चिरञ्जीवी नेपाल
शारीरिक तथा मानसिक वृद्धि विकासका दृष्टिले युवा उमेरलाई अत्यन्तै महत्त्वपूर्ण रूपमा लिइन्छ। युवाहरू विचार विमर्श गर्न सक्षम हुन्छन्। देशको विकास तथा रुपान्तरणमा योगदान गर्ने दृष्टिकोणले युवा उमेर उत्तिकै महत्त्वपूर्ण हुन्छ।
युवा भनेका देशको विकास, समृद्धि तथा प्रगतिका संवाहक हुन्। युवामा समाज र देशका लागि केही गर्ने चाहना अधिक हुन्छ। नेपालको राष्ट्रिय विकासमा युवाको सहभागिता बढाउँदै सामाजिक, राजनीतिक र आर्थिक अधिकारको पूर्ण उपयोग गर्न वातावरण तयार गर्नु पर्ने हुन्छ। युवा वर्ग राजनीतिको मेरुदण्ड हो। मुलुकमा भएका आन्दोलन, व्यवस्था परिवर्तनका लागि भएका संघर्षमा युवाले भूमिका निर्णायक भूमिका खेलेका छन्। नेपालमा मात्रै होइन संसारका विकसित र सफल मुलुकलाई हेर्ने हो भने ती मुलुकका हरेक क्षेत्रमा युवाको महत्त्वपूर्ण भूमिका रहेको देखिन्छ।
नेपालको राजनीतिक वृत्तमा भने युवाको उपस्थिति र उनीहरूको गुणस्तरको दृष्टिकोणबाट असाध्यै निराशा पूर्ण छ। धेरैजसो पुराना राजनीतिक दलमा कार्यकर्ताको भिडमा युवाहरूको बाहुल्यता धेरै देखिन्छ। ठूला नेताका अघि पछि लाग्ने युवा नेतृत्व तहमा भने त्यतिको संख्यामा पुग्न सकेका छैनन्।
एकातिर राजनीतिक दल खुला छैनन् भने अर्कोतिर दलीय संरचना निर्माणका लागि हस्तक्षेप गर्न सक्ने युवाको पनि कमी छ। राजनीतिक दल खुला हुँदा योग्य युवा उदाउने, नेतृत्वमा पुग्ने र अक्षमहरूलाई विस्थापित गर्ने बाटो खुल्छ। तर, आजको शीर्ष नेतृत्व यो जोखिम लिन तयार छैन। पार्टीमा स्थापित युवा समूह पनि यसका लागि तयार भएको देखिँदैन।
नेपालमा युवाले सहजै राजनीतिक नेतृत्व पाउँदैनन्। नेपाली समाजमा ‘युवाहरू नेतृत्व गर्न सक्दैनन्, अनुभव हुँदैन, अल्लारे हुन्छन्, भन्ने भाष्य लामो समयदेखि स्थापित छ। युवाले भविष्यको परिकल्पना गर्ने क्षमता राख्दैनन् भन्दै राजनीतिमा सक्षम युवालाई पनि नेतृत्वदायी भूमिका दिन हिच्किचाइन्छ।
युवालाई राजनीतिक नेतृत्वमा पुर्याउने भन्ने कहिकतै भाषणका क्रममा नेताहरू भन्ने गरेका छन्। त्यो दिन कहिले आएको छैन या भनौँ नेताहरूले नै युवाहरू देश नेतृत्व तहमा आउन भित्रैदेखि चाहिरहेका छैनन्। यस विषयमा गहन छलफल र विमर्श समेत हुँदैन।
