२०८१ बैशाख १५ शनिबार

सेयर बजारमा सर्वोत्तम चम्किँदा घटिरहे अरू सिमेन्ट कम्पनी

१३ चैत, काठमाडौं । पुस २२ गते हिमालयन रिइन्स्योरेन्स सूचीकृत भएको दिन उस्तै प्रकृतिको अर्को कम्पनी नेपाल पुनर्बीमाको मूल्य प्रतिकित्ता ६५४ रुपैयाँ थियो । नेपाल पुनर्बीमा कम्पनी पुरानै कम्पनी थियो भने हिमालय रि नयाँ कम्पनी ।

जब हिमालयन रि सूचीकृत भयो, नेपाल पुनर्बीमाको मूल्य सँगसँगै बढ्न थाल्यो । एक महिना नपुग्दै माघ १६ गते नेपाल पुनर्बीमाको मूल्य २६ प्रतिशत बढेर ८२६ रुपैयाँसम्म पुग्यो । सोही अवधिमा हिमालयन रिको सुरुवाती मूल्य ३०९ रुपैयाँबाट २.२ गुणा बढेर ७०९ रुपैयाँ पुग्यो । व्यवसायिक रुपमा उहीं प्रकृतिका यी दुई कम्पनीको मूल्य सँगसँगै बढ्यो । बजार घट्दा पनि यी दुई कम्पनीको मूल्यलाई खास असर परेन ।

सर्वोत्तम सिमेन्ट सूचीकृत भएपछि यहीं क्रमअनुसार अन्य सिमेन्ट कम्पनीहरुको पनि मूल्य बढ्ने आश धेरैले गरेका थिए । चैत ५ गते सर्वोत्तम सिमेन्ट कम्पनीको सेयर सूचीकरण भयो । सूचीकरणपछि उहीं व्यावसायिक प्रकृतिका कम्पनीहरु शिवम्, सोनापुर र घोराहीको मूल्य बढ्ने आश लगानीकर्तामा थियो ।

जसले गर्दा सुरुवाती दिनमा धेरै कारोबार भएका ५ कम्पनीमा ३ वटा सिमेन्ट कम्पनीहरु पर्दै आएका थिए । सर्वोत्तम सूचीकृत हुने दिन कारोबार रकमका आधारमा शिवम्, सोनापुर र घोराही क्रमश दोस्रो, तेस्रो र पाँचौ स्थानमा थिए ।

हिमालय रि र नेपाल पुनर्बीमाको इतिहास सिमेन्ट कम्पनीहरुमा पनि दोहोरिन्छ भन्ने धेरैको आशविपरित अहिले परिस्थिति उल्टियो । जब सर्वोत्तम सिमेन्ट सूचीकरण भयो, त्यसपछि सर्वोत्तमको त मूल्य बढिरह्यो तर उस्तै अरु कम्पनीहरु शिवम्, सोनापुर र घोराहीको मूल्य भने घटिरहेको छ ।

विगत ५ कारोबार दिनमा ४ सिमेन्ट कम्पनीहरुको मूल्य :

दिन/कम्पनीहरु सर्वोत्तम मूल्य शिवम् मूल्य घोराही मूल्य सोनापुर मूल्य
चैत ५ ५५६ (पाएको) ५४६ ५६० ५२३
चैत ६ ६११.६० ५४९ ५४३ ५०६
चैत ७ ६७२.७० ५३९ ५२८.१० ४९३
चैत ८ ७३९.९० ५४४ ५३०.२० ४९५.१०
चैत १२ ८१३.८० ५२७ ५०८.२० ४८४

सर्वोत्तमको मूल्य बढिरहँदा किन घटिरहे अरु उस्तै कम्पनी ?
सूचीकृत भएपछि बजारमा नयाँ कम्पनीको मूल्य बढ्नु स्वभाविक रुपमा लिइन्छ । एकाधबाहेक सबैजसो कम्पनीहरु सूचीकृत भएपछि मूल्य बढ्ने गरेको इतिहास छ । त्यसकारण सर्वोत्तमको वृद्धिलाई बजारमा स्वभाविक लिइन्छ ।

कम्पनीहरु सूचीकृत भइसकेपछि संस्थापक, प्रभावित स्थानीय, म्युचुअल फण्डले पाएको सेयर कारोबार हुनै पाउँदैन । सर्वसाधारण र वैदेशिक रोजगारीमा जानेले पाएको मात्रै कारोबारमा आउन पाउँछ, जसले गर्दा आपूर्ति न्यून हुने भएकाले कारोबारीहरु यस्ता कम्पनीमा बढी सक्रिय हुने गरेको लगानीकर्ता सुवासचन्द्र ढुंगाना बताउँछन् ।

‘सुरुमा सूचीकृत हुने यी कम्पनीहरुको आपूर्ति कम हुन्छ, त्यसपछि कारोबारीहरुले मूल्य बढाएर बेच्न पाइने लक्ष्य लिएर धेरै मात्रामा माग गर्छन्, भीड बढ्दा मूल्य बढ्ने गरेको पाइन्छ’ उनले भने ।

सर्वोत्तमकै हकमा पनि जम्मा २७ लाख ७६ हजार ७६ कित्ता सेयर सर्वसाधारणलाई बाँडफाँट गरिएको छ भने वैदेशिक रोजगारमा रहेकालाई २ लाख ६७ हजार कित्ता बाँडफाँट गरिएको छ । अहिले यहीं मात्रै कारोबारमा आउने हो । त्यसकारण सुरुवाती मूल्यमा कारोबारी सक्रिय हुने गर्छन् ।

