२०८१ बैशाख १७ सोमबार

फिल्म समीक्षा : राजनीति र अतिरञ्जनाभित्र जेलिएको ‘महाजात्रा’

काठमाडौँ । ‘जात्रा’ले अहिलेसम्म एउटा संसार निर्माण गरिसक्यो । त्यो संसारमा देखिन्छन्, तीन साधारण पात्र – फणिन्द्र, जोयस र मुन्ना । उनीहरूको सामान्य दैनिकीमा एकदिन असमान्य घट्ना हुन्छ । आफ्नो दैनिकी र परिवार सम्हाल्न सानोतिनो कमाई गर्दै आइरहेका यी तीनको जीवनमा अचानक नसोचेको पैसा (सुन)ले ढोका ढकढक्याउँछ ।

गरिबी, बाध्यता र चाहनाबीच यी तीन अवैध कारोबारको चंगुलमा यसरी फस्दै जान्छन्, कि त्यहाँबाट बाहिर निस्किने ढोका प्रायः बन्द छ । अवैध धन्दाका नाइके, प्रहरी प्रशासन अनि अपराधको यो भूमरीबाट उम्कन यी तीनले गर्ने संघर्ष निर्देशक प्रदीप भट्टराईले ‘जात्रा’का हरेक शृंखलामा दोहोर्‍याए ।

तेस्रो संस्करणसम्म आइपुग्दा, ‘महाजात्रा’ले पनि यही शैली पच्छ्याउँछ । त्यसअर्थमा फिल्मको कथा खासै नौलो छैन । फेरि फणिन्द्र, जोयस र मुन्नाको संसारमा कालो धनको प्रवेश हुन्छ । पैसाले भरिएको गाडी नै लुकाउनुपर्ने बाध्यता यी तीनमा आइपर्छ । त्यतिञ्जेल जोयस(रवीन्द्रसिंह बानियाँ)ले फेरि फिल्ममा अभिनय गर्ने सपना देखिसक्छन् ।

मालसामान लोडिङको काम पाएका मुन्ना(रविन्द्र झा) पनि सामान्य कमाईबाटै सैलुन खोल्ने, बालबच्चा पढाउने भविष्य कल्पिरहेका हुन्छन् । यता सामाग्री ढुवानी गर्ने गाडीका चालक फणिन्द्र(विपिन कार्की) पनि आफ्नो पेसा र पारिश्रमिकसँग सन्तुष्ट बनिसकेका हुन्छन् । त्यस्तैमा फेरि यी तीन मालसामान ओसार्ने गाडीभरिको पैसासँग ठोक्किन्छन् । अनि उनीहरूसँग ठोक्किन आइपुग्छन्, ठूला नेता पुण्यप्रसाद (हरिवंश आचार्य), कालोबजारी गर्ने गुन्डा(शिशिर वाङ्देल) अनि भाइरल इन्स्पेक्टर खत्री (दिव्य देव) ।

यस किसिमका अपराधिक घट्नामा गरिब र सोझा जनतालाई कसरी फसाइन्छ ? विचौलिया र शक्तिमा भएकाहरूले पहुँच नभएका जनताको परिस्थिति र गरिबीको कसरी दुरुपयोग गर्छन् ? जात्राले पहिल्यैदेखि समाउँदै यो मर्म ‘महाजात्रा’ले पनि समातेको छ । यस किसिमको सामाजिक मुद्दा उठाउँदै गरिएको व्यंग्यले दर्शक हसाउँदै विषयवस्तुको गहिराईभित्र पुर्‍याउनु फिल्मको सबल पक्ष हो । फिल्मले सुरुदेखि अन्तिमसम्म दर्शक हँसाइरहन्छ ।

