२०८१ बैशाख २० बिहीबार

त्यो ‘जनयुद्ध ‘, यो रूप र गुण हराएको माओवादी ट्रेडमार्क

नरेन्द्रजंग पिटर

‘जनयुद्ध’ले आज २८ वर्ष पूरा भएर २९औँ वर्ष लाग्दै छ । १० वर्ष २ महिना १२ दिन चलेको विद्रोहकाल र शान्तिकामी १९ वर्षमा नेपाली राजनीतिले अनेकौँ मोड र घुम्ती छिचोल्यो । त्यो बेला जन्मिएको बच्चा अहिले नेता र हाकिम, ठूलो व्यवसायी वा पौरख देखाउने भइसक्यो । चेत, अध्ययन र पक्षधारिताअनुसार ‘जनयुद्ध’लाई हेरिने, बुझ्ने र धारणा बनाउने काम हुँदै गए । आग्रहले धारणा बनाउन मुख्य भूमिका खेल्यो ।

इतिहासका पानामा कहिलेकाहीँ हजारौँ वर्ष एकै पातोमा सँगेटिन्छ भने कैयौँ घटनाले इतिहासको मार्ग नै फेरिदिन्छ । घटनाहरूका बारेमा विभिन्न कोणबाट व्याख्या विश्लेषण हुन्छन् । तर इतिहास, द्वन्द्वका इतिवृत्ति भएकाले पक्षधारिताका आधारमा चर्चा हुन्छ । हामी जे देख्न चाहन्छौँ, त्यस्तै हेर्छौं । जे सुन्न चाहन्छौँ, त्यही सुन्छौँ । समाज विकासको चरित्रलाई भने त्यसले कुनै असर पार्दैन । अचेतन मस्तिष्कमा थिग्रिएको सोचले आग्रह हावी गराउँछ । नयाँ सोच राख्न आतंकित हुनेहरू सोच्ने जिम्मा भने अरुलाई नै सुम्पिन्छन् । नयाँ बन्ने सोच राख्नु पनि पुरातन सोचका लागि आतंक बन्ने गर्छ । शक्तिले इतिहास व्यवस्थापन गर्ने प्रयास त गर्छ, तर इतिहासका पदचाप भने छोडदै अघि बढ्छ । इतिहास भनेकै वर्चस्व निर्मित द्वन्द्वका कथा हुन् । युद्धका आधार, अवस्था र कारणअनुसार यथोचित व्याख्या हुँदैन । हरेक द्वन्द्वले पुराना मान्यता, सौन्दर्य, विश्वासलाई भत्काउँदै नयाँ मान्यता स्थापित भने गर्दै लैजान्छ ।

यस तीन दशकमा रूप मात्रै होइन, राजनीतिमा गुणात्मक नै फेरबदल आए । प्रत्यक्ष टक्राहटभन्दा ‘शान्तिबीचमा’ वर्ग संघर्ष अति कडा, निर्मम र चातुर्यपूर्ण हुँदा रहेछन्– रगत नबग्ने, लास नढल्ने, तर युद्ध घनघोर चल्ने । जनयुद्धको भाव, मर्म र सन्देशलाई निरन्तरता दिन नसकेको मात्रै होइन, कम्युनिस्टका कुनै लक्षण पनि नदेखिँदा माओवादी अहिले ट्रेडमार्कमा खुम्चिँदै नाम फेर्ने अवस्थामा पुग्यो । राज्यसत्ताको चरित्रमा संघात्मक, लोकतान्त्रिक, धर्मनिरपेक्ष, समानुपातिक चुनाव प्रणालीमा पुगे पनि उसले पूर्ण स्वामित्व भने लिन सकेन ।

सरकारको चारपटक नेतृत्व गर्‍यो तर शान्ति प्रक्रिया टुंगिएन । मुख्यतः ‘सत्य निरुपण तथा मेलमिलाप आयोग र बेपत्ता छानबिन आयोगसम्बन्धी विधेयक’ले अझै कानुनी रूप लिन सकेको छैन । द्वन्द्वकालीन मुद्दाहरू संक्रमणकालीन न्याय पद्धतिअनुसार नभई परम्परागत रूपमा छिनोफानो हुँदै छन् । माओवादीलाई धोबीघाट जमघट नेपोलियनलाई वाटर लुजस्तै बन्यो । जनयुद्धको समग्र समीक्षा नहुँदै पार्टीमा अनेकौँ फुट हुँदै गए । पार्टी नफुटेको भए योभन्दा उम्दा संविधान बन्न सक्थ्यो ।

