२०८१ बैशाख ३ सोमबार

कहाँ हराएको छ हाम्रो खुसी ?

– याेगी विकाशानन्द

खुसी मान्छेको मात्र होइन, अन्य प्राणीको पनि खोज हो । खुसी हुने तरिका फरकफरक हुन्छन् । जिन्दगीभर हामी जे कर्म गर्छौँ, त्यो खुसी नै खोजिरहेका हुन्छौँ । कहाँनेर हामी चुक्यौँ भने त्यो खुसी के हो ? यो कुराको बोक्रे पहिचान त भयो तर गुदी पहिचान हुन सकेन ।

खुसीबारे यसको वैज्ञानिक कारण उप्काउन चाहेँ । हाम्रो मस्तिष्कबाट दुई चीज उत्पादन हुन्छ । एउटा जैविक इलेक्ट्रिसिटी हो । त्यसलाई अल्फा, बिटा, थिएटा, डेल्टा र गामा लेभलमा विभाजन गरेको छ । यी हाम्रो मस्तिष्कले बिजुली उत्पादन गरिरहेका ब्यान्ड हुन् । कोही मान्छेले ओलम्पिकमा या कुनै साहित्यकारले कुनै गज्जबको कुरा आविष्कार गर्छन्, कलाकारले कला प्रस्तुत गर्छन् भने उनले त्यो अघिपछि प्रस्तुत गर्न नसकिरहेको र कुनै एउटा विशेष अवस्थामा आउँछ भने त्यसलाई गामा भनिन्छ । यो बेला दायाँबायाँ सबै बिर्सिइन्छ, जे गर्न खोजेको त्यही मात्र सोचिन्छ, अरु केही सोचिँदैन । धार्मिक दृष्टिमा हेर्दा यसलाई ‘अर्जुनदृष्टि’ भनेर पदावली प्रयोग गर्दै आएका छौँ । अर्जुनले अरु साथीजस्तो नानाभाँती कुरा गरेनन्, उनले भने, ‘गुरुवर, मैले चराको आँखाबाहेक केही देखिरहेको छैन ।’

हो, जसले आफ्नो लक्ष्यबाहेक केही देख्दैन, उसले आफ्नो आधा काम पहिल्यै सकाइसक्यो । अब आधा काम प्रयोग गरेपछि थाहा हुन्छ । अर्जुनदृष्टिको कुरा सयपल्ट होइन, हजारपटक गर्छौं तर हाम्रो अर्जुनदृष्टि किन हुँदैन भन्दा अर्जुनदृष्टि हुन मस्तिष्क बिटाबाट अल्फामा, अल्फाबाट ठेटामा, थिएटाबाट डेल्टामा र डेल्टाबाट पनि पर गामाको लेभलमा इलेक्ट्रिसिटी उत्पादन हुन्छ । त्यो भए हामी सबैसँग अर्जुनदृष्टि हुन्छ । वैज्ञानिकमा भए उसले आविष्कार गर्छ, खेलाडीमा भए खेलमा गोल्डमेडल जित्छ, साहित्यकार भए अब्बल दर्जाको साहित्य, कालजयी कृति जन्मिने गर्दछ ।

सफल हुनु भनेको दिमाग गामा लेभलमा चल्नु हो । खुसी हुनु भनेको के त ? खुसी हुनु भनेको हाम्रो मस्तिष्क अल्फा लेभलमा आउँछ । अल्फा भनेको इलेक्ट्रिसिटी कम उत्पादन हुनु हो । कम हुनु भनेको हामीले शान्तिको अनुभूति गर्छौं, आनन्द महसुस गर्छौं । सेरोटोनिन रसायन ब्लक हुनासाथ तपाईं हामी खुसी हुन सक्दैनौँ । यसको खुसी भनेको न धन, न प्रतिष्ठा, न प्रतिष्ठामा कतै हुँदैन भन्ने धार्मिक हिसाबले पहिल्यै आएको थियो । अहिले वैज्ञानिकले पनि खुसी र दुःख दुवै केमिकलले हो भन्ने वैज्ञानिक रूपले प्रमाणित छ । तनाव छ, दुःख छ भन्ने कुरा आर्थिक, सामाजिक कारणले आएको होला तर यो पीडा स्ट्रोस हर्मोनबाट आउँछ । सफलता, खुसी, पीडा, असफलता बाहिरको संसारमा हुँदैन । यो सबै कुरा मान्छेको दिमागमा हुन्छ । यो कुरा बुझेन भने जिन्दगीभर हामी खुसी खोज्न जानेहरू दुःख पाएर फर्कन्छौँ ।

