२०८१ जेष्ठ ८ मंगलवार

इलामको सन्दकपुरमा बोलेरो दुर्घटना, सहचालकको मृत्यु

इलामको सन्दकपुर गाउँपालिका-५ जमुनामा गएराति भएको बोलेरो दुर्घटनामा सहचालकको मृत्यु भएको छ ।  राति १०.४५ बजेको समयमा सन्दकपुर- ५ सापकोटा गाउँस्थित भित्री कच्ची सडक खण्डमा बिप्ल्याटेबाट जमुनातर्फ जाँदै गरेको प्र-१ –०३–००१ च ००६९ नम्बरको ४ वटा गोरु लोड गरेको बोलेरो पिकअप गोलाइ मोड्ने क्रममा आफै अनियन्त्रित भई बाटोदेखि अन्दाजी ६० मिटर तल खसेर दुर्घटना भएको हो ।

दुर्घटनामा गाडीका सहचालक इलाम नगरपालिका ५ बस्ने अन्दाजी २२ वर्षका तोया घिमिरेको मृत्यु भएको हो । इलाम अस्पतालबाट थप उपचारको लागि झापा ल्याउने क्रममा बिहान २ बजे उनको बाटोमा नै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय इलामका प्रवक्ता डीएसपी प्रकाश जवेगूले बताए । मृतकको शव जिल्ला अस्पताल इलाममा राखिएको छ ।

दुर्घटनामा गाडी चालक इलाम ४ बस्ने २० वर्षीय अभिषेक तिवारी घाइते भएका छन् । ढाड र घुँडामा चोट लागेका तिवारीको अवस्था सामान्य रहेको छ । गाडी तत्काल घटनास्थलमा नै रहेको र गोरुहरू सकुशल रहेको डीएसपी जवेगूले जानकारी दिए ।

२०८१ बैशाख २८, शुक्रबार प्रकाशित 1 Minute 228 Views

ताजा समाचार