स्मृतिको अर्थ रहन्छ । लिखत इतिहासको पहिलो दास विद्रोहका नायक स्पार्टाकससँग सहयोद्धा डेविडले सुलीमा टाँगिएकै अवस्थामा सोध्छन्, ‘पिता, हामी कसरी पराजय भयौँ ?’ अर्कातर्फ कुलीन रोमनहरूका मनोरञ्जनमा ग्ल्याडिएटर के–कति हिच्कामा प्राणपखेरु उड्छ भनेर कपुवाका सडकमा बाजी लगाइरहेका हुन्थे । सुली चढाइएका ग्ल्याडिएटरहरू भने घृणाले रोमनहरूलाई थुकिदिन्थे । युद्धरत पक्षमा घृणा र प्रेम हुँदैन भने आफ्ना मान्यताको हकवाला पनि हुन सक्दैनन् । अहिले विरोधीहरू खितखिताइरहेका छन् भने माओवादीहरू चिन्तित । विद्रोही आदर्श स्खलन र बजार संस्कृति हावी हुँदा सुन्दर सपनाको बोझ गह्रुङ्गो हुन्छ । मित्र विमित्रमा फेरिने र दुस्मनहरू साखुल्ले बनेर कोखमा छुरी प्रहार गर्ने ।

नेपाली राजनीतिमा कम्युनिस्टको उत्थान, अभियान र अवस्था, चेतनाका जागृतकाल, संगठन, संघर्षकाल, पार्टी गठनको वस्तुवादी अध्ययनबेगर जनयुद्ध बुझ्न सकिँदैन । अभिजात वर्ग आर्थिक मात्रै हुँदैन, सांस्कृतिक र चिन्तनमा अझ जबर्जस्त हुन्छ । तन्नम गरिब पनि लम्पट सर्वहारा बन्न सक्छ । कुनै समयको नायक खलनायकमा फेरिन सक्छ । जनयुद्धको राजनीतिक, सामाजिक, आर्थिक, मनोवैज्ञानिक र सांस्कृतिक, नेतृत्वको विकास, बनोट र कालान्तरमा चिन्तनको सिफटबारे गम्भीर बहस र छलफलको आवश्यकता थियो । जनयुद्ध किन, कसरी भयो ? आधार कसरी तयार भए ? के परिणाम दियो ? थालनी, शान्तिवार्ता, जनआन्दोलनसँगको समायोजन, शक्तिबीचमा चलखेल, गणतन्त्रका आधार, सत्ताचरित्रमा आएको फेरबदल, शक्ति र सरकार नेतृत्व र सांस्कृतिक विचलनको मिहिन अध्ययन हुन सकेन ।

सरकार बन्छन्, भत्कन्छन् र फेरी नयाँ बन्छन । तर, सत्ताको चरित्र के–कस्तो हुने भन्ने मूल प्रश्न हुन जान्थ्यो । पात्र बदलिन्थे । प्रवृत्तिले निरन्तरता नै पाउँथ्यो । रूपबारे चर्चा हुन्थे, झिनो मसिनो फेरबदलमै सकिन्थ्यो । सामान्य टकराहट, छिटपुट झडप पनि देखिन्थ्यो तर राज्यसत्ताको यथास्थिति सम्बन्धलाई नखलबल्याई बढ्न अभ्यस्त भइरहेको थियो । जनयुद्धले त्यसलाई क्रमभङ्ग गर्‍यो । सबैलाई कित्ताबन्दी छुट्याउन बाध्य पार्‍यो । हरेक पार्टीमा बहस तीव्र भए ।

यत्रो दूरगामी महत्त्व राख्ने विषयलाई माओवादी पक्षधर र विरोधमा बाँड्ने अथवा विरोधको एकसूत्रीय एजेन्डाले मात्रै बाँध्ने प्रयास पनि त्यत्तिकै भइरहे । विद्रोह, क्रान्ति, विश्व कम्युनिस्ट आन्दोलन र नेपाली समाजमा पारेको असर र सन्देश अध्ययनको आवश्यकता माओवादीलाई मात्रै होइन, राजनीतिशास्त्र र समाजशास्त्रलाई पनि थियो, र छ । द्वन्द्व अध्येतालाई झन् थिए । यो जनतालाई र राजनेताहरूको अवस्था छर्लङ्ग्याउने, कित्ताबन्दी गरिदिने, देखिने र हुनेबीचको सीमांकन कोरिदिने काम गरेको हुँदा युगौँसम्म अध्ययन र बहसको महत्त्व रहनेछ ।

‘जनयुद्ध’ के थियो ?