युवा दिर्घकालीन रूपमा देशको भविष्यको खाका कोर्ने समूह हो। तर, नेपालका युवा राजनीतिक नेतृत्वमा नपुग्दासम्म देशको दीर्घकालीन भविष्यको खाका बन्ने सम्भावना कम रहन्छ। यसका लागि राज्यसत्ताको नेतृत्व गर्ने राजनीतिक दलको संगठनात्मक संरचनामा युवाको सशक्त प्रतिनिधित्व हुनुपर्छ। युवालाई राजनीतिमा संलग्न हुन अभिप्रेरित गरी नेतृत्वदायी भूमिकामा काम गर्न दिनु आजको समयको माग हो।
वास्तवमा युवा शक्ति कुनै पनि देशको राजनीतिक आर्थिक र सामाजिक परिवर्तनको संवाहक हो। यो समूह जनसङ्ख्याको सर्वाधिक सक्रिय, ऊर्जावान् र गतिशील समूहमा पर्दछ। युवा राष्ट्रिय विकासका प्रमुख मानव स्रोतसाधन भएकोले युवाको हरेक क्षेत्रमा सक्रिय संलग्नता नभई देशको विकास असम्भव छ।
राजनीतिमा सक्षम युवा पुस्ताले नेतृत्व लिन जरुरी छ। युवा नेतृत्वमा पुग्नुअघि हाम्रा सामु केही महत्त्वपूर्ण प्रश्न खडा हुन्छन्। नेपाली राजनीतिमा युवाको संलग्नता कस्तो छ ? युवालाई राजनीतिक दलले पार्टीमा के कस्तो स्थान दिएका छन् ? युवालाई राजनीतिक स्वार्थको लागि मात्र प्रयोग त गरिएको छैन भन्ने बारे प्रश्न उब्जिरहन्छन्। राजनीतिक पार्टीमा युवाको नेतृत्वदायी भूमिकामा पहुँच बनाउन यी विषयमा छलफल गर्नु आवश्यक हुन्छ।
नेपालमा प्रमुख, पुराना र स्थापित राजनीति दलहरूले युवालाई किशोर अवस्थादेखि नै पार्टीको भात्तृसंगठन (विद्यार्थी संगठन)मा आबद्ध गरेको देखिन्छ। विद्यार्थीलाई नेतृत्व तहको एउटा इसारामा बन्द, हडताल, विरोध, धर्ना, तोडफोड जस्ता आन्दोलनमा समावेश गर्दै आएको इतिहास छ।
उनीहरूको शैक्षिक भविष्यको परवाह नै नगरी केबल राजनीतिक स्वार्थको लागि प्रयोग गरिएको दुःखद सत्य हामी समक्ष छर्लङ्ग छ। विद्यार्थी सङ्गठनलाई राजनीतिबाट टाढा राख्नु आवश्यक छ। तर, अधिकांश पार्टीले ज्ञान लिने दिने ठाउँलाई राजनीतिबाट टाढा राख्नु पर्दछ भन्ने सत्य मान्न बिल्कुलै तयार छैनन्।
विद्यार्थी आन्दोलन बिना कुनै पनि परिवर्तन सम्भव छैन भन्दै विद्यार्थीको भविष्यमाथि खेलबाड गर्ने क्रम निरन्तर छ। यस्तो जीवित इतिहासलाई हामीले मूकदर्शक भएर टुलुटुलु हेरिरहेका छौँ।
युवा अवस्थादेखि राजनीतिमा संलग्न भए पनि अहिलेको राजनीतिक परिपाटीमा नेतृत्वतहको जिम्मेवारी सम्हाल्न सक्षम हुँदाहुँदै एक सक्षमयुवाले लामो लाइनमा प्रतीक्षा गर्नु पर्ने हुन्छ। त्यसरी लाइनमा उभिएका ४० वर्ष मुनिका राजनीतिज्ञले नेतृत्व गर्ने अवसर पाउने सम्भावना अत्यन्तै न्यून हुन्छ।
युवा नेतृत्वका सन्दर्भमा अधिकांश पार्टीगत संरचनामा र राजनीतिक संस्कारमा नै समस्या देखिन्छ। पार्टीमा युवा नेता जन्माउने भन्दा पनि आफूले गरेको निर्णयमा सहीछाप लगाइदिने चाकरी गर्ने जमात बनाउन बढी रुचि राखेको देखिन्छ।
