पूर्व–पश्चिम एसियन राजमार्ग निर्माणका क्रममा सडक दुर्घटना बढ्न सक्ने भन्दै विपद्जन्य घटना न्यूनीकरणका लागि छुट्टै कार्ययोजना बनाएर अघि बढ्न ट्राफिक प्रहरीलाई निर्देशन दिइएको छ ।
जिल्ला प्रशासन कार्यालय झापामा बसेको जिल्ला विपद् व्यवस्थापन समितिको बैठकले काँकडभिट्टा– लौकही सडक खण्डको (पूर्वी खण्ड) निर्माणका क्रममा विपद्जन्य घटना हुन सक्ने भन्दै त्यसलाई न्यूनीकरणका लागि निर्माण व्यवसायीसँग समन्वय गरी काम गर्न जिल्ला ट्राफिक प्रहरी कार्यालय झापालाई निर्देशन दिइएको हो ।
सडक निर्माणका क्रममा कल्भर्ट, पुल लगायतका संरचना निर्माण गर्दा मनसुन याममा पानीको प्रवाह रोकिन सक्ने र विपद्जन्य घटना हुन सक्ने भएकाले त्यसलाई रोक्न छुट्टै कार्ययोजना बनाई काम गर्न निर्देशन दिइएको झापाका प्रमुख जिल्ला अधिकारी बन्धुप्रसाद बास्तोलाले जानकारी दिए । उनले सडक निर्माणका क्रममा हुन सक्ने सवारी दुर्घटना न्यूनीकरण र मनसुनका कारण पानीको बहाव बढेर हुन सक्ने दुर्घटना न्यूनीकरण लागि पहल गर्न ट्राफिक प्रहरीलाई निर्देशन दिइएको हो । सडकको चौडाइका लागि माटो भर्ने र कल्भर्ट बनाउने काम धमाधम भइरहेको छ भने सडक किनारमा रहेका चार हजार सात सय ३० रुखमध्ये अधिकांश रुख कटान गरिसकिएको छ ।
काँकडभिट्टा–लौकहीसम्मको ९६ किलोमिटर सडक निर्माण पूर्वी र पश्चिम खण्ड गरी दुई भागमा विभाजन गरेर काम भइरहेको छ । जस अन्तरगत एसियाली विकास बैंकको सहयोगमा निर्माण सुरु भएको काँकडभिट्टादेखि केर्खासम्मको सडक करिब रु १० अर्बको लगानीमा सम्पन्न हुने गरी ठेक्का सम्झौता गरिएको योजना प्रमुख पन्तले बताउनुभयो । पूर्वी खण्डको ठेक्का एभ्रासकन कालीका जेभीले लिएको छ ।
तीन वर्षमा सम्पन्न गर्ने लक्ष्यका साथ निर्माण सुरु भएको सडक अन्तर्राष्ट्रिय मापदण्डको हुनेछ । काँकडभिट्टा–लौकहीसम्मको ९६ किलोमिटर सडक निर्माण पूर्वी र पश्चिम खण्ड गरी दुई भागमा विभाजन गरेर काम भइरहेको छ ।
जिल्ला विपद् व्यवस्थापन समितिका संयोजक बन्धुप्रसाद बास्तोलाको अध्यक्षतामा बसेको बैठकले यो सँगै अन्य आठ वटा निर्णय गरेको छ । जसमा मनसुनको पूर्व तयारी तथा प्रतिकार्य योजना २०८१ स्वीकृतदेखि मेचीनगर १४ मा खाली रहेको कोभिड होल्डिङ सेन्टरलाई अत्यावश्यक समयमा विपद् सेन्टरका रुपमा उपयोगमा ल्याउने निर्णय गरेको हो ।