समाजको प्रभुत्व राख्ने तप्काविरुद्धको दर्शन नै ‘जनयुद्ध’ थियो । आदेश र चाहनाले मात्र समाज परिवर्तन हुँदैनथ्यो । आधारमा टेकेर एकाध मान्छेले देखेका सपना एकै समयमा समाजले ह्वात्तै देख्न थालेपछि त्यो विद्रोह बन्दोरहेछ । त्यो सनातनी राजनीति, आर्थिक, सामाजिक र सांस्कृतिक हस्तक्षेपले पैदा गरेको नयाँ जागरणको शङ्खघोष थियो । उत्पीडित र आवाजरहितका लागि तागत, सत्ता, आशा, भरोसा र सपना थिए । उत्पीडकका लागि भने आतंक ।

कतिपय ठाउँमा अतिवाद अपराधी बनेर पनि देखा पर्छ । आदर्शवादी समाजको अपेक्षा क्रान्ति वा परिवर्तन अरुकै मिहिनेत, संघर्ष र लगानीबाट होस् तर उपभोगको पहिलो हकदार आफू हुन पाइयोस् भन्ने हुन्छ ।

सशक्त हस्तक्षेपले सबै प्रकारका सत्तामाथि प्रहारले सामाजिक चेतना खजबजियो । निर्धा र सुदूरबस्तीले शक्ति चिन्यो । हरेक क्षेत्रमा महत्त्वाकांक्षा जागृत भए । विधिमा टेक्दै, विधि भत्काउँदै, विधि निर्माणमा वर्ग संघर्षका जटिलता थपिए । दर्शनमा रहेको राजनीतिलाई सामाजिक परिवर्तनको ज्यावल बनाउन चाहिने योग्यता, क्षमता, पहल, कला र जोखिम उठाउन कुनै गणितीय सूत्र हुँदैन । त्यसै समाजको ऐतिहासिक विकासक्रम, सांस्कृतिक सम्बन्ध, अर्थ संस्कृतिको प्रभावसँग जोडिएकाले युगका सपना मान्छेका भाग्यसँग जोडिएका हुन्छन् । संघर्ष नापीतौली हुँदैन । भिन्नभिन्न चरित्र सहभागी हुन्छन् ।

कतिपय ठाउँमा अतिवाद अपराधी बनेर पनि देखा पर्छ । आदर्शवादी समाजको अपेक्षा क्रान्ति वा परिवर्तन अरुकै मिहिनेत, संघर्ष र लगानीबाट होस् तर उपभोगको पहिलो हकदार आफू हुन पाइयोस् भन्ने हुन्छ । युद्धमा तटस्थता हुँदैन । सत्य जहिले पनि कमजोरको साथमा हुन्छ । युद्धमा बल मात्रै होइन, कला र कूटनीति पनि आवश्यक पर्छ । हस्तक्षेपको राजनीति ग्रामीण क्षेत्रमा पुगेपछि समाजमा शक्ति सन्तुलन खजबजियो । अभिजात तप्काले त्यसलाई सहज रूपमा लिन सकेन । आफ्नो शक्तिको मौलिक पहिचान गर्न सकेकाले उत्पीडित तप्का पनि आफ्नो फरक धारणा बनाउने भए ।

