उम्मेदवारको मनोनयन दर्तासँगै इलाम–२ मा अब कसले बाजी मार्ला भन्ने आकलन शुरू भएको छ ।
प्रतिनिधि सभाको एक सिटका लागि आगामी वैशाख १५ गते हुने निर्वाचनमा भाग लिन स्वतन्त्रसहित २० उम्मेदवारले मनोनयन गर्दा गराएका छन् ।
यसअघि दुई पक्षीय भिडन्त भएको इलाममा यसपटक चारपक्षीय प्रतिस्पर्धा हुने देखिएको छ । एमाले सांसद सुवास नेम्वाङले अघिल्लो निर्वाचनमा ११४ को साँघुरो मतान्तरले चुनाव जितेका थिए ।
त्यतिखेर कांग्रेसका डम्बरबहादुर खड्का जीत निकट पुगेर पनि पराजित भएका थिए । अघिल्लोपटक दुई पक्षीय मात्रै प्रतिस्पर्धा भएको थियो । नेम्वाङले ३० हजार २० मत ल्याउँदा कांग्रेसका खड्काले २९ हजार ९०६ मत प्राप्त गरेका थिए ।
देशका अन्य शहरी भाग र मतदातामा प्रभाव जमाएको राष्ट्रिय स्वतन्त्र पार्टीले भने अघिल्लोपटक इलाम–२ मा प्रभाव जमाउन सकेको थिएन । अघिल्लोपटक रास्वपाका प्रकाश सापकोटाले १३८० मत प्राप्त गरेका थिए ।
नेम्वाङको निधनपछि इलाम–२ मा उपचुनाव हुन लागेको हो ।
तर यसपटकको चित्र भने फरक देखिँदैछ । एमालेले नेम्वाङका ३२ वर्षीय पुत्र सुहाङलाई उम्मेदवार बनाएको छ । बुवा सुवासको अप्रत्याशित निधनपछि उम्मेदवार बनेका सुहाङलाई सहानुभूतिको मत आउन सक्ने देखिन्छ । अघिल्लोपटक कांग्रेससँग गठबन्धन गरेको माओवादी केन्द्रले साथ दिँदा सुहाङ यसपटक बलियो दाबेदार देखिएका छन् ।
अघिल्लोपटकका बलियो प्रतिस्पर्धी कांग्रेसका खड्का फेरि पनि चुनावी मैदानमा उत्रिएका छन् । अघिल्लोपटक साँघुरो मतान्तरले पराजय बेहोर्दा खड्काले माओवादीसहित तत्कालीन गठबन्धनको मत पाएका थिए । यसपटक कांग्रेसलाई यो सुविधा छैन ।
तर, स्थानीय तहको निर्वाचनमा कांग्रेसले अघिल्लोपटक यो निर्वाचन क्षेत्रमा पर्ने पालिका र वडामा बलियो उपस्थिति जनाएको थियो । यसैले फेरि पनि कांग्रेसले सुहाङलाई बलियो चुनौती दिने देखिएको छ । फेरि पनि दुई पुराना र ठूला दल एकातिर आमनेसामने हुने स्थितिमा छन् ।
अर्कोतिर अघिल्लोपटक १५ सय मत पनि कटाउन नसकेको रास्वपा यसपटक तयारीसहित चुनावी मैदानमा उत्रिएको छ । स्वतन्त्र उम्मेदवारी घोषणा गरेका इलामकै रैथाने मिलन लिम्बूलाई रास्वपाले मैदानमा उतारेको छ । अघिल्लो निर्वाचन र उपनिर्वाचनमा रास्वपाले तहल्का नै मच्चाएको थियो । २०८४ को चुनावमा बहुमत ल्याउने दाबी गर्दै आएको रास्वपालाई आफ्नो मिसनमा अगाडि बढेको देखाउने चुनौती थपिएको छ । यसको खरो परीक्षा इलाम २ मै हुने देखिएको छ ।
अर्कोतिर कोशी प्रदेश नामकरणको विरोधमा उत्रिएको पहिचान पक्षधरको उम्मेदवारी पनि इलाममा फरक खालको प्रतिस्पर्धा हो । अघिल्लो निर्वाचनमा पहिचानवादीको पहिचान नै नहुँदा निर्वाचन दुई पक्षीय मात्रै भएको थियो । भूगोल र देशकै राजनीतिलाई प्रभाव पार्ने गरी पहिचानवादीहरूले पूर्वमा यसपटक राम्रै हल्ला खल्ला गरेका छन् ।
पहिचानवादीको तर्फबाट डकेन्द्रसिंह लिम्बूले उम्मेदवारी दर्ता गराएका छन् । उनलाई प्रदेश १ को पुनः नामकरण संघर्ष समितिमा आबद्ध ४१ बढी घटकसहितका दलको समर्थन रहेको छ ।
