२०८१ बैशाख २० बिहीबार

नेपाली समाजले किन अराजक विचारलाई साथ दिइराखेको छ ?

अहिले युट्युब होस् कि सामाजिक सञ्जाल, यसले अराजक विचार र सत्तामा भएकाविरुद्ध गालीगलौजको विचारलाई स्थापित गर्दै गएको छ । जसले सत्तामा भएकालाई जति धेरै गाली गर्छ, उसलाई त्यो समाजमा हिरोको रूपमा हेर्ने मनोविज्ञान स्थापित हुँदै गएको छ । यसलाई युट्युबमा आएको भ्युज र शेयर हेर्दा बुझ्न गाह्रो छैन ।

अराजक विचार र व्यवहार पनि एक राजनीतिक दर्शन हो, जसले सरकार तथा अधिकारको अभावको वकालत गर्छ तर यसले अन्ततोगत्वा समाजलाई कता लिएर जान्छ, त्यो भन्न सकिँदैन तर यो समाजको मुख्य धारको दृष्टिकोण कदापि होइन ।यद्यपि अहिलेको समाजको ठूलो तप्काका मानिसहरू विभिन्न कारणले अराजक विचारप्रति आकर्षित हुँदै गएका छन् ।

सरकार र राजनीतिक पार्टीप्रति अविश्वास : कुनै व्यक्ति वा समूहले विद्यमान सरकार वा कर्मचारीले गरेका भ्रष्टाचार, दमन वा सरकारको प्रभावहीनताबारे जनतालाई चर्को स्वरमा प्रभावित गर्न सक्छन् र जनताको समस्या समाधान आफूले गर्न सक्छन् भन्ने विश्वास दिलाउन सफल भएमा यस्ता अराजक विचारप्रति जनताले विश्वास गर्न सक्छन् ।

स्वायत्तताको चाहना : व्यक्तिगत स्वतन्त्रता र स्वायत्तताको आकांक्षा गर्ने व्यक्तिहरू अराजक विचारमा छिट्टै आकर्षित हुन्छन् । वास्तविकतामा यदि उनीहरूले आफूले सोचेजस्तो बलियो केन्द्रीकृत संस्थाहरूको उपस्थिति देख्दैनन् भने उनीहरू यस्ता विचारसँग छिट्टै प्रभावित हुन्छन् ।

धन र शक्तिको आलोचना : अराजक विचार बोक्नेहरूले प्राय: धन र शक्ति केही व्यक्तिको हातमा केन्द्रित भएको विरोध गर्छन् । उनीहरू तर्क गर्छन् कि यदि राज्य सञ्चालनको जिम्मा आफूहरूले पाएमा स्रोतहरूको न्यायपूर्ण वितरणको नेतृत्व गर्नेछन् ।

सामुदायिक विचारमा आधारित समाधानहरू : अराजक विचार बोक्नेहरूले प्राय: समुदायमा आधारित निर्णय प्रक्रियाहरूको वकालत गर्छन्, जहाँ नागरिकहरू केन्द्रीकृत अधिकारको आवश्यकताबिना समस्याहरू समाधान गर्न हातेमालो गर्ने गरी काम सक्नेछन् ।

पदानुक्रम संरचनाको विरोध : अराजक विचार बोक्नेहरू पदानुक्रमिक संरचनाहरूमाथि विश्वास गर्दैनन् । उनीहरूले विश्वास दिलाउन खोज्छन् कि वर्तमान राजनीति पूर्ण रूपमा शोषण र उत्पीडन गर्नेहरूको नेतृत्व गर्छन् । उनीहरू आपसी सहयोग र सहयोगमा आधारित थप समतामूलक समाजका लागि तर्क गर्छन् ।

अधिनायकवादी राजनीतिको विरोध : यस्ता विचार बोक्नेहरू केही व्यक्ति र समूहले मात्रै कब्जा गरेकाको चाहे त्यो राजनीतिक, सामाजिक वा सांस्कृतिक क्षेत्र नै किन नहोस्, त्यसलाई अस्वीकार गर्छन् र त्यसको विरोध गर्छन् ।

यो कुरा राजनीतिज्ञहरूले बुझ्न जरुरी छ कि सरकारविरोधी अराजक विचार स्थापित हुँदै गएका छन् । तर, यस्ता अराजक विचारले समाजलाई स्थायी समाधान दिँदैन र भोलिका दिन समाज कुन दुर्घटनामा पर्छ, त्यो कसैले भन्न सकिने अवस्था छैन । युवापुस्ताको मनोविज्ञान बुझेर सत्ता सञ्चालन गर्नु नै यो समाज र राष्ट्रका लागि श्रेयष्कर हुनेछ । यो कुरा पुरानो विचार बोकेका राजनीतिज्ञले कहिले र कसरी बुझ्छन् ? त्यो कुरा महत्त्वपूर्ण छ । शिलापत्र

मल्ल नेपाल प्रहरीका पूर्वडीआईजी हुन् ।

२०८० फाल्गुन ७, सोमबार प्रकाशित 0 Minutes 113 Views

ताजा समाचार