हो । यो उनको ‘ड्रिम प्रोजेक्ट’ पनि हो । यसको उद्घाटनपछि टावरको सञ्चालन र व्यवस्थापनको जिम्मा कसले लिन्छ भन्ने अझै टुंगो लागेको छैन । मन्त्रालयका अनुसार अहिले पनि टावर निर्माण गरेको कम्पनीलाई १७ करोड रुपैयाँको हाराहारीमा भुक्तानी गर्न बाँकी छ । समयमा काम नसकिएपछि पहिलो पटक ०७८ पुसबाट ०७९ असार मसान्तसम्म म्याद थपिएको थियो ।

त्यसपछि गत असारबाट ०८० असार मसान्तसम्मलाई म्याद थपिएको थियो । अहिले निर्माण कम्पनीहरूले यसको पूरा पैसा पाइसकेका छैनन् । टावरको ठेक्का चिनियाँ कम्पनी तेडिआइ फिजेदले पाएको थियो भने ओम साइराम र आशिष कन्स्ट्रक्सन त्यसका नेपाली साझेदार हो ।
सहरी विकास मन्त्रालयका सचिव मनिराम गेलालले दमक बिजनेस टावरको सबै काम पूरा भइसकेको बताएका छन् । बिजनेस टावर बनाइरहेको ठेकेदार कम्पनीले पनि काम सकिएको दाबी गरेको छ ।

तर महालेखापरीक्षकको ६०औँ प्रतिवेदनले सय मिटर अग्लो भ्यु टावर सञ्चालनको कार्यविधि र त्यसबाट त्यसबाट प्राप्त हुने प्रतिफलको सुनिश्चितताबारे अध्ययन नै नभएको ठहर गरेको थियो । माग तथा आवश्यकता पहिचानका आधारमा लगानीको प्रतिफल सुनिश्चित हुने गरी यस्ता आयोजना सञ्चालन गर्नुपर्ने महालेखाले सुझाव दिएको छ । यो पक्षलाई पनि बेवास्ता गरी भ्यु टावर निर्माण सम्पन्न गरिएको छ ।
भ्यु टावर पहिले नै निर्माण सम्पन्न भइसकेको छ र उद्घाटनको प्रतीक्षामा रहे पनि तर कुनै पनि सरोकारवालाले व्यावसायिक टावरलाई व्यावसायिक प्रयोजनका लागि प्रयोग गर्न कुनै चासो देखाएका छैनन् ।

हालसम्म १८ तलाको भवनको एउटा पनि व्यावसायिक प्रयोजनका लागि बुकिङ गरिएको छैन । बिजनेस टावर दमकमा स्थापित मार्गबाट करिब ६ किलोमिटर पश्चिममा रहेको हुनाले टावरबाट व्यवसाय सञ्चालन र व्यवस्थापन गर्न महँगो पर्ने भएको छ ।

साथै, बजारीकरण सहरीकरणमा समेत व्यवस्थित भई नसकेका र छिमेकी मुलुकबाट आउने पर्यटकहरूका लागि पनि कोल्टो पर्ने भएकाले यसको निर्माण स्थानको छनोटमै कमजोरी रहेको बताइएको छ । यसबाहेक, त्यहाँ सपिङ मल, जिम मल, अस्पताल वा ब्युटीपार्लर बने पनि छिट्टै नाफा कमाउने सम्भावना कम हुने भएकाले व्यापारिक प्रयोजनका लागि व्यापारिक समुदायले पनि चासो राखेका छैनन् ।

यसका साथै सबैभन्दा गम्भीर विषय भनेको केपी ओली र नेकपा एमालेले नेकपा एमालेको विरोध गर्दै आएका जनजाति पहिचान पक्षका नेताहरूको गतिविधि र फोन अनुगमनका लागि चिनियाँ प्राविधिक कम्पनीको सहयोगी उपकरण जडान गर्न चाहेको आशंका रहेको छ । यो भवन पनि चिनियाँ कम्पनीले निर्माण ठेक्का पाएको हुनाले पनि आफ्नो उपकरण जडानका लागि जोड गरेको आशंका गरिएको छ । -हाम्रा कुराबाट

२०८१ जेष्ठ ३, बिहीबार प्रकाशित 1 Minute 448 Views

ताजा समाचार