२०८१ बैशाख २१ शुक्रबार

मुख्यमन्त्रीको पदयात्रा : बाहुनडाँगीवासीलाई किन पटक–पटक झुक्याइँदैछ ?

बाहुनडाँगी । जे गर्नुपर्ने हो, त्यो कम गर्ने तर, गर्नुपर्ने काम चाहिं गर्दै नगर्ने । त्यसो नगर्दा हुन्न ।

झापाको पूर्वोत्तर बाहुनडाँगी भन्ने बित्तिकै धेरैले हात्ती सम्झिन्छन्, संसारले वर्षौंदेखिको हात्ती प्रभावित क्षेत्र भनेर चिन्छ । हात्तीको आगमनसँगै उसले मच्चाएको वितण्डाले सयौं नागरिकले अकालमा ज्यान गुमाउनुपरेको छ भने अन्नपातसँगै ठूलो भौतिक क्षति व्यहोर्नुपरेको छ ।

वर्षौंदेखि बाहुनडाँगीवासीसँग राज्य सत्ता र राजनीतिक दलहरुले हात्तीको समस्या समाधान गर्छौं भन्दै वाचा कसम लिखितरुपमै नखाएका पनि होइनन् । स्थानीय तह, प्रदेश वा संघीय सरकार नै किन नहोस्, यी र यस्ता वाचा सबैले गर्दै आएकै हुन् ।

बाहुनडाँगीवासीका पीडा र हात्तीको आतंकको कथा बेचेर कतिले त आर्थिक उपार्जनको मुख्य आधार नै पनि बनाएका छन् । कतिले त्यही पीडालाई भर्याङ बनाएर सत्ता र शक्तिको सिढीं उक्लिएका छन् । तर, ‘जुन जोगी आए पनि कानै चिरेको’ भन्ने उक्ति यहाँ भने सत्य सावित भइदिएको छ ।

हात्ती नियन्त्रण र मानव सुरक्षाका लागि राज्य कोषको निकै ठूलो रकम खर्चिसकिएको छ । तर, त्यो रकम बालुवामा पानी खन्याए झैं भएको छ ।

छिमेकी मुलुक भारतको पश्चिम बंगाल राज्यसँग सीमा जोडिएको यो क्षेत्रलाई दल र तिनका नेताहरुले राजनीति गर्ने मैदान बनाएका छन्, हात्तीको मुद्दालाई चुनावी अस्त्र बनाउँदै आएका छन् । यो मैदानका खेलाडीहरुले उत्कृष्टता प्राप्त गरे होलान् तर, यहाँका जनताका पीडा भने ज्यूँका त्यूँ छन् ।

खासमा छिमेकी मुलुक भारतका विभिन्न क्षेत्रबाट नेपाली भूमिमा प्रवेश गर्ने जंगली हात्तीलाई रोक्न वा व्यवस्थापन गर्न भारत सरकारले पहल नगरुञ्जेल यो समस्या बल्झिरहने जानिफकारहरुको टिप्पणी छ । यो विषयमा भारतले साँधेको मौनतालाई बुझ्ने हो भने समस्या समाधान गर्ने भारतको मनशाय देखिँदैन ।

नेपाल छिर्ने हात्तीलाई अवरोध नगर्दा समस्या समाधान गर्नतर्फ भारतीय पक्षले चासो नलिएको भान हुन्छ । जसका कारण नियन्त्रणका लागि चालिएका अहिलेसम्मका सबैखाले प्रयत्नहरु विफल हुनुमा यसलाई नै मुख्य कारक मान्न अनकनाइरहनु पर्दैन ।

राज्यले केही पनि गरेन, केही न केही त गरे हुन्थ्यो भनेर हुटहुटी लगाउने समाजका केही अगुवाहरुको सल्लाहलाई शिरोपर गर्दै कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्की नेतृत्वको टोली बुधवारबाट पदयात्रामा निस्किएको छ ।

हात्ती नियन्त्रण गर्ने दिगो र प्रभावकारी नयाँ उपाय खोज्न सो टोलीले झापाको बाहुनडाँगीबाट उदयपुरको कटारीसम्म तामझामका साथ पदयात्रा सुरु गरेको हो ।

२ सय ४० किलोमिटर दूरीको पदयात्रा थालेको टोली मानव–हात्ती द्वन्द्व समाधान गर्न सरोकारवालाहरुको धारणा बुझ्ने अभिप्रायले ‘हात्तीमैत्री पदयात्रा’ मा होमिएको छ । पर्यटन वन तथा वातावरण मन्त्रालय कोशी प्रदेशका प्रवक्ता अखिलेशकुमार गुप्ताका अनुसार १६ गते समापन हुने गरी पदयात्रा सुरु गरिएको हो ।

कोशी प्रदेशको पर्यटन वन तथा वातावरण मन्त्रालयको आयोजनामा सुरु पदयात्रामा संघीय सरकारका वन तथा वातावरणमन्त्री डा. वीरेन्द्रप्रसाद महतो, स्थानीय जनप्रतिनिधि, वनका कर्मचारी, पर्यावरणविद्, संरक्षणविद्, सामुदायिक वनका पदाधिकारीलगायत सहभागी छन् ।

जंगली हात्तीको परम्परागत जैविक मार्गलाई पहिल्याउँदै अघि बढेको यात्राका क्रममा मानव र हात्ती द्वन्द्वलाई न्यूनीकरण गर्ने उपायबारे मुख्यमन्त्री कार्कीले स्थानीय सरोकारवालासँग छलफल गर्ने बुझिएको छ ।

मानव–हात्ती द्धन्द्धको दिगो समाधानका लागि दुईदेशबीच अहिलेसम्म वार्ता भए/नभएको बारे सरोकारवालाहरु भने बेखबर छन् । राज्य कोषको ठूलो रकम खर्चिएर सुरु गरिएको यात्राले पीडितहरुमा आशा जगाउला त ? यात्रा अघि बढ्दै गर्दा भुक्तभोगीहरुमा भने अहिले यी र यस्तै प्रश्न उब्जिरहेको छ ।

२०८० फाल्गुन ९, बुधबार प्रकाशित 0 Minutes 496 Views

ताजा समाचार