२०८१ जेष्ठ ६ आईतवार

कांग्रेसले युवाको प्रतिनिधित्वबारे प्रष्ट नीति ल्याउनुपर्छ : महासमिति सदस्यहरू

ललितपुर । ललितपुरको गोदावरीमा भएको नेपाली कांग्रेसको महासमिति बैठकमा युवाहरूलाई प्रतिनिधित्व गर्नेबारे पार्टीको नीति स्पष्ट हुनुपर्ने विषय उठेको छ ।

काठमाडौंका महासमिति सदस्य सुशील भट्टले पार्टीमा युवाको प्रतिनिधित्व कति हुने भन्ने स्पष्ट पार्नुपर्ने बताए । ‘पार्टीमा युवालाई प्रतिनिधित्व दिने विषयमा बेवास्ता हुने गरेको छ, नीति बनोस्,’ उनले भने ।

भट्टले काठमाडौं महानगरका प्रमुख बालेन शाहलाई देखेर नेताहरूले चिटचिट पसिना छुटाएको भन्दै युवालाई समेट्न कांग्रेसलाई आग्रह गरेका छन् ।

‘विधानमा युवा प्रतिनिधित्व कति हुने हो तोकियोस् । बालेनलाई देखेर हाम्रा नेताले चिटचिट पसिना काढ्छन्,’ उनले भने, ‘पार्टीमा युवा प्रतिनिधित्व बेवास्ता गर्छन् । पार्टीभित्रको अवसर भए श्रीमान् श्रीमती, भतिजाले पाएका छन् ।’

उनले पार्टी पूर्णरूपमा सभापतीय प्रणालीमा जानुपर्ने बताए । उनले भने, ‘जति पदाधिकारी भए पनि केही हुने रहेनछ । दुई जना महामन्त्री भए पनि केही हुने रहेनछ । यो महासमिति बैठकले कांग्रेसले कांग्रेसलाई मात्र भोट हाल्ने वातावरण बनाओस् ।’

अर्का महासमिति सदस्य गोपाल विश्वकर्माले पार्टीको चुनावी घोषणापत्र कार्यान्वयनमा सभापति शेरबहादुर देउवाको ध्यानाकर्षण गराए ।

‘पार्टीले घोषणा गरेको घोषणापत्र किन कार्यान्वयन भएन ? पदाधिकारी, मन्त्री र केन्द्रीय सदस्य सबैले जिम्मा लिनुपर्छ,’ उनले भने, ‘यदि यो कार्यान्वयन भएको भए व्यवस्था विरोधी आन्दोलन हुने नै थिएन ।’ स्याङ्जाका महासमिति सदस्य युवराज पाण्डेयले समस्या पहिचान गरेर मात्र नछोड्न आग्रह गरेका छन् ।

उनले समस्या समाधानको उपाय खोज्न पनि नेतृत्वलाई आग्रह गरेका छन् । मकवानपुरकी महासमिति सदस्य पवित्रा विकले समानुपातिक र प्रत्यक्षतर्फ एक/एक पटकमात्रै चुनाव लड्ने व्यवस्था मिलाउन आग्रह गरिन् । यसो गर्दा नयाँले अवसर पाउने तर्क उनको थियो । सेतोपाटी

२०८० फाल्गुन १०, बिहीबार प्रकाशित 0 Minutes 71 Views

ताजा समाचार