२०८१ बैशाख १८ मंगलवार

गिरीबन्धुका चिया मजदुरले पाएनन् दुई महिनादेखि तलब, छाक टार्न कठिनाइ

बिर्तामोड । गिरीबन्धु टी–स्टेटमा कार्यरत चिया बगानका मजदुरहरूले दुई महिनादेखि तलब नपाएको बताएका छन् । चिया मजदुरले दुई महिनादेखि ज्याला नपाएपछि दैनिक गुजारा चलाउन कठिन भएको छ ।

चिया बगानमा कार्यरत १७० जना चिया मजदुरले १२-१२ दिनमा पाउँदै आएको तलब सुविधा नपाएको गुनासो गरेका छन् । २ महिना ३ दिन बितिसक्यो, चिया मजदुरले भने – बिहान बेलुका छाक टार्न कठिनाइ भइसक्यो ।

चिया टिपेको ज्यालाबाट बिहान बेलुकाको दैनिकी चलाउने चिया मजदुरले साहुले पनि बाँकी दिन छोडेको बताएका छन् । साहुले रासन उधारो नदिएपछि भोक भोकै काम गर्नु परेको उनीहरूको भनाई छ ।

चिया मजदुर एवम् मजदुर नेतृ सावित्रा बञ्जराले खाली पेटमा चिया टिपाई भइरहेको बताइन् । अब भोक भोकै काम गर्न नसक्ने अवस्थामा पुगेको भन्दै तत्काल मजदुरको ज्याला उपलब्ध गराइदिन माग गरिन् ।

तीन पुस्ताले चिया टिपेको बगानमा अहिले आएर सञ्चालकहरूबाट मजदुरमाथि अन्याय भइरहेको उनको भनाई छ । भोकमरी सहेर पनि साहुको काम गरिरहेको बताउँदै बञ्जराले अनेक समस्याहरूका बाबजुद काम गर्नुपरेको बताइन् । उनले मजदुरको ज्याला दिलाई दिन सरोकारवालासँग आग्रह समेत गरेकी छन् ।

तत्कालै चिया मजदुरले पाउनुपर्ने वेतन नपाए आन्दोलनमा जाने चिया मजदुरको भनाई छ । उनका अनुसार भोकै काम गर्ने चिया मजदुरमाथि कुनै दुर्घटना भए त्यसको जिम्मेवारी सञ्चालकहरूले लिनुपर्ने छ ।
दैनिक ५ सय रुपैयाँका दरले ज्याला पाउने चिया मजदुरहरूले बाँकी भुक्तानी गर्न नसक्दा रासनको जोहो गर्न नसकेको मजदुरहरूको भनाई छ ।

बगान फाँड्ने र घाटाको समस्या देखाउँदै उनीहरूलाई दिनुपर्ने ज्यालामा कम्पनीले आलटाल गर्दै आएको छ । यता, चिया मजदुर सुकमती देवानले दैनिक रुपमा चिया पत्ति टिपेर बुझाइरहँदा पनि कम्पनीले घाटा भएको बताउने गरेको जानकारी दिइन् । १२ दिनको तलब जबरजस्ती बुझ्नका लागि दबाब आइरहेको देवानको भनाई छ । उनले भनिन्– हामीलाई काम गरेको पुरा महिनाको तलब चाहिन्छ, होइन भने मान्ने वाला छैनौँ ।

कम्पनीको तर्फबाट चिया बगान बन्द गर्ने जस्ता धम्की दिदैं मजदुरलाई ज्याला रोकिरहेको उनीहरूको भनाई छ । बगानको स्याहार समेत हुन छोडेको बताउँदै चिया मजदुर देवानले मजदुरको असुरक्षा भइरहेको बताइन् ।

नेपाल कृषि तथा बगान क्षेत्र श्रमिक संघ गिरीबन्धु इकाईका अध्यक्ष नारायण दर्जीले श्रम गर्ने मजदुरले अब भोकै काम गर्न नसक्ने बताए । श्रम गर्ने मजदुरलाई तत्काल भुक्तानी दिन दर्जीले आग्रह गरेका छन् । ‘हामीले श्रमको मात्र पैसा मागेको हो, अरू केही मागेका छैनौँ, उनले भने – ८/१० वर्षदेखि मजदुरलाई बगान घाटामा छ भन्दै निरुत्साहित गर्ने गरिएको छ ।

बगानका व्यवस्थापक सन्तकुमार राईले कम्पनीसँग पैसा नभएका कारण भुक्तानी दिन नसकेको स्वीकार गरेका छन् । उनले आर्थिक सङ्कटकै कारण मजदुरको भुक्तानी रोकिएको बताए ।

अलिकति भुक्तानी दिन खोजेका थियौँ, उनले भने – उहाँहरूले लिन मान्नु भएन । केही दिनमा एक महिनाको तलब भए पनि दिने योजनामा छौँ । सिजन सुरु नभई सबै भुक्तानी दिन कठिन छ ।

२०८१ बैशाख ३, सोमबार प्रकाशित 1 Minute 82 Views

ताजा समाचार