उत्पादनका साधन, स्रोत र स्वामित्वमा हेरफेर, श्रम र चेतनाको विकासका साथै समाजमा नयाँनयाँ द्वन्द्व सिर्जना भइरहन्छन् । रूप, प्रभाव र आयतनअनुसार असर छोड्छ । राजनीतिक सभ्यताको विकासमा सत्य समयसापेक्ष हुन्छ, प्रकृतिमा भने सार्वभौम चरित्र । जनयुद्ध स्वीकार वा अस्वीकार गर्ने सबै पक्षमा द्वन्द्वले हस्तक्षेप गरेपछि समाजमा पनि चिन्तन, पक्षधरता र भूमिकाले फड्को मार्दै गयो । शान्ति प्रक्रियामा आँउदा माओवादीले ‘जे, जसो होला, त्यस्तै नीति र विधि तयार गरौँला’ भनेर योजनारहित प्रवेश गर्‍यो । भद्रगोलबीचमै हमला गर्नुपर्छ भन्ने कुरा युद्धमा मात्रै हुन सक्थ्यो । २०६३ वैशाख १२ र १३ बीचमा क्यालेन्डर मात्रै होइन, गुणमा पनि भिन्नता थिए । भाष्य फेरिए । सत्ताका लागि माओवादी आतंककारी रहेन भने माओवादीका लागि राज्यपक्ष वर्गदुस्मन रहेन । तर, दुवैलाई एकापसमा पूर्ण विश्वास भने थिएन ।

शक्तिमा आएको हेरफेरले समाजमै उथलपुथल ल्यायो । परिस्थिति सबै इच्छा र मार्गचित्रमा हाँकिन्छ भन्ने सरोकारवालाले भ्रम पालेका थिए । तिमी तिम्रो तरिकाले बढ, हामी हाम्रो तरिकाले बढ्छौँ भन्दै बढे । राजतन्त्र सदाका लागि बिदा भयो । शक्तिबीचमा लेनेदन हुँदै अन्तरिम संविधान बने पनि आमचुनावको परिणाम दुवैले सोचेजस्तो आएन । माओवादीले त्यति ठूलो विजयको कल्पना गरेको थिएन । तब सहमतीय अभ्यासले विमति दिशा समात्न पुग्यो ।

सम्झौता र सहमति जय र पराजय नभई शक्ति सन्तुलनको अनिवार्य नियति बन्न पुग्यो । सबैका आ–आफ्नै सोच, योजना रहे । सत्ता र सरकार एउटै थिएन । सत्ताले शक्ति सञ्चय गर्दै गयो, विरोधी बौरिँदै गए भने विद्रोहीको नैतिक पुँजी क्रमशः क्षय हुँदै गयो । परिवर्तनको भोको जनमत रूपमा होइन, माओवादीलाई नयाँ शक्तिको व्यवहारमा प्रत्यक्ष अनुभव गर्न चाहन्थ्यो । सरकारको नेतृत्व गर्दा कतिपय निर्णय प्रत्युत्पादक बन्न पुगे । शान्तियुद्ध आफैँमा कलामय लडाइँ हुन्थ्यो । विद्रोहीसँग आफ्नै दक्ष जनशक्ति थिएन । पुरानै सत्ता मेसिनरीलाई विश्वास गर्नुपर्थ्यो । कर्मचारीतन्त्र, अदालत, सुरक्षा निकाय, कर्पोरेट मिडिया र द्वन्द्व व्यवसायी शक्तिको पुजारीदेखि यता पनि उनीहरूको बफादारिता भने फेरिएन ।

माओवादीहरू पनि युद्ध मानसिकतासँगै थिए । तर, आदर्शले जन्माएको आचरणलाई निरन्तरता दिन विद्रोहीले सकेनन् । क्रमशः माओवादीप्रति विश्वास र विद्रोहीका सपना पनि फेरिँदै गए । युद्धको ह्याङओभर, जडसोचले महत्त्वाकाङ्क्षालाई समयमै व्यवस्थापन गर्न सकेन । विद्रोहले पैदा गरेको आवेग मत्थर हुँदै जाँदा प्रतिपक्षले खेल्ने नकारात्मक भूमिका खुट्याउन सकेन । आफैँभित्र भष्मासुर, शकुनि र धुन्धुकारी चरित्रमा फस्यो ।

सहमतिको दर्शन

सहमतिको राजनीतिमा शक्ति सन्तुलनको कूटनीतिक अभ्यास मात्र हुन्छ । विरोधीको अन्तरविरोधमा सधैँ खेल्न सकिँदैन । दुस्मनले पनि चाल पाइसकेको हुन्छ । कार्यनीति नै रणनीति बनेपछि आन्दोलनमा गडबडी सुरु हुन्छ । स्वतन्त्र पहलकदमी गुम्न पुग्छ । शान्ति सम्झौतासँगै माओवादी मार्क्सवादीभन्दा सहमतिको दर्शनले चल्न थाल्यो । त्यसले आन्तरिक र बाह्य प्रभाव पर्दै जाँदा विश्वासमा संकट र पार्टी भुत्ते बन्दै गयो ।