यी तीन पात्रको संसारमार्फत फिल्मले थुप्रै विषयमाथि व्यंग्य गर्न खोजेको छ । राजनीतिको आडमा सञ्चालित अपराध, त्यसको ढाकछेप, अनि गरिबी र महत्त्वकांक्षीबीचको द्वन्द्व । यस्ता थुप्रै मद्दालाई एकैपटक भन्न खोज्दा फिल्मले मध्यान्तरपछि गति गुमाउँदै जान्छ ।

मध्यान्तरअघिसम्म फिल्मले दर्शकलाई फणिन्द्र, जोयस र मुन्नाको संसारमा मज्जाले बाँधेर राख्छ । तर, जब उनीहरूको जीवनमा पुण्यप्रसाद र अन्य पात्र थपिँदै जान्छन्, कथ्य वाचनको डोरो कस्न निर्देशक भट्टराई चुक्छन् । यसपाली फिल्मको क्यानभास ठूलो छ । यी तीन चरित्र र उनीहरूका सपनासँग त दर्शक पहिलो संस्करणदेखि नै भिज्दै आएका छन् । तर, तेस्रो संस्करणसम्म आइपुग्दा पुण्यदेखि प्रहरी खत्रीलगायत थुप्रै नयाँ चरित्र थपिएका छन् ।

तर, ती चरित्रको स्थापना र प्रमुख कथामा ती पात्रको आवश्यकतामाथि निर्देशकले ध्यान नपुर्‍याएको देखिन्छ । उदाहरणका लागि, प्रहरी इन्स्पेक्टर खत्री जति चाँडै आउँछन्, त्यति चाँडै त्यो चरित्रको अवतरण गराइन्छ । पात्र स्थापनामा ध्यान नदिँदा त्यो पात्र र त्यो पात्रसँग जोडिन आउने भावना दर्शकले अनुभव गर्नै पाउँदैनन् । त्यसरी नै पुण्य र उसको छोराको चरित्र र उनीहरूबीचको सम्बन्ध स्थापनामा पनि खासै मिहेनत देखिन्न ।

त्यसैले पुण्यले आफ्नो छोराका लागि लिने ठूलो निर्णयले दर्शकको मन त्यत्ति छुँदैन । यो पक्षमा मिहेनत गरिएको भए यी दुई बाबु छोराको सम्बन्ध र त्यो सम्बन्धले ल्याउने परिवर्तन दर्शकले सजिलै आभास गर्न सक्थे । चरित्रको संसारमा पुर्‍याउने मात्रै होइन उनीहरूको भावनालाई आभास गराइदिन सक्ने शक्ति फिल्ममा हुन्छ ।

पहिलो संस्करणमा प्रदीपले भुइँमान्छेको कथा, उनीहरूको पीडा र यो काठमाडौंलाई यथार्थ परक शैलीमा देखाएको थियो । तेस्रो संस्करणसम्म आइपुग्दा उनको यो शैलीमा व्यवसायिक लेपन अलि बढी देखिन्छ । प्रमुख कथमा अनावश्यक लाग्ने त्यो ‘हाम्रो जोडी’ बोलको गीत होस् या अतिरञ्जना गरिएको चरित्र पुण्य । व्यवसायिक पाटोलाई बढी ध्यान पुर्‍याउँदा ‘जात्रा’को त्यो पुरानो स्वाद तेस्रोसम्म आइपुग्दा हराउँछ । पटकथा लेखनमै यी कमजोरीमाथि ‘ट्रिटमेन्ट’ गर्न सकिन्थ्यो ।

यो पटक फिल्ममा पात्रहरूले खासै पैसा लुकाउन संघर्ष गर्दैन । त्यसैले फिल्मको द्वन्द्व निर्माण सतही बन्दै जान्छ । पहिलो संस्करणमा पैसाको बोरा खोज्दै प्रहरीले फणिन्द्रको आगन टेक्न आइपुग्दा उनीभित्रको डर, मुटुको ढुकढुकी दर्शकले अनुभव गर्थे । तर, यो संस्करणमा त्यस किसिमको द्वन्द्व निर्माणमा निर्देशक चुक्दा पात्र र उनीहरूका भावना दर्शकले समानुभूत गर्नै सक्दैनन् । लेखनको ‘लेयर्स’मा मिहेनत गरिएको भए यी नयाँ पात्र र विषयवस्तु पनि छताछुल्ल पनि हुने थिएन ।

