‘दरिलो संघीयताका पक्षमा उभिन्छु, आमाको नाममा नागरिकता दिने कुरामा अडिन्छु’
राजु अधिकारी
झापा । इन्दिरा राना मगरले जीवनमा थुप्रै फड्को हानेकी छन् । स्कुलमा, आफूले गरेका कामहरूमा!
सामाजिक सेवामा फराकिलो परिचय बनाएकी उनले यसपटक राजनीतिक रूपमा पनि फड्को हानिन्। सक्रिय राजनीतिमा संलग्न भएको तीन महिनामै इन्दिरा संघीय संसदको उपसभामुख बन्न सफल भइन्।
शनिबार सम्पन्न निर्वाचनमा काँग्रेसकी मुक्ताकुमारी यादवलाई पराजित गर्दै इन्दिरा प्रतिनिधि सभाको उपसभामुख चुनिएकी हुन्।
सत्ता गठबन्धनका दलहरुको समर्थनमा उम्मेद्वार बनेकी झापाकी इन्दिरालाई यो राजनीतिक फड्को सम्भव तुल्याउन उनी संलग्न दल राष्ट्रिय स्वतन्त्र पार्टीले अवसर प्रदान गरेको हो। संयोग कस्तो परेको छ भने, उपसभामुखका रूपमा इन्दिराले प्रतिनिधिसभामा जिम्मेवारी सम्हाल्दै गर्दा सभामुख पदमा अर्का झापाली नेता देवराज घिमिरे पदासिन भइसकेका छन्।
आमासँगै कारागारमा रहन पुगेका निर्दोष बालबालिकालाई शिक्षा र आश्रय दिने काममा ३३ वर्षदेखि सक्रिय ५२ वर्षीया इन्दिरालाई रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टीले समानुपातिक सांसद बनाएको थियो। यसअघि राजनीतिक रूपमा कहीँकतै संलग्न नरहेकी उनी पहिलो प्रयासमै संसद सदस्य भइन्। त्यसको केही महिनामै उपसभामुख बनेकी हुन्।
झापाको शनिश्चरेमा २०२७ असार १८ मा जन्मेकी उनी ११ वर्षमा पहिलोपटक स्कुल गएकी थिइन्।
पहिलो पटकमै कक्षा ५ मा भर्ना भएकी उनी पहिलो हुँदै कक्षा चढेको उनका गुरु हस्त परियार सम्झना गर्छन्।
गाउँमै रहेको महारानीगन्ज प्रावि (हाल मावि) का तत्कालीन प्रधानाध्यापक परियारका अनुसार एकदिन उनी घुम्दै इन्दिराको घर पुगेका थिए। इन्दिराका दाजु पनि भर्खरै विद्यालयमा शिक्षकका रूपमा प्रवेश गरेका थिए।
गफका क्रममा इन्दिरा स्कुल नगई घरैमा बसेको परियारले थाहा पाए। उनले त्यसबेला इन्दिरा र उनको परिवारलाई छोरीलाई स्कुल पठाउन आग्रह गरेका थिए।
‘स्कुल त बोलाएँ तर उनी सानो कक्षामा बस्न मानिनन्’, परियारले भने ‘म अरूभन्दा ठूली भइसकेँ, सानो कक्षामा बस्दिनँ भनिन्। मेहेनत गर्छु भनेपछि उनलाई एकैपटक कक्षा ५ मा राखिदिएँ। उनले राम्रो तरक्की गरिन्। पहिलो भएर पाँच कक्षा पार गरिन्।’
‘ज्यादै दृढ र बलियो आत्मबल भएकी विद्यार्थी हुन् उनी,’ संगीतकार समेत रहेका परियारले भने ‘आफू जहाँ लागे पनि इमान्दारपूर्वक लाग्ने उनको बानी छ। उनको सफलताको कारण यही हो।’
यसरी स्कुले जीवनमै कक्षा फड्को हानेर राम्रो नतिजा ल्याएकी उनले राजनीतिक रूपमा पनि पहिलो प्रयासमै उपसभामुखको जिम्मेवारी पाएकी छन्। यसले आफूलाई अझै बढी मेहेनत गर्न प्रेरित गरेको उनले सुनाइन्।
