२०८१ बैशाख १९ बुधबार

मानिसलाई कसरी जोगाउने गर्मीको लहरबाट ?

सन् २०२३ मा विश्वले कीर्तिमानीस्तरमा सबैभन्दा तातो वर्षको अनुभव गर्‍यो र यो अवस्थामा औसत वार्षिक चिसोभन्दा कम तापमान नभएको ४७ वर्ष भइसकेको छ । भारत मौसम विज्ञान विभाग (आइएमडी)ले सन् २०२३ लाई भारतको एक सय २२ वर्षमा दोस्रो सबैभन्दा तातो वर्ष र सन् २०१६ सबैभन्दा गर्मी वर्ष भएको बताएको छ ।

आइएमडीले अप्रिल, मे र जुन महिनामा भारतका अधिकांश भागमा सामान्यभन्दा माथिको अधिकतम र न्यूनतम तापक्रमको पूर्वानुमान गरेको छ ।बढ्दो गर्मीको लहरमा पर्ने राज्य वा क्षेत्रमा गुजरात, महाराष्ट्र, उत्तरी कर्नाटक, राजस्थान, मध्य प्रदेश, उत्तरी छत्तिसगढ, ओडिसा र आन्ध्र प्रदेश पर्छन् । ६ अप्रिलमा कर्नाटकको रायचुर जिल्लाका केही भागमा ४५.२ डिग्री सेल्सियसको उच्च तापमान रिपोर्ट गरिएको थियो र विभिन्न गाउँका सातजना मानिसलाई गर्मीको हल्का स्ट्रोक भएको थियो ।

हालैको एन्भिस्ट्याट्स–आइएमडीको विश्लेषणले गर्मीको लहरको घटनामा डरलाग्दो प्रवृत्ति देखाउँछ । प्रतिवर्ष गर्मीको लहर दिनको औसत लगातार बढेको छ । अर्थात् सन् १९९०–९९ ९० दिनबाट सन् २०१०–२०१९ मा एक सय ३९ दिनमा पुगेको छ । यो प्रवृत्ति कुल वार्षिक औसत गर्मीको लहर दिनमा प्रतिबिम्बित हुन्छ जुन सन् २०२० मा ४२ बाट सन् २०२२ मा एक सय ९० मा पुगेको थियो ।

एजेन्सीमाझ गर्मीको लहरसँग सम्बन्धित मृत्युको तथ्यांक भिन्न हुन्छन् । आइएमडीले सन् २००० देखि २०२० सम्म १० हजार पाँच सय ४५ मृत्यु भएको जनाएको छ जब कि एनडिएमए र एनसिआरबीले क्रमशः १७ हजार ७६७ र २० हजार ६१५ मृत्यु भएको जनाएको छ । एनपिसिसिएचएचले यो बढ्दो चिन्तालाई सम्बोधन गर्न विशेषतः गर्मीसम्बन्धी रोग (एचआरआइएस)को रिपोर्टिङ मञ्च सुरु गरेको छ ।

एनडिएमएले सन् २०२० मा चारको मृत्यु भएको रिपोर्ट गरेको छ जब कि एन्भिस्ट्याट्सले सन् २०२० मा २७ को मृत्यु भएको र सन् २०२१ मा मृत्यु नभएको जनाएको छ । लोकसभाको प्रश्नोत्तरमा भूविज्ञानमन्त्रीका अनुसार सन् २०१९ मा गर्मीका कारण एक हजार दुई सय ७४ को मृत्यु भएको थियो, सन् २०२० मा पाँच सय ३० र सन् २०२१ मा तीन सय ७४ को मृत्यु भएको थियो ।

तमाम विसंगतिका बाबजुद एक विषयमा सहमति देखिन्छ, अर्थात् वास्तविक गर्मीसम्बन्धी मृत्युको रिपोर्टिङ कम हुने गर्छ । सन् २०१५–१६ वरिपरि उच्चतम मृत्युदर भए पनि त्यसयता घट्दै गएको छ । गर्मीको लहरबाट प्रभावित राज्यको संख्या २०१५ मा ९ बाट बढेर २०१९ मा २३ पुगेको थियो र गर्मी लहरका दिन ७.४ बाट ३२.२ मा पुगेको थियो ।

