कोसी प्रदेशका मुख्यमन्त्री हिक्मत कार्कीले सोमबार विश्वासको मत लिने भएका छन्।
आइतबार बसेको कार्यव्यवस्था तथा परामर्श समितिको बैठकमा नेपाली कांग्रेसले कोसी सरकारको विवाद सर्वोच्च अदालतमा विचारधीन रहेको कारण देखाउँदै मुख्यमन्त्रीलाई तत्काल विश्वासको मत नलिन आग्रह गरेको थियो।
तर नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र) ले कांग्रेसको प्रस्ताव अस्वीकार गर्दै सोमबार मुख्यमन्त्रीले विश्वास मतको प्रस्ताव पेस गर्ने कार्यसूची राख्नुपर्ने अडान लिएका छन्।
दलहरूबीच कुरा नमिल्दा कार्यसूची तय गर्न बसेको बैठक विनानिष्कर्ष सकिएको छ। तर सत्ता पक्षले सोमबार नै मुख्यमन्त्रीले विश्वास मतको प्रस्ताव राख्ने तयारी गरेको देखिएको नेपाली कांग्रेस केसीका प्रमुख सचेतक गोपाल तामाङले बताए।
‘हामीले अदालतमा विचारधीन भएको मुद्दा भएकाले केही दिन पर सारूम भन्यौं। उहाँहरूले अस्वीकार गरेपछि विनानिकर्ष सकिएको हो,’ उनले भने।
उनका अनुसार सोमबार बिहान ८ बजे कांग्रेस संसद दलको बैठक बस्दैछ। त्यसपछि आधिकारीक धारणा बनाउने छ।
कार्की वैशाख २७ गते तेस्रो पटक मुख्यमन्त्री बनेका थिए।
उनी प्रदेश सभाको दोस्रो कार्यकालको १६ महिनाका बीचमा कार्की तेस्रो पटक कोशीको मुख्यमन्त्री बनेका हुन्।
प्रदेश प्रमुख परशुराम खापुङ्गले कार्कीलाई संविधानको धारा १६८ को उपधारा ५ बमोजिम गत बिहीबार मुख्यमन्त्री पदमा नियुक्त गरेका थिए।
प्रदेश संसदको एकै कार्यकालमा संविधानका तीन वटा धाराबाट मुख्यमन्त्री बनेको उपलब्धि साँच्न पाएका कार्की पहिलो पटक संविधानको धारा १६८ को उपधारा २ अनुसार सरकार प्रमुख बनेका थिए।
दोस्रो पटक सोही धाराको उपधारा ३ अनुसार मुख्यमन्त्री बनेका उनी यसपटक उपधारा ५ अनुसार सत्तामा फर्किएका थिए। सेतोपाटी