डा. बाबुराम भट्टराई नेतृत्वको नेपाल समाजवादी, जसपासहितका दलको पनि समर्थन छ । यसैले पहिचानवादीहरूको दाबेदारीलाई पनि यसपटक कम आँक्न सक्ने स्थिति नरहेको नेताहरू बताउँछन् । पहिचानवादीका उम्मेदवार लिम्बू लामो समय एमालेमा सक्रिय भएका नेता हुन् । यसैले पहिलोचानवादीको मुख्य निशानामा रहेको एमालेकै भोट काटिने जोखिम धेरै रहेको नेताहरू बताउँछन् ।
आफ्नो प्रभाव र विरासत भएको ठाउँमा फेरि पनि हार्न नचाहने मनस्थितिसँगै मत र संगठनको बल पनि एमालेसँग छ । जित्दाजित्दैको चुनाव हार्नुपरेको कांग्रेसलाई उसै प्रतिष्ठाको विषय बनेको छ ।
एमालेको मत बाँडिँदा आफूहरूलाई फाइदा हुने बुझाइ पनि कांग्रेसको रहेको नेताहरू बताउँछन् । अर्कोतिर रास्वपा आफूलाई परम्परागत दलबाट अलग देखाउने बाटोमा हिँडेको छ । साथै पहिचानवादीहरू पूर्वमा आफ्नो अस्तित्व र प्रभाव जबर्जस्त रहेको देखाउने मानसिकतामा छन् । यसैले इलाममा तीन पक्षीय होइन चार पक्षीय नै प्रतिस्पर्धा हुन सक्ने देखिएको छ ।
राजनीतिक विश्लेषक कृष्ण पोखरेल पनि तीन पक्षीयबाट चारपक्षीय प्रतिस्पर्धा इलाममा हुन सक्ने बताउँछन् । ‘हेर्दा एमालेको ठाउँ हो । कांग्रेस पनि उत्तिकै प्रतिस्पर्धी देखिएको छ । रास्वपाले पनि राम्रो उम्मेदवार उठाएको छ । अघिल्लोपटक समानुपातिक मत पनि रास्वपाको राम्रो आएको देखिन्छ । यस्तोमा इलाममा तीनपक्षीय प्रतिस्पर्धा त हुने ने देखियो,’ पोखरेलले लोकान्तरसँग भने, ‘यसपटक पहिचानवादीहरू पनि थपिएका छन् । उनीहरूले आफ्नो मुद्दामा कत्तिको बुझाउन सक्छन् यसले प्रतिस्पर्धा चारपक्षीय पनि गराउन सक्छ । केही दिनको चुनावी क्याम्पेन हेरेपछि परिस्थितिबारे अलि बढी मूल्यांकन गर्न सकिन्छ । तर, दल विशेषलाई यसपटक धेरै नै सहज भने छैन ।’
अघिल्लोपटक कांग्रेससँग गठबन्धन गरेको माओवादीको भोट बाँडिने पोखरेल बताउँछन् । ‘अघिल्लोपटक एमाले एक्लै उठ्दा माओवादीको समर्थनमा कांग्रेसले प्रतिस्पर्धी भोट ल्यायो । यसपटक कांग्रेसले आफ्नो भोट जोगाउन सक्नेमा पनि शंका छ । उम्मेदवार नभए पनि माओवादीको भोट बाँडिने देखिएको छ,’ पोखरेलले भने, ‘माओवादीकै पृष्ठभूमिका रास्वपाको उम्मेदवारले माओवादीको भोट काट्ने पनि देखिएको छ । एमालेमा पनि नयाँलाई टिकट दियो भन्ने तुष देखिए परिस्थिति अर्को बन्न सक्छ । पहिचानवादीका उम्मेदवार एमाले पृष्ठभूमिका हुँदा उनले पनि भोट काट्न सक्छन् ।’
इलाममा देखिएको फरक चित्र भनेको अधिकांश जनजाति उम्मेदवार पनि हुन् । जनजातिका कुरा बढी उठ्दाको फाइदा कांग्रेसका उम्मेदवारले पनि उठाउन सक्ने विश्लेषक पोखरेल बताउँछन् ।
‘धेरै जसो पार्टीका उम्मेदवार जनजाति पृष्ठभूमिका देखिनुभएको छ । जनजातिका कुरा बढी उठे भनेर जनमत जनजातिबाहेक पनि जान सक्छ,’ पोखरेल भन्छन्, ‘यस्तोमा फाइदा कांग्रेस उम्मेदवारले उठाउन पनि सक्छन् ।’लोकान्तरबाट