२०८१ बैशाख ८ शनिबार

नाका खोल्नुमा चीनको स्वार्थ

समीर राई
पछिल्ला केही सातायता विश्वका कतिपय देशमा कोरोना संक्रमण पुनः बढ्न थालेको छ । नेपालको छिमेकी मुलुक चीनसहित कतिपय मुलुकमा कोरोना फेरि बढ्न थालेको हो । चीनमा कोरोना संक्रमण बढेसँगै भारतमा उच्च स्वास्थ्य सावधानी अपनाइएको देखिन्छ ।

चीन सरकारले कोरोना नियन्त्रणका लागि उच्च सावधानी अपनाएको थियो । उसले शून्य कोरोना पोलिसी नै अपनाएको थियो । तर, त्यसमा चीन सफल हुन सकेन । उसको शून्य कोरोना नीति र कमजोर खोपका कारण समस्या भएको अधिकारीहरू बताउँछन् ।

नयाँ भेरिएन्ट बीएफ-७ ले चीनमा दैनिक लगभग १० लाख नयाँ केस ल्याइरहेको छ भने २४ घन्टामा ५ हजार जनाको मृत्यु भएको छ । अब एक महिनाभित्र ३ लाख ७० हजार नयाँ केस देखिने प्रक्षेपण गरिएको छ । मार्च महिनामा यो आँकडा ४२ लाख पुग्न सक्छ ।

यसकारण चीनमा सल्किएको कोरोना महामारीले नेपाललाई असर नगर्ने कुरै भएन । खुला सीमा र व्यापारका कारण त्यसको असर नेपालमा सोझै पर्छ । अझ, चीन सरकारले भर्खरै मात्र नेपालसँग जोडिएका नाका सञ्चालनमा ल्याएको छ । यसले कोरोना नेपाल छिर्ने सम्भावना देखिन्छ । चीन सरकारको नेपालमा प्रत्यक्ष गतिविधिका कारण कोरोना महामारी नेपाल फैलिन सक्ने अवस्था विद्यमान छ । सुरुवाती कोभिडका बेला नाकामा कडाइ गरेको चीन सरकारले अहिले आएर नाका खोल्नुमा केही स्वार्थ भने लुकेको देखिन्छ । यसमा नेपाल सरकार गम्भीर बन्न जरुरी छ ।

चिनियाँ प्रभाव नेपालको बन्दव्यापारमा मात्रै सीमित छैन, आन्तरिक राजनीतिमै दखल दिने तहमा पुगिसकेको छ । तर, चीन प्रति नतमस्तक नेपाल उसको ‘अति सक्रियता’ को आलोचना गर्न हच्किने गरेको छ, द्विपक्षीय बराबरी सम्बन्धमा चीनले मिच्याइँ गर्न थालिसक्दा समेत । सीमा-नाकामा त यसै पनि चीनको कठोर हैकम छँदैछ । त्यसैले नेपाल-चीन ऐतिहासिक सम्बन्ध पुनःस्वचालित हुँदाहुँदै काठमाडौँले चीनसँग घुँडा टेक्ने प्रवृत्ति यथावत् राखे समाज र जनतालाई घाटा हुने तथ्य बिर्सिइएको छ ।

चीनका लागि नेपाल प्राथमिकताको देश होइन, आर्थिक, रणनीतिक र सामरिक कुनै दृष्टिले पनि । ऐतिहासिक कालदेखि नै नेपालमा चीनको उपस्थिति उसको वास्तविक प्रभावभन्दा ठूलो देखिने गरी चित्रण हुँदै आएको छ । दक्षिणी छिमेकीसँगको सम्बन्धमा सधैं अपमानित हुँदै आएको हीनताबोधले भारत सामना गर्ने उपायको खोजीमा काठमाडौँका शासकले आफूप्रति चीनको सदाशयतालाई वास्तविकताभन्दा ठूलो देखाउँदै आएका हुन् ।

ठूला दुई महाशक्तिबीच रहेको नेपालले सन्तुलन कायम राख्न यस्तो रणनीति बनाउनु अन्यथा थिएन । नयाँ परिप्रेक्ष्यमा यसले चीनलाई आवश्यकता भन्दा बढी ‘देवत्वकरण’ गरिदियो, नागरिक तहसम्मै । त्यसमाथि, चीनको सत्तारूढ चिनियाँ कम्युनिष्ट पार्टी (सीपीसी) को सिद्धान्त आयात गरेका नेपाली राजनीतिक दलहरूले निर्माण गरेको तिलस्मी भाष्यले धेरैलाई भुलभुलैयामा पारिदिएको छ ।

मेचीनगर-१, झापा

२०७९ माघ ४, बुधबार प्रकाशित 1 Minute 352 Views

ताजा समाचार