२०८० फाल्गुन २० आईतवार

विश्व रेडियो दिवस : समाज रूपान्तरणमा रेडियो

बुद्धिबहादुर केसी

रेडियो शब्दको प्रयोग सर्वप्रथम फ्रान्सका भौतिकशास्त्री बान्लीले सन् १८९७ मा गरेका हुन् । यसअघि रेडियोलाई वायरलेस टेलिग्राफी भन्ने चलन थियो । रेडियोको जन्म हुनुमा धेरै जना वैज्ञानिक/अन्वेषकको अतुलनीय योगदान रहेको पाइन्छ । यीमध्ये म्याक्सवेल, मार्कोनी, लिडी फोरेस्ट, फ्लेमिङ, फेसेन्डेल आदि प्रमुख हुन् । सन् १९१० तिर रेडियोलाई पानीजहाजमा सूचना दिने काममा प्रयोग गरिएको पाइन्छ । यस्तै दोस्रो विश्वयुद्धमा रेडियोको प्रयोग प्रचुर मात्रामा भएको थियो ।

विश्वमै सन् १९२० मा अमेरिकामा पहिलो नियमित रेडियो स्टेसन स्थापना भयो । सन् १९२२ मा बिबिसी सुरु भयो । एसियामा भने श्रीलङ्काले सन् १९२४ देखि नियमित रेडियो प्रसारण गर्‍यो भने भारतमा सन् १९३१ मा अल इन्डिया रेडियोको जन्म भयो । यसै गरी नेपालमा अनौपचारिक रूपमा विसं २००३ (सन् १९४७) र औपचारिक रूपमा विसं २००७ (सन् १९५१) मा रेडियो प्रसारण नियमित भयो । स्थापना भएदेखि नै रेडियोको मर्म भनेकै सूचना र मनोरञ्जन दिने नै हो । हरेक देशमा रेडियोको जन्म अनौपचारिक रूपमा सङ्घ संस्था हुँदै औपचारिक रूपमा राष्ट्रिय प्रसारणमा रूपान्तरण भएको पाइन्छ ।

संयुक्त राष्ट्रसङ्घ अन्तर्गतको युनेस्कोले सन् २०११ मा घोषणा गरेर सन् २०१२ फेब्रुअरी १३ मा पहिलो पटक विश्व रेडियो दिवस मनाइयो । युनेस्कोले सन् २०२४ को विश्व रेडियो दिवसको नारा ‘रेडियो : अ सेन्चुरी इन्फर्मिङ, इन्टर्टेनिङ एन्ड एजुकेटिङ’ तय गरेको छ । युनेस्कोले यो वर्ष विश्व रेडियो दिवसको नारा तय गर्दा रेडियोको गर्बिलो इतिहास, वर्तमानको सान्दर्भिकता र भविष्यको प्रतिबद्धतालाई ध्यान दिएको र आजसम्म गर्दै आएको सेवाको आधारमा सूचना/समाचार दिने, मनोरञ्जन प्रदान गर्ने र शिक्षाप्रद विषयवस्तु पस्कन सयौँ वर्षदेखिको निरन्तरतालाई पुनः स्मरण गर्न खोजेको आभास हुन्छ ।

रेडियो चाहे अमेरिकाको होस्, चाहे युरोपको, चाहे अफ्रिकाको वा एसियाको होस्, यसको मुख्य कार्य विगतदेखि वर्तमानसम्म यी तीनै विषयमा केन्द्रित छन् । फगत प्रविधिको परिवर्तनले माध्यम कहिले भूसतही त कहिले डिजिटल हुँदै २१ औँ शताब्दीसम्म आइपुग्दा केवल बोल्ने र सुन्ने रेडियो मात्र नभएर हेर्ने रेडियो र पढ्ने रेडियोको पनि विकास भइसकेको छ । न्यारोकास्टिङ, ब्रोकास्टिङको अलावा पोडकास्टिङ, डिजिटल/इन्टरनेट/अनलाइन रेडियो, रेडियो प्रसारणका पछिल्ला विकसित रूप हुन् ।

रेडियोलाई मानवतासम्बन्धी विविध पक्षको उजागर गर्ने र प्रजातान्त्रिक बहस/छलफल अगाडि बढाउन गतिलो माध्यमका रूपमा लिइन्छ । आजसम्म सबैभन्दा बढी उपयोग भएको सञ्चार माध्यमका रूपमा रेडियो नै अग्रस्थानमा पर्छ । यसरी सबै सञ्चार माध्यमभन्दा अगाडि आउनुमा रेडियोले समाजका विविध अनुभवलाई सबैसामु ऐनासरह उतार्न सक्नु, आपसमा बाँड्न सक्नु र सबै वर्ग/क्षेत्र/लिङ्गका आवाजलाई प्रतिनिधित्व गर्न सक्नु नै मुख्य कारण हुन् । फरक फरक कार्यक्रम र श्रव्य सामग्रीमार्फत रेडियोले सेवा प्रदान गर्दै आएको सय वर्ष बितिसक्दा पनि सञ्चारका अन्य माध्यमभन्दा यो माध्यमको सहजता/छरितोपना र निरन्तरता जस्ता गुणले आफ्नो वर्चस्व कायमै राखेको हो ।

