झापा । प्रतिनिधिसभाको सभामुखमा नेकपा एमालेका देवराज घिमिरेले मनोनयन दर्ता गराएका छन् । बुधबार संसद् सचिवालयमा उनले प्रतिनिधिसभाको सभामुखका लागि मनोनयन दर्ता गराएका हुन् । उनको प्रस्तावकमा सुवासचन्द्र नेम्वाङ र समर्थकमा राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देन‚ रास्वपा सभापति रवि लामिछाने र नेकपा माओवादी केन्द्रका हितराज पाण्डे रहेका छन् ।
झापा-२ बाट निर्वाचित भएर पहिलोपटक प्रतिनिधिसभा सदस्य बनेका घिमिरे ०५६ मा राष्ट्रिय सभा सदस्य चुनिएका थिए । अहिले उनी एमालेको स्थायी कमिटी सदस्य छन् ।
सभामुख पदमा एमाले र उपसभामुख पदमा राष्ट्रिय स्वतन्त्र पार्टीबाट उम्मेदवारी दिने सत्ता साझेदार दलहरूको सहमति रहेको छ । एमालेमा सभामुखका लागि पृथ्वीसुब्बा गुरुङ, रघुजी पन्त, छविलाल विश्वकर्मा र विद्या भट्टराई चर्चामा थिए ।
सभामुख पदको बिहीबार हुने निर्वाचनका लागि बुधबार उम्मेदवारी मनोनयन गर्ने संघीय संसद् सचिवालयको कार्यतालिका छ ।
को हुन् घिमिरे ?
०३१ मा झापा विद्रोहपछि राजनीतिक यात्रा सुरु गरेका उनी सुखानी सहिद स्मृति प्रतिष्ठानका अध्यक्ष समेत हुन् । एमालेका स्थायी कमिटी सदस्य रहेका उनी ०५६ मा राष्ट्रिय सभा सदस्य भएका थिए । ०७५ मा नेकपाको प्रदेश १ को अध्यक्ष, ०७८ मा भएको एमालेको दशौँ राष्ट्रिय महाधिवेशनबाट उनी स्थायी कमिटी सदस्य भएका थिए । उनी अहिले पनि एमाले प्रदेश १ का इन्चार्ज हुन् ।