२०८१ जेष्ठ ४ शुक्रबार

‘बोक्सीको घर’ले ६ दिनमा कमायो साढे ५ करोड

काठमाडौं । फिल्म ‘बोक्सीको घर’ घरेलु बक्स अफिसमा सुपरहिट बनेको छ । बिहीबार पत्रकार सम्मेलन गर्दै निर्माताले कमाइ सार्वजनिक गरेका छन् ।

फिल्मले ६ दिनसम्म देशव्यापी ५ करोड ४५ लाख रुपैयाँ ग्रस कमाइ गरेको छ । कुल कमाइमध्ये काठमाडौं उपत्यकामा २ करोड ७१ लाख ग्रस र उपत्यकाबाहिरका सहरमा २ करोड ७४ लाख ग्रसको हिस्सा छ ।

मुलुकका ८७ हलबाट फिल्मले उक्त कमाइ गरेको वितरकद्वय डीसीएन र टी–फोकले पत्रकार सम्मेलनमा जानकारी दिए । फिल्मको कुल कलेक्सनमा काठमाडौं उपत्यका भन्दा बाहिरका सहरको हिस्सा केही बढी छ ।

वितरक अशोक शर्माले फिल्मले पहिलो साता (सात दिन)मा ६ करोडको आँकडा छुने बताए । मजदुर दिवसको बिदाको दिनमा मात्र फिल्मले देशव्यापी एक करोड ६० लाख ग्रस कमाएको उनले जनाए । उनका अनुसार यसअघि काठमाडौं र उपत्यकाबाहिरको कमाइमा ४०-५०/५०-६० को अनुपात हुने भएपनि यसपटक दुवैतिर समान व्यापार देखिएको हो ।

अर्का वितरक प्रचण्डमान श्रेष्ठले पारिवारक दर्शक र ग्रामीण कथावस्तु भएकाले उपत्यकाबाहिरका हलमा व्यापार बढी देखिएको बताए । वितरक शर्माका अनुसार फिल्मको ९० प्रतिशत दर्शक महिला छन् ।

‘जुन फिल्ममा महिला दर्शक बढी हुन्छन् । त्यो फिल्म तत्काल उत्रिने सम्भावना कम हुन्छ । यस्तो फिल्म लामो समय जान्छ,’ आफ्नो फिल्म करिअरको अनुभव सुनाउँदै शर्माले भने, ‘यो प्रवृत्ति बोक्सीको घरमा देखिएको छ ।’

उनले भिन्न जनराका फिल्म बन्न जरुरी रहेको भन्दै यस्ता खाले विविध फिल्मले दर्शकलाई तान्न सक्ने बताए । निर्माताले आफैं टिकट किनेको हुनसक्ने भन्ने आरोपको खण्डन गर्दै शर्माले एक रुपैयाँको पनि टिकट नकिनेको बताए ।

काठमाडौंमा भन्दा मोफसलमा व्यापार वृद्धि भएको सन्दर्भमा वितरक शर्माले बजार बिस्तारको नयाँ संकेतको रुपमा आफूले यसलाई हेरेको बताए । ‘काठमाडौंमा अब बजार बिस्तार हुने ठाउँ छैन । बाहिर बिस्तार हुने क्रम जारी छ । कावासोतीजस्ता सानो बजारमा पनि राम्रो कमाइ भएको छ,’ उनले भने ।

‘बोक्सीको घर’ एक करोड भन्दा कम लागतमा निर्माण भएको निर्माताले जानकारी दिए ।

बोक्सीको घर अर्को सातादेखि अन्तर्राष्ट्रिय बजारमा

स्वदेशमा उछाल कमाइ गरिरहेको केकी अधिकारी स्टारर यो फिल्मको अन्तर्राष्ट्रिय प्रदर्शन अर्को सातादेखि सुरु हुने भएको छ । वितरक प्रचण्डमान श्रेष्ठका अनुसार अहिलेसम्म तय भएका देशको राइट बिक्रीमार्फत ६७ लाख रुपैयाँ नेट कमाइ भएको छ ।

उनका अनुसार अस्ट्रेलियामा बुधबारदेखि नै रिलिज सुरु भएको छ । अमेरिकामा ५ मेदेखि प्रदर्शन हुँदैछ । युरोपमा आउने सातादेखि चल्ने जनाइएको छ । भारत र मध्यपूर्वमा पनि तय भइसकेको जनाइएको छ ।

रिलिजअघि फिल्मको राइट किन्न हच्किएका डायस्पोराका वितरक स्वदेशमा राम्रो कमाई गरेपछि भने फिल्म किन्न हौसिएका देखिन्छन् ।

२०८१ बैशाख २०, बिहीबार प्रकाशित 1 Minute 100 Views

ताजा समाचार