संसारभरका रेडियोका प्रकृतितर्फ ध्यान दिने हो भने सार्वजनिक, नाफारहित, व्यावसायिक जस्ता विशेषता भेटिन्छन् । सार्वजनिक रेडियो, सामुदायिक वा नाफा नकमाउने रेडियो र व्यावसायिक रेडियो सबैले विगतदेखि वर्तमानसम्म विश्व रेडियो दिवसको नारासँग सम्बन्धित विषय कुनै न कुनै रूपमा उत्पादन तथा प्रसारण गर्दै आएको तथ्य हाम्रासामु छर्लङ्ग छ । रेडियो सजिलो र सस्तो आमसञ्चार माध्यमको साधन हो, जुन दूरदराजमा जोखिममा रहेका र साधनस्रोतको पहुँचमा नरहेका समुदायसमक्ष सजिलै पुग्न सक्छ । यसले मानिसलाई सार्वजनिक बहसमा सहभागी गराउन तथा समस्या र चुनौतीलाई सरोकारवालासमक्ष पुर्‍याउन एउटा प्रभावकारी माध्यमका रूपमा महत्वपूर्ण भूमिका निर्वाह गर्न सक्छ ।

रेडियोले समुदायलाई एकआपसमा जोड्न पनि सक्छ र परिवर्तनका लागि सकारात्मक छलफल अगाडि बढाउन पनि सक्छ । अझ भन्ने हो भने हामीले भोगिरहेका समस्यालाई उजागर गर्न सक्छ, जुन समाधानका लागि अचुक उपाय पनि हुन सक्छ । यद्यपि वर्तमानमा बढ्दै गएको डिजिटल प्लेटफर्म, डिजिटल डिभाइड, सामाजिक सञ्जाल, सेन्सरसिप, आर्थिक मन्दीलगायतका कारणले रेडियोले आफूलाई आत्मनिर्भर बनाउने सन्दर्भमा भने चुनौती खेपी रहनु परेको छ ।

विश्व रेडियो दिवसले रेडियोको आजसम्मको योगदानलाई सबैसामु पुर्‍याएको छ । यसका साथै सङ्कटका बेला, विपत्का बेला, महामारीका बेला र प्राकृतिक प्रकोपका बेलासमेत रेडियोले निर्वाह गरेको भूमिकालाई सदासर्वदा सम्झिने गरिन्छ । आउँदा दिनमा रेडियोले प्रजातान्त्रिक मूल्य, मान्यतालाई आत्मसात् गर्दै सीमान्तकृत, बेसहारा तथा अल्पसङ्ख्यक र शरणार्थीका लागिसमेत आवाज बुलन्द गर्दै जानुपर्ने टड्कारो आवश्यकता छ ।

नेपालमा रेडियोको अवस्था 

सूचना तथा प्रसारण विभागको पछिल्लो अभिलेख अनुसार नेपालमा ७१४ वटा एफएम नियमित प्रसारण र ११८६ वटा एफएम इजाजतप्राप्त छन् । यसमा रेडियो नेपाल अग्रणी रेडियो प्रासारण संस्थाका रूपमा विगतदेखि नै क्रियाशील छ । २०५२ सालमा एफएम प्रविधिमा प्रसारण सुरु भएदेखि एफएम रेडियोको मनग्गे विस्तार र विकास भएको पाइन्छ । संसारका रेडियोले झैँ नेपालका रेडियोले पनि मुख्य गरी सूचना/समाचार, शिक्षामूलक/जनचेतनामूलक र मनोरञ्जनात्मक सामग्री नै पस्कँदै आएका छन् । यद्यपि यस्ता सामग्रीमा प्रसारण समय र फरम्याटका हिसाबले विविधता पाइन्छ । सामान्यतया नेपालका एफएम रेडियो कानुनी रूपमा नभए पनि कार्यप्रकृति र विषयवस्तु प्रसारणका हिसाबले सार्वजनिक, सामुदायिक, व्यावसायिक र निजी प्रकृतिका देखिन्छन् । यद्यपि रेडियोको वर्गीकरण राष्ट्रिय आमसञ्चार नीति २०७३ ले उल्लेख गरे जस्तो गरी व्यवहारमा आउन सकेको छैन । बहुदलीय लोकतान्त्रिक व्यवस्थादेखि सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक राजनीतिक व्यवस्थासम्म आउने क्रममा रेडियोको प्रत्यक्ष/अप्रत्यक्ष भूमिका रहेको पाइन्छ । नेपाली समाजको अभिव्यक्ति स्वतन्तत्रता र सूचनाको हकलाई व्यवहारमा ल्याउनेदेखि समाज रूपान्तरणको प्रक्रियासम्म रेडियोले महìवपूर्ण भूमिका निर्वाह गरेको छ । हरेक प्रदेश र धेरै जसो स्थानीय तहमा रहेका एफएम रेडियोले नागरिक सचेतना अभिवृद्धि गर्न र सरोकारवालाको मागलाई सरकारसमक्ष पुर्‍याउन, सुशासन कायम गर्न पहरेदारको भूमिका पनि निर्वाह गरेको छ । आज हरेक रेडियोका एप, अनलाइन न्युज पोर्टल र सोसल साइटले गर्दा त साँच्चै भन्ने हो भने सूचना र जागरणको बाढी नै आएको छ ।