पुण्यको प्रवेशसँगै कथाले बाटो बिराएको छ । फणिन्द्र, जोयस र मुन्नाभन्दा बढी फिल्म राजनीतिर केन्द्रित बन्दै जान्छ । थपिएका नयाँ पात्रको स्थापना विश्वासिलो ढंगले गरिएको छैन । पुण्यको छोरा फिल्ममा जबरजस्ती राखिएको भान हुन्छ । प्रहरी इन्स्पेक्टर खत्रीलाई अचानक हटाइदिने निर्णय, पत्नीले न्यायका लागि पत्नीले गरेको लडाईं जबरजस्त ‘इमोस्नल’ बनाउन राखिएको अनुभव हुन्छ ।

फिल्मको अर्को दृश्य छ, फिल्ममा प्रमुख तीन पात्र गीत गाउँदै फणिन्द्रको घरको आँगन आइपुग्छन् । छोरा इमान रुँदै फणिन्द्रलाई भेट्न आइपुग्छन् । उक्त दृश्यमा जबरजस्त बावु र छोराको सम्बन्धमार्फत दर्शकलाई रुवाउन खोजिएको छ ।

यो फिल्मले दर्शक हसाउन दुईअर्थी संवाद, लिंग र जातमाथि उत्ति भद्दा मजाक गरेको छैन । फिल्मको अर्को बलियो पक्ष यो हो । तर, संवादबाट मात्रै दर्शक हसाउन खोज्नु कमजोरी बनिदिएको छ । फिल्ममा बिना संवाद, परिस्थितिले हसाउने दृश्य कमै भेटिन्छन् । ढुवानी सेवामा भएको यी तीनको पुनर्मिलनवाला ‘सिच्युएस्नल कमेडी’ले अन्य दृश्यमा पनि निरन्तरता पाएको भए त्यसले हाँसोरस बढाउन सक्ने सम्भावना थुप्रै थिए ।

त्यस्तै कति दृश्यमा दर्शक हसाउनकै लागि मात्र पनि पात्रले संवाद बोलिरहे झैं लाग्छ । फणिन्द्रका ससुरालाई प्रहरीले सोधपुछ गरिसकेपछि उनी भन्छन्, ‘अरुका ज्वाइँले तेल भिजामा भएपनि ससुरालाई अष्ट्रेलिया, अमेरिका पुर्‍याउँछन्, आफ्ना ज्वाइँले जहिल्यै जेलमा पुर्‍याउँछन्’ ।

संवाद प्रधान यो फिल्ममा पात्रहरूले जबरजस्त बोलेरै दर्शक हसाउँछन् । मध्यान्तरअघिसम्म त संवादले दर्शकलाई बाँधेर राख्छ । तर, त्यही शैलीलाई अन्तिमसम्म पच्छ्याइरहँदा केही ठाउँमा पट्यारलाग्दो पनि सुनिन्छ । अभिनयका पक्षमा भने फणिन्द्र बनेका विपिन कार्कीले फेरि त्यो पात्रको निर्दोषपना, इमान्दारिता र लगनशीलतालाई पर्दामा बाँचिदिएका छन् । संवाद बोल्दा समात्ने उनको कमिक शैलीलाई यो संस्करणमा पनि दर्शकले मनपराउने पक्का छ । त्यस्तै, दुई रविन्द्रहरूले पनि जोयस र मुन्नाभित्रको यस्ता गुणलाई ‘महाजात्रा’मा दोहोर्‍याउन सफल छन् ।

२०८० चैत्र १०, शनिबार प्रकाशित 1 Minute 189 Views

ताजा समाचार