सिद्धान्तको राजनीति सुविधाको राजनीतिमा फेरिँदै जाँदा सिद्धान्तभन्दा कूटनीतिक भूमिका हावी भए । विचारलाई भावनात्मक रूपमा मात्रै स्वीकारेर सांस्कृतिक रूप फेरिँदैन भने राजनीति जीवन पद्धति बन्न सक्दैन । आफ्नै स्वीकारोक्ति पनि कालान्तरमा बोझ बनेर उछित्तो काढ्न थालिन्छ । सहमतीय यात्राले सामन्तवादको प्रतीक राजतन्त्रको अन्त्यसँगै आधुनिक इतिहासका ढोका खुले । शक्ति सन्तुलनको अनिवार्य विश्राम सुरुवात हुँदा सामन्तवादबाट सम्बन्धविच्छेद गर्दै राजनीति अगाडि बढ्ने कडी बन्यो । तब फेरि नयाँ रूपमा वर्गहरू, चिन्तनहरू, सम्बन्धहरूका टकराहट फेरि सुरु भए ।

राजनीतिको केन्द्रीय लक्ष्य सत्ता हो । सत्ताप्राप्तिका तरिका, उद्देश्य भने फरक हुन्छन्, केही मुद्दाहरू भने अत्यन्तै चञ्चल पनि । विचार तपसिलमा परेपछि नेतृत्वमा वैचारिक दृढता रहँदैन । म जे पनि गर्न सक्छु र त्यो नै विचार बन्न पुग्छ भन्ने भ्रमित विश्वास पैदा हुन्छ । बन्दुकभन्दा विचार शक्तिशाली हुन्छ तर बन्दुक दिनु सजिलो भए पनि बुद्धि दिनु, क्षमता विकास र प्रयोग गराउनु अत्यन्तै मुस्किल हुन्छ ।

विद्रोही सफल भयो भने क्रान्तिकारी हुन्छ, उसकै पक्षमा इतिहास लेखिन्छ । विद्रोही असफल भयो अथवा उल्ट्याइयो भने आतंककारी हुन्छ । चिहान खोतलेर पुरिएका लास पनि चौबाटोमा उभ्याएर फाँसी दिइन्छ । शक्तिका तथ्य र सिद्धान्तमा नभई तत्कालीन राजनीतिक अभ्यासमा भर पर्छ । हुकुममा समय हाँकिदैन । तब विपक्षबाट आस्था र आग्रह उरालिन्छन् । अन्ध आस्था भनेको दुईधारे तरबार हो । मार हान्नेलाई नि चोट पुग्छ, मार खानेलाई पनि । शान्तिपूर्ण अभ्यासमा उदारता घातक हुन्छ ।

मनोयुद्धको चक्रव्यूह

टाढाको देख्ने, सोच्ने तर निजी जीवनमा प्रयोग नगर्ने कोही छ भने नेपाली ’कम्युनिस्ट’ सोचे हुन्छ । ब्रह्माण्ड, साम्यवाद, वैज्ञानिक समाज त सोच्छ तर दिमागमा आदिम राजतन्त्र, अभ्यासमा उपभोक्तावाद, कथनमा समाजवाद राख्ने ऊ त्रियुगको रिमिक्स मनुवा हो । कोइला र मान्छेको जलन खतम नभइञ्जेल भइरहनेछ । कोइला खरानी बनेर मान्छे समग्र मानवीयता, संवेदना, सपना र व्यक्तित्व ध्वस्त भएर ।

क्षमतावान्‌मा जागेको महत्त्वाकांक्षा आन्दोलन बन्छ भने अक्षमताको महत्त्वाकांक्षा कुण्ठा र मनोरोगमा फेरिन्छ । समाज यथास्थितिमा रहन सक्दैन, सपना तुहिँदैनन्, दुनियाँमा आन्दोलनले धक्का खान सक्छ तर आन्दोलनको अन्त्य कहिल्यै हुँदैन, विद्रोही जन्माउने कोख कहिल्यै बाँझो हुँदैन ।

