
९ फागुन, काठमाडौं । गत ७ पुसमा गाउँपालिका महासंघ नेपालले सबै गाउँपालिकाले आफ्नो बोर्ड तथा लेटरहेडमा ‘स्थानीय सरकार’ नै उल्लेख गर्ने गरी घोषणापत्र जारी गर्यो ।
‘नेपाल सरकार’ र ‘प्रदेश सरकार’ भनेजस्तै स्थानीय तहहरुलाई ‘स्थानीय सरकार’ का रुपमा स्थापित गर्न भन्दै महासंघले यस्तो घोषणा गरे पनि कर्मचारीहरुले कानुनी आधार नभएको कारण देखाएर लेटरहेडमा परिवर्तन गर्न मानेनन् ।

१४ माघमा नेपाल नगरपालिका संघले प्रधानमन्त्री कार्यालयमा भएको कार्यविस्तृतिकरण परिमार्जनसम्बन्धी छलफलमा औपचारिक रुपमै ‘स्थानीय तह’ लाई अब ‘स्थानीय सरकार’ भन्नुपर्ने र कानुनी व्यवस्थाहरु गर्नुपर्ने माग अघि सार्यो ।
नगरपालिका संघका अध्यक्ष भीमप्रसाद ढुंगानाले संविधानले तीन तहका सरकार भनेको र संघ र प्रदेश सरकारलाई ‘सरकार’ लेख्न दिइएपनि स्थानीय सरकारलाई तह लेख्न बाध्य पारिएको भन्दै असन्तुष्टि जनाए ।
६ फागुनमा स्थानीय सरकार सञ्चालन ऐन–२०७४ संशोधनका लागि सरकारले तयार गरेको मस्यौदामाथि छलफल गर्दै गाउँपालिका महासंघ र नगरपालिका संघले संयुक्त रुपमा ऐनको परिभाषामा नै स्थानीय सरकार उल्लेख गर्नुपर्ने र स्थानीय तहलाई स्थानीय सरकार भन्ने कानुनी व्यवस्था गर्नुपर्ने सुझाव प्रतिवेदन तयार पारेका छन् ।