२०८१ बैशाख ३ सोमबार

ओशोको दृष्टिमा प्रेम

‘प्रेमभन्दा गहिरो अर्को अनुभूति छैन । प्रेम भनेको अर्को व्यक्तिको आँखामा आफूलाई हेर्नु हो,’ बुद्ध पुरुष ओशोले भनेका छन् ।

ओशोका अनुसार, यदि मान्छेले कसैको आँखामा आफ्नो जीवनको गरिमा देख्छ, तब उसले आफूलाई सार्थक पाउँछ । प्रेममा हुनु भनेको आनन्दको स्वर्गमा प्रवेश गर्नु हो । मान्छेभित्र ध्यान अनि बाहिर प्रेम हुनुपर्छ । ओशोको दृष्टिमा त्यही व्यक्ति कवि हुन सक्छ, जसले प्रेमको अनुभव गरेको होस् । अनि प्रेमसँगै जागरूकता पनि ऊसँग होस् । मान्छे स्वयंको भित्र ध्यान अनि बाहिर सम्बन्धहरूमा प्रेम हुनुपर्छ । भित्र ध्यानको फूल फुलोस्, बाहिर प्रेमको सुगन्ध निस्कियोस् ।

भर्खरै मात्र (१४ फेब्रुअरीमा) प्रेम दिवस संसारभर मनाइयो । फेब्रुअरी प्रेम दिवसको महिना हो । आउनुस् चर्चा गरौँ, ओशोको परिभाषामा प्रेम के हो त ?

ओशोले आफ्ना प्रवचन र साहित्यमार्फत पटक पटक भनेका छन्— प्रेम यति ठुलो घटना हो, त्यो लुकाएर लुक्दैन । मान्छेको रौँ रौँबाट प्रकट हुन्छ । मान्छेको आँखा बदलिन्छ । मान्छेको अनुहारको आभा बदलिन्छ । मान्छे अचम्मको मस्तीमा हुन्छ । प्रेमबिना जीवन सौभाग्यवान् हुँदैन । प्रेममा जीवन आकाशमा उड्छ तर प्रेमबिना जीवन जमिनमा घस्रन्छ । प्रेमबिना जीवन तार टुटेको बिणाजस्तो हुन्छ । जीवनमा संगीत निस्किँदैन । प्रेमबिना जीवन फूलबिनाको रूखजस्तो हुन्छ । प्रेमले जीवनको खालिपनालाई भरिभराउ बनाउँछ । प्रेमबिना जीवन उदास हुन्छ, खालि हुन्छ । जीवनमा कहीँकतै कुनै सार हुँदैन । कुनै अर्थ हुँदैन अनि मान्छे तड्पिन्छ । प्रेमले छुनेबित्तिकै मान्छेलाई प्रचण्ड गर्मीमा शीतल हावाले छोएजस्तो अनुभव हुन्छ । प्रेमले मान्छेलाई गति दिन्छ, गन्तव्य दिन्छ, दिशा दिन्छ, मान्छेको दिल धन्यताले भरिन्छ ।

ओशोका अनुसार, मान्छेले जसलाई प्रेम गर्छ— आमा, बुवा, छोरा, श्रीमती आदिलाई, उनीहरूमाथि अधिपति बन्न खोज्नु हुँदैन । त्यसो भयो भने उसको प्रेमविहीन स्थानतर्फको यात्रा सुरु हुन्छ । जसलाई प्रेम गर्दछ, उसको मालिक बन्न खोज्यो भने उसले प्रेमको मामलामा गम्भीर भुल गरेको हुन्छ,’ ओशोले भनेका छन्, ‘यदि तिमी उसको मालिक बन्यौ भने उसलाई तिमीले दास बनायौ । तब तिमी पनि उसको दास भएका हुन्छौ अदृश्य रूपले ।’

ओशो दर्शन भन्छ— जुन कुरा मान्छेले अरूलाई दिन्छ त्यही कुरा उसले पाउँछ । यो संसारमा प्रतिध्वनि चलिरहन्छ । यदि कसैलाई प्रेमको नाममा दास बनाइयो भने अर्को पनि दास बन्छ । पतिपत्नी एक अर्काका गुलाम भएका हुन्छन् । जसलाई गुलाम बनाइन्छ, उसको भित्र आक्रोश लुकेको हुन्छ । उसभित्र बदलाको भावना हुन्छ । क्रोध लुकेको हुन्छ ऊभित्र । त्यसको प्रतिफल हजारौँ रूपले प्रकट हुन्छन् । त्यसैले सानो सानो कुरामा पनि पतिपत्नीबिच झगडा हुन्छ । प्रेममा क्षमाको भावना हुन्छ, प्रेम मुक्तिको विशाल आकाशमा फुल्छ र विशाल स्वतन्त्रताको परिवेशमा हुर्कन्छ ।