मानव मस्तिष्कलाई प्रविधिले नियन्त्रण गर्न सक्दैन । परिस्थितिले चेतनालाई असर पार्छ । क्रान्ति र परिवर्तन एकाध शूर, वीर, योद्धाहरूले मात्रै थिएन । आदर्शवान्‌ले पनि गतिशीलता पछ्याउन सक्दैन भने आफूलाई समय सार्थक बनाउन सक्दैनन् । क्षमतावान्‌मा जागेको महत्त्वाकाङ्क्षा आन्दोलन बन्छ भने अक्षमताको महत्त्वाकाङ्क्षा कुण्ठा र मनोरोगमा फेरिन्छ । समाज यथास्थितिमा रहन सक्दैन, सपना तुहिँदैनन्, दुनियाँमा आन्दोलनले धक्का खान सक्छ तर आन्दोलनको अन्त्य कहिल्यै हुँदैन, विद्रोही जन्माउने कोख कहिल्यै बाँझो हुँदैन ।

अस्वीकार गर्न सकिन्छ इतिहासलाई तर इतिहास मेटाउन भने नयाँ इतिहास रच्नुपर्छ । म जसका लागि लडेँ, ती मेरा आफन्त थिएनन् । जसका विरुद्ध लडेँ, ती मेरा शत्रु पनि थिएनन् । आवेगलाई उत्तेजना फैलाउन विचारसहित हुनुपर्छ । चक्रव्यूहमा फसाउने प्रयास परास्त गर्दै, छलिँदै र जोगिँदै अगाडि बढ्दै गएको माओवादीसँग योजना, दृढता र आत्मबल खस्कँदै गएपछि पुरानो परिचय रित्तिँदै गएको हो । हरेक पार्टीमा सामाजिक मनोभावको प्रभाव पर्ने गर्छ । त्यसैअनुसार बनेका शक्ति केन्द्रमा घेराबन्दी पर्छन् । शक्तिले यथार्थ देख्न नसक्नुमा सुविधा, सुरक्षा र सम्मान खोज्नका कारण हुन्छन् । तब पार्टीमा गुट सिर्जना हुन्छ । नेता र कार्यकताको योग्यता र सुरक्षा भनेको गुटको फुर्को समाउनु, गुठियारलाई उत्तेजनामा ल्याएर शक्तिको भर्‍याङ चढ्नु, लाउके बथान तयार गर्नु, दम्भको प्रदर्शन गर्नुमा रहन्छ ।

असुरक्षाभाव पलाएपछि आदर्श र दायित्व तपसिलमा पर्छन् । गुट जन्मिएर पार्टी मर्दै जान्छ । व्यक्तिकेन्द्रित चिन्तन बढ्दै जान्छ । आलोचकहरूका बहीखाता तयार भएर अवसर र भूमिकामा वञ्चित गरिन्छन् । राम्रोको ठाउँ हाम्रोले –(गुटको) ओगटिँदै जान्छ । शक्तिलाई आलोचनात्मक चेत मन पर्दैन । राजनीतिक सुरक्षाका लागि गुटको फुर्को समाउनुपर्ने हुँदा नेताभन्दा गुट नाइकेको जन्म हुँदै गयो । आधारभूत कार्यकर्ता र जनता कट्दै गए । लालदास र पाहुनाहरूको हालीमुहाली हुन थाल्यो । त्यसले पार्टीको आधार भत्कँदै गयो, अन्तरविरोध बढ्दै जाँदा फुटमा फेरियो । आदर्शको चिहानघारीमा इतिहासको हकदाबी देखियो ।

उपभोक्तावादी चकचकीसँगै वासनाग्रन्थी रसाउँदै गएपछि बजारसंस्कृतिको दलदलमा माओवादी फस्दै गयो । पुराना सम्बन्ध, आदर्श, प्रतिबद्धता क्रमशः कमजोर बन्दै गए । नयाँ सम्बन्धको विकासले अनेकौँ आशङ्का जन्मँदै गयो । आकांक्षा, लालसा, महत्त्वाकांक्षा र बजार संस्कृतिको घालमेलले घमण्ड, अहङ्कार र तुजुक प्रदर्शनजस्ता स्वभाव छताछुल्ल हुँदै गए । रूपमा रहे पनि पुरानो परिचय सकिँदै गयो । आस र त्रास संगठनको चालक शक्ति बनेपछि आलोचनात्मक चेत निषेध भएर लालदासको जन्म हुँदै गयो । क्रान्तिको क्षतिपूर्ति र इतिहासको ब्याज खोज्ने पार्टीभित्र क्यान्सर रोग बन्यो । विगतलाई भर्‍याङ बनाएर औकातको विज्ञापन बोझ बन्दा आदर्श र सपनाले गिज्याए । रूपान्तरण गफ बन्दा अरु सबै फेरिनुपर्ने, अरुमा त दोष छ तर ममा छैन भन्ने मनोभाव रहँदै गयो । विषय गम्भीरतालाई निमित्त कारण र आग्रही खेलमा सीमित पारिए । समस्या विधिमा, नीतिमा, योजनामा, कार्यान्वयनमा केमा छ ? भनेर निदान खोजिएन ।