राजनीतिमा युवा अवस्थामा पदमा पुगेर योगदान गर्ने संरचना नै हामीले विकास गर्न सकेका छैनौँ। युवा भएर नेतृत्व तहमा अघि बढ्न कि त शीर्ष नेतृत्वको सन्तान हुनुपर्ने वा धेरै स्रोत–साधनखर्च गर्न सक्नु पर्ने अवस्था छ।
यो परिपाटीले गर्दा निष्ठावान् युवा राजनीतिमा आकर्षित छैनन्। हामी सजिलोसँग दाबी गर्न सक्छौँ। नेपालका पार्टीहरूको दलीय संरचना युवामैत्री छैन। युवाका बीचमा राजनीतिक बहस गराउने, राजनीतिक विकृतिबारे युवाका बीचमा खुलेर छलफल गर्ने, आफ्नो पार्टीका नेताका गलत कामका बारे खुलेर आलोचना गर्ने परीपटी बनाउने जस्ता विषयमा ध्यान दिएको छैन।
गलत प्रवृत्तिको अन्त्य गर्न नेताको अगाडि–पछाडि डुल्ने, चाकडी र चाप्लुसी गर्ने व्यक्तिहरूको सट्टा योग्यता, योगदान र क्षमताको आधारमा जिम्मेवारी र अवसर दिने परिपाटीको विकास गर्नु पर्ने आजको आवश्यकता छ। यसो गर्न सकिएमा मात्र युवाहरूको सहभागिताले सही अर्थमा सार्थकता पाउन सक्छ। समाजमा राजनीति र राजनीतिज्ञप्रति श्रद्धा एवं सम्मानको भाव जागृत हुन्छ। यस्तो सवालमा ध्यान नदिने हो भने राजनीतिमा युवालाई आकर्षित गर्ने त कुरा छाडौँ राजनीतिमा भएका सक्षम युवासमेत पलायन हुने देखिन्छ।
नेपालको राजनीतिक अस्थिरताका कारण धेरै युवा नेपालमा केही हुँदैन भन्दै विदेश पलायन भइरहेका छन्। अन्य क्षेत्रमा केही गर्न नसक्ने कमजोर व्यक्तिले राजनीति गर्छन् भन्ने आम धारणा बनेको छ। पढेलेखेका, शिक्षित व्यक्ति राजनीतिमा लाग्नु हुँदैन बरु विभिन्न पेसामा संलग्न हुनुपर्छ भन्ने समाजको मान्यता अझै पनि छ। राजनीतिमा युवालाई निरुत्साहित गर्ने यस्ता धारणा एकदम दुःखद छन्।
देश चलाउने समाजको नेतृत्वगर्ने, नीति–निर्माण गर्ने व्यक्ति पक्कै पनि शिक्षित, सक्षम र अब्बल हुनुपर्छ। योग्य र सक्षम व्यक्ति राजनीतिमा नहोमिएसम्म देशको रूपान्तरण सम्भव देखिँदैन। अग्रपंक्तिका नेता नै सक्षम युवा आएर स्थान ओगट्ने हुन की भन्ने चिन्ता पालेर बसेका छन्। यो डर र त्रासबाट पाका नेताहरू मुक्त हुन जरुरी छ। यस्तो राजनीतिक माहौलमा राजनीतिक पार्टीमा युवा सहभागिता वृद्धि गर्न र नेतृत्वका निर्माणका लागि पार्टीले तत्काल केही महत्त्वपूर्ण कदम उठाउनु पर्ने देखिन्छ।