उत्तर प्रदेशको बलिया र देवरिया जिल्लामा जुन २०२३ को मध्यमा पाँच दिनभित्र अस्पतालमा बिरामीको भर्ना तीव्रस्तरमा वृद्धि भएको थियो र एक सय ५९ को मृत्यु भएको थियो । मृतकमध्ये धेरैजसो ६० वर्षभन्दा माथिका थिए, जसको अन्तर्निहित स्वास्थ्य अवस्था गर्मीको लहरका कारण बिग्रिएको हुन सक्छ । गर्मीसँग सम्बन्धित भएको पुष्टि नभए पनि राज्यस्तरको अनुसन्धानले हिट स्ट्रोकले मृत्यु गराएको हुन सक्छ । वातावरणीय विश्लेषकले ३० देखि ५० प्रतिशत आर्द्रतासाथ ४५ डिग्री सेल्सियसवरिपरि तापमानको अभिलेख गरेका थिए । यसले ६० डिग्री सेल्सियस तापमानभन्दा बढी गर्मी महसुस गराउँदै जीवनलाई गम्भीर खतरामा पारेको थियो ।

एउटा बेवास्ता गरिएको प्रश्न गर्मीसम्बन्धी मृत्युदरलाई कसरी परिभाषित गर्ने भन्ने हो किनभने गर्मीको जोखिमले उच्च खतरामा रहेका जनसंख्यालाई असहज पार्छ जसले बिरामी हुने जोखिम र मृत्युदर बढाउँछ । धेरै देशमा सार्वजनिक स्वास्थ्य अधिकारीलाई गर्मीसम्बन्धी घटनाको अनिवार्य रिपोर्टिङको कमीका कारण अत्यधिक गर्मीको जनस्वास्थ्य प्रभावको मूल्यांकन गर्न चुनौतीपूर्ण छ ।

वातावरणीय स्वास्थ्य विशेषज्ञले गैरचिकित्सकीय कारकमा प्रायः मृत्यु प्रमाणपत्रमा बेवास्ता गरिएको औँल्याउँछन् जसले गर्दा मृत्युको कारण हुने रिपोर्टिङमा त्रुटि भेटिन्छन् । उदाहरणका लागि चट्याङको प्रहारले रूखको हाँगा भाँचिएर कसैको मृत्यु हुन्छ भने मृत्युमा चट्याङको अप्रत्यक्ष भूमिकालाई सामान्यतया अभिलेखित गरिँदैन । युएस नेसनल एसोसिएसन अफ मेडिकलका परीक्षकले ‘गर्मी–सम्बन्धित मृत्यु’ लाई उच्च परिवेशको तापक्रमको कारणका रूपमा परिभाषित गर्छन् ।

युरोपमा विशिष्ट अवधिमा अत्यधिक मृत्युको विश्लेषण गर्नु गर्मीसम्बन्धी मृत्युदर अनुमान गर्ने एक सामान्य उपाय हो । सन् २००३ को असाधारण गर्मीको समयमा करिब ४० करोड जनसंख्या भएका १६ देशमा ७० हजारभन्दा बढी मृत्युको अभिलेख गरिएको थियो । सन् २०२२ को गर्मी, अर्थात् युरोपकै अहिलेसम्मको सबैभन्दा तातो मौसममा महामारी विज्ञान विश्लेषणअनुसार ५४ करोड ३० लाख जनसंख्या भएका ३५ देशमा ६१ हजार ६ सय ७२ को गर्मीका कारण मृत्यु भएको अनुमान गरिएको थियो । इटली, ग्रिस, स्पेन र पोर्चुगललगायत भूमध्य सागरवरपरका देशले सबैभन्दा बढी मृत्युको अनुभव गरेका थिए । सन् २००३ को अनुभवपछि अवलम्बन गरिएको अनुकूलन उपायका बाबजुद गर्मीसम्बन्धी मृत्युको उल्लेखनीय संख्याले जारी चुनौतीलाई झल्काउँछ ।

केन्द्रीय स्वास्थ्यमन्त्रीले ३ अप्रिलमा एचआरआइएसको व्यवस्थापनका लागि सार्वजनिक स्वास्थ्य तयारीको समीक्षा गरेका थिए । २३ राज्यमा अद्यावधिक गरिएको गर्मी कार्ययोजना उपलब्ध छन् र करिब सय जिल्लामा जागरुकता अभियान सुरु भएको छ । गर्मीको मौसम बढ्दै जाँदा राज्य र नागरिक समाजले अति जोखिममा परेकाको हेरचाह गर्ने जिम्मेवारी लिनुपर्छ ।
(दास गुप्ता जवाहरलाल नेहरू विश्वविद्यालयका सामुदायिक स्वास्थ्यका प्राध्यापक हुन्) द इन्डियन एक्सप्रेसबाट

२०८१ बैशाख १, शनिबार प्रकाशित 0 Minutes 26 Views