खुसी हुनु र सुखी हुनु एउटै कुरा होइन । खुसी हुन मःम: खाए हुन्छ, एकछिन नाच्दा र हाँस्दा हुन्छ । सुखी हुनु भनेको जीवनप्रति सन्तुष्ट र आनन्दित हुनु हो । यो दुवै कुरामा पनि बायोकेमिकल चाहिन्छ । त्यो कुरा पनि हाम्रै दिमागमा छ । हामी भाग्न खोजिरहेको दुःख पनि हाम्रै शरीरभित्र केमिकलको रूपमा छ । त्यस कारण हामीले सुखी जीवन बाँच्ने हो भने मनोविज्ञानलाई बुझ्नुपर्छ । जबसम्म हामीले कारण बुझ्दैनौँ, तबसम्म निवारण गर्न सक्दैनौँ । म दुःखी हुनुको कारण मेरा बाबा रिसाएको, श्रीमतीले गडबड गरेकाले, श्रीमान्‌ले व्यभिचार गरेकाले भन्न सकिन्छ । तर, त्यसो होइन । बिहान पूर्वबाट सूर्य उदाएको र साँझ डुबेको देख्छौँ । न सूर्यको उदय हुन्छ, न डुब्छ । आखिर घुम्ने त पृथ्वी हो । अनि घुम्ने पृथ्वी नदेख्ने, नघुम्ने सूर्य घुमेको देख्छौँ । बाहिरबाट हामीले धेरै धोखा खाइरहेका हुन्छौँ ।

देश विकास हुन युवा खुसी हुनुपर्छ । किनकि जहाँ दुःख छ, उसले विकास गर्न चाहँदैन । अचेलका युवामा जोसजाँगर छैन भन्ने कुरा बोक्रा मात्र हो । गुदी कुरा के हो भने अचेलका युवालाई हामीले खुसी बनाउन सकेनौँ । हाम्रा कलेजले उनीहरूलाई खुसी हुन दिएनन्, प्रेसर मात्र दिए ।

कहिलेकाहीँ म साथीहरूलाई सोध्छु– तपाईंहरूले बोटमा केरा देख्नुभएको छ ? सबैले हात उठाएर देखेका छौँ भन्नुहुन्छ । कसैले बोटमा केरा देख्दैन । सबैले देख्ने केराको बोक्रा हो । सुन्तला कसैले देख्दैन, बोक्रा देख्छन् । त्यस कारण मान्छेले सत्य देख्दैनन्, सत्यको बोक्रा देख्छन् । त्यो बोक्रालाई सत्य भन्ठान्छ, जसको कारणले ऊ सत्यसम्म कहिल्यै पुग्दैन । सुखको गुदी, मनोविज्ञान के हो त ? संसारमा सबैभन्दा सजिलो चीज खुसी हुनु हो । किनभने खुसी हुन हाँस्दा, नाच्दा पुग्छ । हामीलाई किन गाह्रो पर्‍यो ? किनभने हामी धेरै विचार गर्छौं । खुसी हुन एकाग्र हुनुपर्छ । म बोलिरहँदा म त्यहाँ केन्द्रित भइनँ भने मैले बोल्नै सक्दिनँ । स्रोताले सुन्न ध्यान दिएन भने स्रोता खुसी हुँदैन ।

