२०८१ बैशाख ८ शनिबार

विमान दुर्घटनाबारे अध्ययन गर्न आएको फ्रान्सेली टोली घटनास्थलमा

पोखरा । पोखरामा भएको यती एयरलाइन्सको एटीआर विमान दुघर्टनाबारे अध्ययन गर्न फ्रान्सबाट आएको विज्ञ टोली घटनास्थलमा पुगेको छ ।

एटीआर विमान निर्माता कम्पनीको नौ सदस्यीय विज्ञ टोली नेपाल आएको थियो । विज्ञ टोलीले घटनास्थलको अवलोकन गर्नुको साथ उडानमा संलग्नहरुसँग पनि छलफल गर्ने छ र दुर्घटनाको कारण पत्ता लगाउने छ ।

नेपालमा पहिलो पटक एटीआर विमान दुर्घटना भएको हो । त्यसैले विमान निर्माता कम्पनीले दुर्घटनाप्रति चासो दिएको हो ।

सरकारले विमान दुर्घटनापछि पूर्वसचिव नागेन्द्र घिमिरेको संयोजकत्वमा बनाएको पाँच सदस्यीय दुर्घटना जाँच आयोगले पनि  पोखरामै रहेर काम थालेको संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले जनाएको छ ।

जहाँजको ब्ल्याक बक्सको रिपोर्ट आउन ढिला हुने भएकाले रिपोर्ट कहिलेसम्म आउने भन्न नसकिने उक्त आयोगका एक सदस्यले अनलाइनखबरलाई बताए ।

‘भर्खर जाँच सुरु भएको छ । सबै चिज मिहिन ढंगले अध्ययन गर्नुपर्छ । त्यसमाथि सुरुमा ब्ल्याक बक्सको रिपोर्ट नआई केही भन्न सकिँदैन,’ आयोगका एक सदस्यले भने, ‘फाइनल रिपोर्ट आउन अझै केही समय लाग्छ । निश्चित छैन ।’

पूर्वसचिव नागेन्द्र घिमिरेको संयोजकत्वमा पाँच सदस्यीय दुर्घटना जाँच आयोग गठन भएको थियो । आयोग सदस्यमा हवाई विज्ञका रुपमा नेपाली सेनाका अवकाश प्राप्त उपरथी दीपकप्रसाद बाँस्तोला र अवकाशप्राप्त क्याप्टेन सुनिल थापा छन् ।

आयोगको सदस्यमा हवाई मर्मत विज्ञ एकराज जंग थापा र आयोगको सदस्य सचिवमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सहसचिव बुद्धिसागर लामिछाने छन्।

२०७९ माघ ४, बुधबार प्रकाशित 0 Minutes 159 Views

ताजा समाचार