यद्यपि सीमित विज्ञापन बजार, प्रतिस्पर्धीको सङ्ख्यामा वृद्धि, व्यावसायिकताको कमी, राजनीतिक लक्ष्य अनुरूपको प्रसारण, कार्यव्रmमको मूल्याङ्कन र प्रभावकारितामा कमी, आर्थिक क्रियाकलापमा कमी आदि कारणले आफूलाई सक्षम र सबल बनाउनमा रेडियोले कठिनाइ भोग्दै आएको छ । नेपाल ग्रामीण तथा सहरी क्षेत्रको श्रेणीगत वर्गीकरण प्रतिवेदन (जनगणना २०७८) अनुसार स्थानीय तहका वडालाई वर्गीकरण गर्दा सहरी श्रेणीमा सबैभन्दा बढी बागमती प्रदेशका (२९२), सहरोन्मुख श्रेणीमा सबैभन्दा बढी मधेश प्रदेशमा (९७) र ग्रामीण श्रेणीमा सबैभन्दा बढी कोशी प्रदेशका (७२७) छन्, जसमा रेडियोको पहुँच मनग्गे पुगेको कारण सहरी र सहरोन्मुख जनसङ्ख्याको घनत्व बढी रहेको पाइन्छ ।

यसैबिच सरकारी रेडियोका रूपमा ९३ प्रतिशत जनसङ्ख्यामा पहुँच पुर्‍याउन सक्षम रेडियो नेपालाई नेपाल सरकारले सार्वजनिक प्रसारण संस्थाका रूपमा अगाडि बढाउने नीति ल्याएको छ भने अन्य एफएम रेडियोलाई वर्गीकरण गरी व्यावसायिक र निजी तथा सामुदायिक प्रकृतिमा राखेर सोही अनुसारका क्रियाकलापको अपेक्षा गरेको छ । अझै पनि मिडिया साक्षरता कमीका कारण प्रसारित विषयवस्तुको पहुँच विश्लेषण र त्यसको प्रभावको सहजै आकलन गर्न सबै उपभोक्ता सक्षम नभइसकेका कारण रेडियोबाट प्रसारण हुने सामग्रीको उचित मूल्याङ्कन र पहिचान हुन सकेको छैन । यसै पनि देशको १५ वर्षमाथिको साक्षरता दर ७६ प्रतिशत मात्र हुनु अर्को पक्ष त छँदै छ ।

सेयरकास्ट नामक गैरसरकारी संस्थाको सन् २०२२ को एक सर्वेक्षण अनुसार नेपालमा ६३ प्रतिशत जनसङ्ख्याले इन्टरनेटको प्रयोग गर्दै आएको र रेडियो सुन्ने ढाँचामा पनि परिवर्तन आएको हुँदा ४३ प्रतिशत जनसङ्ख्यामा रेडियोको पहुँच रहेको देखिन्छ । रेडियो अब डिजिटल प्लेटफर्म (वेबसाइट, एप, अनलाइन, सोसल मिडिया आदि) बाट सुन्ने, हेर्ने, पढ्ने क्रम बढ्दो छ । यसले गर्दा परम्परागत रेडियोले पनि आफ्नै डिजिटल प्लेटफर्ममा कार्यक्रम/समाचारलगायतका श्रव्य सामग्री प्रसारण गर्न नसकेको खण्डमा श्रोता/दर्शक गुमाउने खतरा छ । चर्को प्रतिस्पर्धाका कारण व्यावसायिक प्रसारक र प्रसारण संस्था बनेर निरन्तरता दिन हम्मेहम्मे परेका अवस्थामा सूचित गर्ने, स्वस्थ मनोरञ्जन दिने र शिक्षाप्रद जानकारी उपलब्ध गराउने कार्यमा नेपालका रेडियो लागिपरेकै छन् । यो दिवसले समग्र रेडियो र रेडियोकर्मीलाई आफ्नो गन्तव्यमा पुग्न थप बल मिलोस् । विश्व रेडियो दिवसको सबैमा शुभकामना ! गोरखापत्रबाट

२०८० फाल्गुन १, मंगलवार प्रकाशित 1 Minute 60 Views

ताजा समाचार