खुसी भनेको केमिकल भएकाले पैसा चाहिँदैन । खुसी हुन हामी पैसा कमाउन खोज्छौँ । खुसी हुन जुन चीज गरिरहेको छ, त्यसमा एकाग्र हुनु नै काफी छ । सन् १९७० को दशकमा अमेरिकामा रिकार्ड निक्सनको पालोमा ड्रग्स प्रतिबन्ध लगाउने घोषणा भयो । त्योबेला अफिमबाट बन्ने किसिमकिसिमका ड्रग्स प्रयोग गरिरहेका थिए । तर, वैज्ञानिकहरूको खोजी ड्रग्समा किन लागे भनेर रह्यो । त्यो सेवनपछि डोपमिन भन्ने केमिकल निस्किन्छ । डोपमिन सक्रिय भए खुसी भइन्छ, सक्रिय नभए खुसी भइँदैन । ड्रग्सले खुसी दिने हो कि केमिकलले दिने हो ? बोक्रामा खुसीको कारण ड्रग्स हो तर वास्तविक कारण दिमागभित्रको त्यो केमिकल हो । यो बुझेपछि वैज्ञानिकले सारा युवा बटुले । उनीहरूलाई बिहान कतै नहेरी दौडने भनेर अह्राए । केही समयपछि भाग्दाभाग्दा नलडेसम्मको विन्दुमा दौडन लगाए । जसले ड्रग्स लिन्थे, प्राय:ले छोड्थे, किनकि दौडँदादौडँदा डोपमिन सक्रिय हुन्छ । त्यसलाई अचेल ‘रनर्स हाई’ भनिन्छ । भाग्दा पनि निस्कने केमिकल त्यही हो ।

ड्रग्समा मान्छे किन लाग्छ ? उसले भाग्दा त्यही केमिकल उत्पादन हुन्छ, जुन ड्रग्समा हुन्छ भन्ने थाहा पाउँदैन । मान्छेलाई ड्रग्समा जान आवश्यक नै छैन । आमाबाबाले छोराछोरी, शिक्षकले विद्यार्थीलाई सिकाउन सकेनन् । ड्रग्स लिनु र भाग्नु समान हो । ड्रग्स लिँदा तपाईं खुसी भए पनि परिवार दुःखी हुन्छ । त्यही कारण कुन बाटो रोज्ने भन्ने कुरामा युवा भ्रममा परे भने हामी बोक्रालाई सत्य मानेर बसेका छौँ ।

मान्छेमा जति बढी नकरात्मकता आउँछ, त्यति बढी काम गर्न छोड्दिन्छ । जस्तैः डिप्रेसन भएका मान्छे हिँड्दा पनि बिस्तारै हिँड्छ, हात पनि बिस्तारै चलाउँछ, खाँदा पनि बिस्तारै खान्छ । शरीरको मोसन नै सुस्त हुन्छ । जब डिप्रेसनको उल्टो हुन्छ, त्योबेला फटाफट हिँड्छ । भनाइको मतलब तपाईं कति खुसी हुनुहुन्छ भन्ने कुरा तपाईंको स्पिडले बताउँछ । जति बढी नकारात्मक विचार आउँछ, त्यति काम गर्ने जाँगर घट्छ । काम गर्ने जाँगर नचलेपछि तपाईं असफल हुनुहुन्छ ।

देश विकास हुन युवा खुसी हुनुपर्छ । किनकि जहाँ दुःख छ, उसले विकास गर्न चाहँदैन । अचेलका युवामा जोसजाँगर छैन भन्ने कुरा बोक्रा मात्र हो । गुदी कुरा के हो भने अचेलका युवालाई हामीले खुसी बनाउन सकेनौँ । हाम्रा कलेजले उनीहरूलाई खुसी हुन दिएनन्, प्रेसर मात्र दिए । घरले पनि सुत्नुपर्ने बच्चालाई बिहानै उठाएर स्कुल पठाउँछ । यी सबैबाट आमाबाबा, परिवार, प्रशासनबाट तनाव दिने काम भयो । देशलाई विकास गर्न खुसी पनि चाहिन्छ ।

पोखरा आएर जति पोखरा खोजिन्छ, हामी खोज्दाखोज्दै बाहिर जान्छौँ । खुसी पनि त्यही हो । खुसी खोपडीमा छ । त्यसलाई खोज्ने होइन । जे गर्दा दुःखी भइन्छ, त्यो नगरौँ । के काम गर्दा दुःखी हुन्छौँ ? दुःख रातजस्तो हुन्छ । वैज्ञानिकहरूले अँध्यारो छैन भन्छन् । त्यो प्रकाशको अभाव मात्र हो भन्छन् । दुःख भन्ने चीज हुँदैन, त्यो खुसीको अभाव मात्र हो । शिलापत्रबाट

(पोखरामा जारी ११औँ संस्करणको नेपाल लिट्रेचर फेस्टिबलमा ‘युवा र खुसी’ सत्रमा योगी विकाशानन्दले दिएको प्रवचनको अंश)

२०८० फाल्गुन ६, आईतवार प्रकाशित 1 Minute 75 Views

ताजा समाचार