तर अरु कम्पनीहरु शिवम्, घोराही र सोनापुर पुरानै कम्पनी हुन् । यी कम्पनीको मूल्य सर्वाेत्तम सूचीकृत नहुँदै बढिसकेको थियो । फागुन १७ गते सोनापुरको मूल्य ४४० रुपैयाँ, घोराहीको ४७७ र शिवम्‌को ४६८ रुपैयाँ थियो । सर्वोत्तम सूचीकृत हुने दिनसम्म अर्थात् तीन सातामै सोनापुरको मूल्य १८.८, शिवम्‌को १६.६ र घोराहीको १६.७ प्रतिशतले मूल्य बढिसकेको थियो । जसले गर्दा नाफा बुक गर्नेहरु सक्रिय भए र मूल्य घट्न थाल्यो । ‘पहिले नै मूल्य बढेकाले सर्वोत्तम सूचीकरणपछि अरु कम्पनीको मूल्य घट्न थाल्यो, हिमालयन रि र नेपाल पुनर्बीमाको जस्तो अवस्था सिमेन्ट कम्पनीहरुमा देखिएन’ ढुंगानाले भने । समग्र बजार घट्दा पनि अरु सिमेन्ट कम्पनीको मूल्यमा केही असर परेको लगानीकर्ताको टिप्पणी छ ।

अर्कोतर्फ पुराना कम्पनीहरुको आपूर्ति पनि नयाँको तुलनामा उच्च छ । शिवम्‌को हकमा स्थानीय र संस्थापक सेयर समेत साधारणसरह कारोबारका लागि फुकुवा भइसकेको छ । जसले गर्दा आपूर्ति उच्च छ । त्यस्तै घोराहीका हकमा म्युचुअल फण्डले पाएको सेयर कारोबारका लागि खुला भइसकेको छ भने सोनापुरमा पनि चैत २३ पछि खुला हुनेछ । जसले गर्दा मूल्य बढ्न सकेन ।  ‘एक चरणमा मूल्य बढिसकेपछि सर्वोत्तमको पनि घट्ने र अरुको पनि सँगसँगै घट्न सक्ने अनुमानका कारण पनि अहिले अरु कम्पनीहरुको मूल्य घटेको हो’ ढुंगानाले भने ।

कतिसम्म बढ्ला सर्वोत्तमको मूल्य ?
सूचीकरण भएको दिनदेखि निरन्तर १० प्रतिशत मूल्य बढेको यस कम्पनीको सेयर पाएका लगानीकर्तामा अहिले चासोको विषय बनेको छ मूल्य वृद्धिदर । अझै मूल्य बढ्ला र बेचौंला भन्ने आशमा अझै धेरै सेयरधनी छन् । सोमबारसम्म कम्पनीको मूल्य प्रतिकित्ता ८१३ रुपैयाँ ८० पैसा छ । मंगलबार १० प्रतिशत बढेमा ८९५ रुपैयाँ १० पैसा पुग्छ ।

सूचीकरण भएपछि एक चरणमा मूल्य बढ्ने र त्यसपछि घट्ने गरेका कतिपय कम्पनीका उदाहरण छन् । जसले गर्दा सही समयमा सेयर बेच्नु उपयुक्त निर्णय हुन्छ ।

कुनै पनि कम्पनी र सूचकको वृद्धिदरमा अनुमान मात्रै गर्न सकिन्छ । अनुमान मिल्न पनि सक्छ र नमिल्न पनि सक्छ । आईपीओ सूचीकरणपछि सो कम्पनीको मूल्य वृद्धिमा अनुमान गरिने एउटा प्रमुख आधार कारोबार रकम हो । कारोबार रकम बढ्दै जानुले बिक्री गर्नेहरु पनि बढ्दै गए भन्ने जनाउँछ । जसले गर्दा मूल्य जुनसुकै बेला घट्न सक्छ भन्ने लगानीकर्ताको अनुमान हुन्छ । सोमबार सर्वोत्तमको २६ हजार ८८५ कित्ता कारोबार भएको छ ।

‘कारोबार रकम बढ्दै जानुले मूल्य वृद्धि अब धेरै दिन लम्बिन नसक्ने संकेत गर्दछ’ अर्का लगानीकर्ता पिताम्बर खकुरेलले भने । सर्वोत्तमको हकमा अब १÷२ दिन मात्रै मूल्यवृद्धि टिक्ने उनको अनुमान छ ।

त्यस्तै मूल्य वृद्धिको अनुमान गर्ने अर्को आधार हो – खरिदकर्ताको चाप । पछिल्लो समय मार्केट डेप्थ हेर्दा सर्वोत्तममा खरिद चाहनेको चाप घटेको छ । सूचीकृतपछि २० लाख कित्तासम्म माग हुने गरेकोमा अहिले ४ लाखमा खुम्चिन थालेको छ । जसले गर्दा मूल्य वृद्धिदर आज वा भोलिसम्म मात्रै कायम हुन सक्ने अनुमान धेरैको छ ।

२०८० चैत्र १३, मंगलवार प्रकाशित 0 Minutes 58 Views

ताजा समाचार