२०८१ बैशाख १८ मंगलवार

‘चक्रव्यूहमा गोर्खा’ पुस्तक सार्वजनिक

काठमाडौं । गोर्खाल्याण्ड आन्दोलनको नालीबेली समेटिएको पुस्तक ‘चक्रव्यूहमा गोर्खा’ सार्वजनिक भएको छ ।

पश्चिम बंगालको सिलीगुडीमा आइतवार आयोजित समारोहमा दार्जिलिङका पूर्वगोर्खाल्याण्ड आन्दोलनका योद्धा भोटुसिंह क्षेत्रीद्वारा लिखित पुस्तकको दार्जिलिङ–सिक्किम इतिहासविज्ञ, बंगालीभाषी बुद्धिजीवी र सर्वसाधारणबीच लोकार्पण गरियो ।

समारोहमा इतिहासकार डा. सोनाम बी वाङ्ग्येल, दार्जिलिङ नगरपालिकाका पूर्वमेयर बीके प्रधान, बसन्त बी लामा, पासाङ भोटिया, भानु लामा र प्राध्यापक रिञ्जी भुटियालाई सम्मानसमेत गरिएको थियो । कार्यक्रममा पी अर्जुनले गोर्खाल्याण्डलाई लिएर चिन्तनको संस्कार बसाउनुपर्ने आवश्यकता रहेको औंल्याए ।

कवि ज्ञानेन्द्र खतिवडाले गोर्खाल्याण्डको ऐतिहासिक दस्तावेजीकरणमा यो कृति महत्वपूर्ण हुने बताए ।

गोर्खाल्याण्ड आन्दोलनको समर्थनमा लेखिएको बेस्टसेलर बाङ्ग्ला कृति ‘कञ्चनजङ्गाए अशान्तिर आगुन’ का लेखक सौमेन नागले दार्जिलिङका गोर्खाहरूले वर्षौंदेखि उठाउँदै आएको गोर्खाल्याण्डको मुद्दा जायज रहेको बताए ।

पुस्तकका लेखक क्षेत्रीले गोर्खाल्याण्ड आन्दोलनमा १२ सयभन्दा बढी शहीद र सयौं बेपत्ता भएर पनि अद्यावधि टुंगो नलागेका गोर्खाहरूको राजनीतिक चिनारी गोर्खाल्याण्ड आन्दोलनको मुद्दालाई पुस्तकमा समावेश गरिएको बताए ।

‘२२ अगस्त १९८८ मा घिसिङले ‘ड्रप’ गरेको आन्दोलनले विमल गुरूङहरूको नेतृत्वको टेको पाएपछि गुरूङ पनि घिसिङले थापेको दागोपापको ‘प्रो–भर्सन’ जीटीए थापेर आन्दोलनदेखि विमुख भएको उल्लेख गर्न भ्याएको छु,’ उनले भने ।

पुस्तक चार खण्डमा विभाजित गरेर लेखिएको छ । गोर्खाल्याण्ड आन्दोलनको राजनीतिक दस्तावेजीकरण मान्न सकिने ‘चक्रव्यूहमा गोर्खा’ ब्रिटिसकालदेखि समकालीन बिन्दुसम्मको फेहरिस्त रहेको लेखक क्षेत्रीले बताए ।

सालबारीको बुकएण्ट पब्लिकेसनले प्रकाशन गरेको पुस्तक ६०० पृष्ठको छ । अनलाइन खबर

२०८० फाल्गुन १४, सोमबार प्रकाशित 0 Minutes 167 Views

ताजा समाचार