परिबन्दले बन्दी बनेका बालबालिकाको क्षेत्रमा काम गरेकै कारण उनले धेरै अवार्डहरू हात पारेकी छन्।
उनको कर्मलाई सामाजिक रूपमा पहिचान दिने ती अवार्डहरूले इन्दिराको पहिचान फराकिलो पार्न सघाए।
अशोका फेलो २००५ उनले एसिया २१ याङ लिडर पब्लिक सर्भिस अवार्ड २००९, वल्र्ड चिल्ड्रेन प्राइज अनररी अवार्ड २०१४, बीबीसी उत्कृष्ट १०० महिला २०१७, लगायतका उपलब्त्रि हात पारेकी छन्। यिनै उपलब्धिहरू उनको राजनीतिक यात्रारम्भ गर्ने मुख्य आधार बने।
उनको राजनीतिक यात्राको सुरूआत पनि भर्खरै मात्रै भएको हो। सञ्चारकर्म छाडेर राजनीतिमा होमिएका रवि लामिछाने आफ्नो दलको आकर्षण बढाउन सामाजिक क्षेत्रमा कहलिएका चुनिँदा अनुहारको खोजीमा थिए। लामिछानेसहितको टिमले इन्दिरासँग पनि कुराकानी गर्यो। समाज सेवाका क्षेत्रमा काम गर्दा राजनीतिक पहुँचका कारण धेरै काम गर्न नसकेको तीतो अनुभव इन्दिरासँग प्रशस्तै थियो। त्यसैले उनी सक्रिय राजनीतिमा होमिन राजी भइन्।
‘शिक्षादिक्षा, भरपर्दो सुरक्षा र आश्रय अनि पहिचानकै सकस भोगिरहेका नानीबाबुहरूको क्षेत्रमा काम गर्दागर्दै राजनीतिमा आइपुगेको हुँ’, उनले सेतोपाटीसँग भनिन् ‘त्यसक्रमा देखे भोगेका अनेकौं समस्याहरू राज्यले सम्बोधन गर्दैनथ्यो। नगरी नहुने काममा पनि आलटाल भएको देख्दा आफैंलाई के गरौं कसो गरौंको छटपटी हुन्थ्यो। आफूले सडकमा उठाइरहेका तिनै मुद्दा सदनमा ल्याउन म राजनीतिमा होमिएको हो।’
उपसभामुखको जिम्मेवारीमा पुगेपछि ती मुद्दामा काम गर्न अझ बल पुग्ने उनको आशा छ।
‘मलाई मेरो दलले अवसर दिएको छ, यसलाई जिम्मेवारीपूर्वक निर्वाह गर्ने प्रतिबद्धता जनाउँछु’, उनले थपिन्, ‘म ती मुद्दाहरूमा आफ्नो तर्फबाट सकेको काम गर्नेछु। सामाजिक क्षेत्रमा गरेको कामका आधारमै मलाई यहाँ पुग्न सम्भव भयो। म मेरा ती मुद्दाहरूबारे सधैं सजग रहनेछु।’
कारागारमा रहेका आमाहरूसँगै बन्दी अवस्थाका बालबालिकालाई बाहिर निकाल्ने र उनीहरूलाई शिक्षा दिने क्रममा उनी यसबेलासम्ममा दुई हजारभन्दा बढी बालबालिकाकी कर्म आमा भइसकेकी छन्। बन्दी सहायता नेपालकी संस्थापक अध्यक्ष उनको संस्थाले काठमाडौं, भक्तपुर, झापालगायतका जिल्लामा १२ वटा बालगृह र दुई वटा विद्यालय सञ्चालन गरिरहेको छ।
प्रसिद्ध लेखक तथा अधिकारवादी योद्धा पारिजातको प्रेरणाले आफू कारागारका बालबालिकाको क्षेत्रमा काम गर्न थालेको बताउने इन्दिराका लागि अबको यात्रा भने पेचिलो बन्नसक्छ।
त्यसो त संसदको प्रमुख नेतृत्व सभामुखले गर्नेछन्। संसदको दोस्रो वरियताको नेतृत्वमा रहेकी उनलाई अब राजनीतिका पेचिलो मुद्दाहरूले कतै न कतै प्रष्ट खुलेर लाग्न बाध्य पार्नेछन्, जुन बाध्यता उनलाई समाज सेवाको क्षेत्रमा नपर्न पनि सक्थ्यो।