राजनीतिमा संलग्न सक्षम युवाले पनि केही महत्त्वपूर्ण कुरामा चिन्ता नगर्न जरुरी छ। गुट र उप–गुटको राजनीति भन्दामाथि उठेर अघि बढ्ने हिम्मत गर्न सक्नुपर्छ। आफू पदमा पुग्दा राम्रो काम गर्नको लागि आफूलाई निखार्ने क्रमलाई निरन्तरता दिनुपर्छ।
युवा नेतृत्वमाथि विश्वास गर्ने पाका नेताको साथ र सहयोगको लागि सधैँ स्वागत गर्ने क्षमताको विकास गर्नुपर्छ। पुराना नेताको भोगाइ र अनुभवबाट सिक्न कन्जुस्याइँ गर्नुहुँदैन। परिवर्तन सम्भव छ र नेपालको रूपान्तरण आफ्नै पालोमा हुन्छ भन्ने सकारात्मक सोचलाई मर्न दिनु हुँदैन।
संस्कृति, प्रकृति, जातीय विविधता, उच्च मन र असल सँस्कारमा धनी देश नेपाल अहिले आर्थिक रूपले जर्जर अवस्थामा पुगेको छ। यस्तो अवस्थामा समृद्धि प्राप्ति निकै गाह्रो छ। यसका मुख्य कारणमध्ये चरम भष्ट्राचार भएको छ।
यसको एउटा कारण राजनीतिक प्रणाली युवामैत्री हुन नसक्नु पनि हो। विश्व राजनीति र नेपालको राजनीतिलाई तुलना गर्दा विश्वका अरू देश विकास हुनुको कारण नै युवा जनशक्ति हो। अलेक्जेन्डर द ग्रेट वा विश्वविजेता सिकन्दर ईशापूर्व ३३६ मा मेसेडोनियामा जन्मेर २० वर्षमा नै ग्रीकका राजा भएको इतिहासलाई पनि बिर्सनु हुँदैन।
हामीले यो इतिहासलाई स्मरण गरिरहँदा नेपालको संविधानले नै युवालाई राजनीतिमा निरुत्साहित गरेको देखिन्छ। हाम्रो संविधानले राष्ट्रपति हुनको लागि कम्तीमा ४५ वर्षको उमेर तोकेको छ। राष्ट्रिय सभामा प्रतिनिधित्वको लागि नेपाली नागरिक ३५ वर्षभन्दा कम हुनु हुँदैन भनिएको छ।
२५ वर्ष नपुगेका व्यक्तिले प्रतिनिधिसभाका उम्मेदवार हुन पाउँदैन। यतिमात्र होइन, २१ वर्ष भएका व्यक्तिले मात्र स्थानीय तहमा वडा अध्यक्ष हुने मिल्ने प्रावधान राखिएको छ। १८ वर्ष माथिका व्यक्तिलाई आफ्नो मतदान गरेर जनप्रतिनिधि चुन्ने अधिकार पाएपछि सोही उमेरको व्यक्तिले स्थानीय तहमा वडा अध्यक्ष हुन पाउने अधिकार समेत राख्दैन। युवा शक्ति, ऊर्जा अनि सृजनशीलताको जति गुणगान गाए पनि हाम्रो संविधान नै युवा विरोधी छ। यसो भएपछि युवाको नेतृत्वको बहस कति सार्थक हुन सक्दैन।
नेपाली राजनीतिमा आजको आवश्यकता युवाको नै हो। युवा ठूला नेताहरूको खास र गुलाम बन्नु पर्ने परिस्थितिबाट मुक्त हुनुपर्छ। राजनीतिमा युवाको सहभागिता बढाउनका लागि युवाहरूले नै राज्यलाई दबाब दिनु पर्छ। स्थानीय तहदेखि केन्द्रसम्मको नेतृत्वमा युवाको सहभागिता बढाउनका लागि सबै युवाहरूले हातेमालो गर्न आवश्यक छ। थाहा खबरबाट
(लेखक नेपाल विद्यार्थी संघका केन्द्रीय सदस्य हुन्)