२०८१ कार्तिक २४ शनिबार

सेतो बाकसमा सपना बोकेकी राधाको शव

काठमाडौँ । सम्पत्ति कमाएर ल्याउने सपनामा बोकेर बिदेसिएका राधा न्यौपानेको शव सेतो बाकसमा आउँदा परिवार शोकमा डुबेको छ । घरपरिवारलाई सुखसुविधा दिन कमाउन गएकी चेली बाकसमा फर्किंदा परिवारमा सन्नाटा छाएको छ ।

सम्पत्ति कमाउने र परिवारलाई सुखसयलका साथ पाल्ने सपनामा यूएई गएकी अर्घाखाँचीकी न्यौपाने सेतो बाकसमा फर्किएकी छन् ।

वैदेशिक रोजगारीको सिलसिलामा केही महिनादेखि यूएईको आजमान सहरको ब्युटीपार्लर कम्पनीमा काम गर्दै आएकी न्यौपानेको गत ७ अप्रिलमा असामयिक निधन भएको थियो ।

मणिराम गैरे, गीता गैरे, सुशीला घिमिरे र जीवन पौडेलले मृतकको शव नेपाल पठाउन आवश्यक मात्रामा आर्थिक संकलन नभएको र अपुग रकमसहित कानुनी प्रक्रिया मिलाइदिन आग्रहसहितको निवेदन नेपाल एसोसिएसन–एनआरएनए एनसीसी यूएईका अध्यक्ष विकास शाहीलाई अनुरोध गरेपछि मृतकको शव नेपाल पठाउने प्रक्रिया अगाडि बढाइएको थियो ।

मृतक नेपालदेखि यूएई आउँदा भिजिट भिसामा आएको र पछि सो कम्पनीको काममा लागेको तर श्रम नभएको देखिन र बुझिन आएको एनआरएनए यूएईले जनाएको छ । उक्त शव सबै कानुनी प्रक्रिया पूरा गरेर बिहीबार नेपाल पठाइएको हो ।

श्रम स्वीकृत नगरी आएको, निजको शव नेपाल पठाउन सम्पूर्ण कानुनी प्रक्रिया तथा खर्च व्यवस्थापन मृतकका आफन्त, कामप्रदायक कम्पनी तथा शुभचिन्तक र नेपाल एसोसिएसन–एनआरएनए एनसीसी यूएईले संयुक्त रूपमा व्यवस्थापन गरिएको जनाएको छ ।

उनी त एक प्रतिनिधि पात्र मात्र हुन् । हरेक दिन विदेश एक न एक नेपालीको मृत्यु हुने गरेको छ । अनेक सपना बोकेर दिनहुँ सयौं नेपाली बिदेसिने गरेका छन् कतिको सपना आंशिक वा पूर्णरूपमा पूरा पनि हुन्छ । तर, कतिका सपना रातो बाकसमै बन्द भएर फिर्ता हुन्छन् । युवाले विदेशमा कमाएर पठाएको विप्रेषणले देशको झन्डै एकतिहाइ अर्थतन्त्र धानेको छ ।

तर, कमाउन गएका युवाशक्ति विदेशमा कामकै क्रममा विभिन्न कारणले मृत्यु भएर बन्द बाकसमा फर्किंदा देश, समाज, उनीहरूका आफन्तमा भएको क्षति’bout खोइ मूल्यांकन ? धन कमाएर परिवारलाई खुसी दिने आसमा परदेसिएका धेरै नेपाली परिबन्धमा परी विदेशी भूमिमै मृत्युवरण गर्न बाध्य छन् । धन कमाउन विदेशमा जहाजमा उडेका धेरै नेपाली यसरी नै बाकसमा फर्कने गरेका छन् ।

गाउँघरमा ऋण खोजी, भएका जग्गा धितो राखेर विदेश पुगेका नेपाली यसरी शवका रूपमा विदेशबाट फर्कने वातावरण रोक्न सरकारले पनि अब नयाँ कदम चाल्नुपर्छ । विदेशमा ज्यान गुमाउने नेपालीको संख्या दिनानुदिन बढ्दो छ ।

विदेशमा नेपाली नागरिकको अकस्मात निधन भएमा त्यो शव स्वदेशसम्म पु¥याउने जिम्मा राज्यको हो, चन्दा उठाउने विषय हुँदै होइन । यस्ता घटनामा राज्य गम्भीर हुनुपर्छ । विदेशमा काम गर्ने क्रममा ज्यान गुमाउने श्रमिकको संख्या बर्सेनि बढिरहेको देखिएको छ । पछिल्लो आठ महिनामा १ हजार २ सय ५५ युवाले विदेशी भूमिमा ज्यान गुमाउनुपरेको देखिएको छ ।

अवैध बाटो हुँदै खाडीका विभिन्न मुलुकमा पुग्ने कामदारसँग श्रम स्वीकृति भने हुँदैन । त्यहाँ मृत्यु वा बिरामी परेको खण्डमा त्यहाँ रहेका सम्बन्धित नेपाली दूतावासले पनि शव नेपाल पठाउन लाग्ने खर्च नबेहोर्ने हुँदा धेरैको शव अलपत्र पर्ने गरेको छ । कतिको शव स्वदेश फर्काउन आर्थिक अभाव हुँदा विदेशमै अन्तिम संस्कार गर्ने गरिएको छ । पछिल्लो समय बिदेशमा मृत्यु भएर शव अलपत्र परेपछि एनआरएनए र सामाजिक अभियन्ताले खर्चको जोहो गरेर शव नेपाल पठाउँदै आएका छन् ।आजको राजधानी दैनिकमा खबर छ ।

२०८१ बैशाख ३०, आईतवार प्रकाशित 1 Minute 179 Views

ताजा समाचार