ओशोले एक प्रवचनमा भनेका थिए— एकपटक रामानुज एक गाउँमा पुगेका थिए, उनी भएको ठाउँ एक व्यक्ति आएर भने— प्रभु ! मलाई परमात्मा पाउनु छ । मलाई परमात्माको खोजमा सहायता गर्नुस् ।

रामानुजले सोधे— तिमीले अहिलेसम्म कसैलाई प्रेम गरेका छौ ?

‘म यो झन्झटमा कहिल्यै परेको छैन । मैले त परमात्मालाई खोज्नु छ ।’

रामानुजले फेरि सोधे— तिमीले थोरै कहिल्यै कसैलाई प्रेम गरेका छौ कि ?

‘मलाई त परमात्मा खोज्नु छ, मैले त प्रेमतिर आँखै उठाएको छैन ।’

रामानुजले भने— मलाई क्षमा गर, तिमीले अन्यत्र कतै खोज । तिमीले कसैलाई थोरै भने पनि प्रेम गरेको भए त्यसलाई विस्तार गरी परमात्मासम्म पुग्न सक्थ्यौ । तिमीसँग त केही छँदै छैन, जसलाई विस्तार गर्न सकियोस् । तिमीसँग बिउ नै छैन, जुन वृक्ष बन्न सकोस् ।

मान्छे जस्तो छ, त्यस्तैमा प्रेम घट्दैन । मान्छेले आफूलाई धेरै परिष्कृत गर्नुपर्छ । मान्छेले आफूलाई धेरै सोध्नुपर्छ, तब मात्र कहीँ त्यो स्वर मान्छेभित्र पैदा हुन्छ । प्रेम परमात्माकै अर्को रूप हो ।

ओशोले पतिपत्नी बिचको प्रेमको सन्दर्भमा भनेका छन्— पत्नीले पतिलाई सम्मान र प्रेम दिइन् भने पतिले पनि पत्नीलाई प्रेम र सम्मान दिन्छन् । तपाईंले पत्नीलाई सम्मान दिनुस्, तब उनले पनि सम्मान दिन्छिन् । सम्मानको उत्तरमै सम्मान मिल्छ । स्त्रीलाई स्वतन्त्रता दियौ भने पुरुषलाई पनि स्वतन्त्रता मिल्न सक्छ । एक्लै मुक्त हुने प्रयास धेरैले गरे, जंगल गए । म उनीहरूलाई भगौडा मान्छु, कायर मान्छु । भाग्न कुनै जरुरी छैन । जहाँ छौ, त्यहीँबाट मुक्त हुन सकिन्छ । पति जब ध्यानस्थ हुन्छन्, तब स्त्रीले पतिको ध्यानस्थ रूप, उज्ज्वल रूप अनि पतिमा उठेको प्रकाश अनि उसमा फुलेको फूल देख्छिन्, तब उनले पनि अनुशरण गर्छिन् ।

जीवन प्रेमबाट सुरु भई परमात्मासम्म पुग्नुपर्छ । मान्छे प्रेमपूर्ण बनोस् भनेर ओशो जीवनभर प्रयासरत रहे । ओशो भन्छन्– प्रेम जन्मसँगै मिल्दैन, प्रेम त आर्जन हो, साधना हो अनि सिद्धि हो । मान्छेले धन कमाउने कोसिस गर्छ तर प्रेम कमाउने कुनै कोसिस गर्दैन । यदि कुनै व्यक्ति आफूभित्र डुब्न सक्दैन भने अर्कोसँग कसरी डुब्न सक्छ । जब कोही आफूभित्रै जान सक्दैन भने कसरी अर्काको भित्र जान सक्छ ।