त्यसबारे आफू सचेत र जानकार रहेको बताउने उनी दरिलो संघीयताका पक्षमा आफूलाई दृढतापूर्वक उभ्याउने बताउँछिन्। उनले यस्तो बताए पनि उनको दलले संघीयताप्रति राख्ने वैचारिक रूझान प्रष्ट छैन।
मंसिरको चुनावमा संघीयताको मुख्य संरचना प्रदेशसभामा उम्मेदवारी नै नदिएर आफ्नो धर्मपन देखाएको राष्ट्रिय स्वतन्त्र पार्टीले ‘संघीयताको विरोध नगरेको’ उनको दाबी छ।
‘हाम्रो दलले संघीयताको विरोध गरेको छैन’, उनले भनिन् ‘मात्रै अनावश्यक खर्च कसरी घटाउने,अझ परिमार्जन र परिस्कृत कसरी पार्ने भन्ने मात्रै बहस गरेको हो। मेरो भूमिका संघीयता बलियो पार्नमै केन्द्रित हुनेछ।’
पछिल्लो केही समययता राजनीतिक बहसको केन्द्रमा छ नागरिकता विधेयक। पाँच वर्षमा दुइटा सरकारले ल्याएका विधेयक विवादित छन्।
वैवाहिक अंगीकृत नागरिकतामा विदेशी पत्निलाई नेपाली पुरूषले कहिले नागरिकता दिलाउन पाउँछ भन्ने विषयमा राजनीतिक दलहरूबीच माथापच्ची छ। तर महिलाले आफ्नो विदेशी पतिलाई नागरिकता दिलाउन नपाउने व्यवस्थामा दलहरू एकठाउँ छन्।
नेपाली महिलाहरूले आफूले पनि विदेशी पतिलाई नागरिकता दिलाउन पाउनुपर्ने भन्दै संसदभित्र र बाहिर पेचिलो बहसको विषय छ। त्यस्तै अर्को आमाको नामबाट सन्तानलाई नागरिकता दिलाउँदा बावुको पहिचान चाहिने संवैधानिक व्यवस्थाविरूद्ध महिलाहरूले सडक, समाज र संसदमा आवाज उठाएका छन्।
यी विषय अब आउने संसदमा हुने बहसका विषय हुन्।
महिलालाई नागरिकतामा अधिकार दिँदा राष्ट्रिय सुरक्षा खतरामा पर्ने भन्दै पुराना राजनीतिक दल र तिनका धेरैजसो नेताहरू यसको बर्खिलापमा छन्। यही भाष्य स्थापित गरेर संविधान र कानुनमा महिलालाई पुरूषमा निहित बनाइएको छ।
यसबारे इन्दिरा पनि ‘सचेत रहेको’ बताउँछिन् आमाको नाममा नागरिकता दिने विषयलाई ‘राष्ट्रिय सुरक्षा’ सँग सिधै नजोडे पनि उनले ‘देशलाई असर नपर्ने गरी’ त्यो व्यवस्था गर्नुपर्ने बताउँछिन्।
‘म आफैं पनि नारी हुँ, यो विषयले म आफैं पनि पिरोलिएको छु’, उनले सुनाइन् ‘त्यसैले आमाको नामबाट नागरिकता दिनुपर्छ भन्ने कुरामा म उभिन्छु। उभिएको हुँ। तर, त्यसरी नागरिकता दिँदा देशमा असर नपर्ने गरी विधेयक अघि बढाउन पर्छ।’
आफूले पनि सन्तानको नागरिकता बनाउने बेलामा सकस झेलेको सुनाउँदै उनले भनिन् ‘म पतिसँग २४ वर्षदेखि अलग थिएँ। मेरो छोरीको नागरिकता बनाउँदा मैले त्यो समस्या झेलेको छु। त्यसैले नागरिकताविहीन भएर बसेकाहरूलाई त्यो अवस्था अन्त्य गर्न र भविष्यमा त्यस्तो अवस्था आउन नदिने व्यवस्था गर्नुपर्छ भन्नेमा म प्रष्ट छु।’