आफूमा प्रेम प्रकट गराउने माध्यम हुन् प्रार्थना र ध्यान । जसले प्रार्थना गरेको छैन, उसले कहिल्यै प्रेम गर्न सक्दैन । प्रार्थनालाई प्रेमको पहिलो सर्त बनाउनुपर्छ । जसले ध्यान गरेको छैन, उसले प्रेम गर्न सक्दैन, किनकि जो आफूभित्र गएको छैन भने ऊ अर्काको भित्र कसरी जान सक्छ । जो आफूभित्र जान्छ, ऊ अर्कोभित्र पुगिहाल्छ ।

ओशोको दृष्टिमा प्रेमपूर्ण हुनका लागि आफ्नै भ¥याङबाट उक्लनुपर्छ, आफूभित्र जानुपर्छ । मान्छे जस्तो छ, त्यस्तैमा प्रेम घट्दैन । मान्छेले आफूलाई धेरै परिष्कृत गर्नुपर्छ । मान्छेले आफूलाई धेरै सोध्नुपर्छ । तब मात्र कहीँ त्यो स्वर मान्छेभित्र पैदा हुन्छ । प्रेम परमात्माकै अर्को रूप हो । त्योभन्दा कम प्रेमको परिभाषा छैन । प्रेम त अर्को जगतको हीरा हो ।

ओशोको दृष्टिमा जब मान्छे प्रेमपूर्ण हुन्छ, तब उसले जीवनको उत्तरदायित्व सही ढंगले निभाउन सक्छ । जब मान्छेभित्र प्रेम उत्पन्न हुन्छ, तब मात्र उसले अरूलाई प्रेम दिन सक्छ । जब मान्छेमा प्रेम उत्पन्न हुन्छ, तब उसको प्रेम दिने सामर्थ्य बढ्छ, अनि उसमा अरूसँग प्रेम माग्ने इच्छा हट्छ । जब मान्छेभित्र प्रेम आयो भने उसले आफ्नो कर्तव्य सही ढंगले निभाउन सक्छ । प्रेम लेनदेन होइन, जब प्रेम लेनदेन हुन्छ, तब त्यहाँ छिटै प्रेम घृणामा परिवर्तन हुन्छ । ओशोको सारा प्रयास मान्छेमा प्रेम कसरी पैदा गराउने भन्ने देखिन्छ । प्रेम त्यस व्यक्तिमा हुन्छ, जब उसमा आनन्द उपलब्ध भएको हुन्छ । प्रेम त्यही व्यक्तिले दिन सक्छ, जसभित्र दुःख मेटिएको होस् र ऊ आनन्दित भएको होस्  । प्रेमभित्र कुनै अपेक्षा हुँदैन ।

‘म जीवनको कर्तव्य निभाउने होइन, प्रेम उपलब्ध गर्ने कुरा गर्दछु । जो दुःखी हुन्छन्, उनीहरू प्रेम दिँदैनन्, प्रेम माग्छन्, ताकि उनीहरूको दुःख मेटियोस् । सारा दुःखी मान्छेहरू प्रेम चाहन्छन्,’ ओशोले भनेका छन्, ‘कुनै व्यक्तिमा प्रेमको अपेक्षा छ भने त्यो ऊभित्र दुःख भएको प्रमाण हो । व्यक्तिमा भित्र दुःख छ भने उसको प्रकाशन प्रेमको मागमा हुन्छ । यदि व्यक्तिभित्र आनन्द छ भने त्यसको प्रकाशन प्रेमको वितरणमा हुन्छ ।’

ओशोका अनुसार, जो आनन्दमा छ, उसको नजिक जो आउँछ, उसलाई प्रेम उपलब्ध हुन्छ । जो उसको नजिक हुन्छ, उसको कर्तव्य पूरा हुन्छ । उसको उत्तरदायित्व निभ्छ । ओशो भन्छन्—  प्रेम आनन्दको प्रकाश हो । आनन्द आत्मबोधको अनुभव हो । मान्छेले आफूलाई चिनेको छैन, त्यसैले प्रेम माग्छ । हामीले आफूलाई चिन्यौँ भने आनन्द उपलब्ध हुन्छ । अनि आनन्द उपलब्ध भयो भने हामीबाट प्रेम वितरित हुन्छ । ओशोले मनुष्यलाई जीवनको उत्तरदायित्व निभाउने कुरा भन्दा पनि प्रेम उपलब्ध गर्ने कुरामा जोड दिन्छन् । रातोपाटी

२०८० फाल्गुन १२, शनिबार प्रकाशित 0 Minutes 89 Views

ताजा समाचार