हजारीलालको खचाखच जम्बो कमिटीले गर्न पनि सक्दैनथ्यो । पद सुरक्षा, सुविधाको नभई दायित्वसहित हुने गर्छ, अझ मानार्थ पद त कम्युनिस्टमा हुँदै हुँदैनथ्यो । दण्ड र पुरस्कार नभएर हरेक समस्यालाई प्राविधिक हल खोजियो । उत्तराधिकारीदस्ता तयार हुन सकेन । सामूहिक चेत, योजना र सपनाको केन्द्रिकृत अभिव्यक्ति भनेकै नेतृत्व हुन्थ्यो । नेतृत्व हस्तान्तरण भनेको वस्तु लिने र दिनेको अर्थमा हुँदैन । कमजोरीको औचित्य सावित गर्न अनेकौँ तर्कको सहारा लिइन्छ । कर्तासँग जस्तोसुकै कामलाई औचित्य दिने तर्क हुन्छन् । मानिसको आन्तरिक चालक शक्ति वा ऊर्जा भनेको के हो जसले आफूले गरे, भनेका कुरा सबै ठीकजस्तो लाग्छ ?

जबसम्म कुनै कर्ताले आफूले गरेको कुरा सही हो भन्ने सोच्दैन भने कुनै पनि सुकार्य त छोडौँ, कुकृत्य गर्न पनि हौसिँदैन । यी सबै विरोधी र वैश्विक दुस्मनले नियालिरहेका थिए । प्रत्यक्ष युद्धमा पराजय गराउन नसकेको शक्तिमा बजार संस्कृति हावी गराएर स्वत्वका टकराहटमा फसाइयो । पराजित शक्ति अझ उन्नत योजना र विद्रोहीको कमजोरीमा खेलेर विजय सुनिश्चित गर्छ । कर्पोरेट मिडिया, साम्राज्यवादी आईएनजीओ, धार्मिक रुढिवाद र सनातनी सत्ताको सिन्डिकेटले प्रतिकारका आधार तयार गरे । सामूहिक विवेकलाई घृणास्पद उत्तेजनामा ल्याएर विद्रोही एजेन्डाकै बीभत्सीकरण गरेर सामाजिक मनोदशा तयार गरिदियो ।

षड्यन्त्र ढोल पिटेर आँउँदैन । तब स्वयम् चनाखो हुनु, जोगिनु, धराप छिचोल्दै बढ्न परिवर्तनवाहकसँग नैतिक पुँजी र इच्छाशक्ति जोगाउनु अनिवार्य सर्त हुन्छ । वर्ग संघर्षका रूप फेरिएपछि त शीतयुद्ध झन् निर्मम हुन्छ । हारेको शक्ति आफ्ना कमजोरी सुधार्दै विपक्षको कमजोरीलाई चुपचाप अवसरको रूपमा लिइरहेको हुन्छ । खेलभित्रका झेल हुन्छन् । कहीँ पनि दुस्मनले गोलपोस्ट चुनौतीरहित छोडिदिएको हुँदैन, त्यसलाई कलामय रूपले छिचोल्नुपर्छ । सपनीको पनि एक्सरे मात्रै होइन, एमआरआई भइरहेको अवस्था र सूचना सञ्चारको तीव्र विकास भइरहेको समयमा दुस्मनको चाल थाहा नहुने छुट कसैलाई हुँदैन ।

परिणामपछाडि तालिका फेर्न सकिँदैन । आमूल परिवर्तन आत्मबल खस्किएको बेला प्रतिगामी शक्तिको हौसला बढ्छ, द्वन्द्व उद्यमीको जिब्रोबाट र्‍याल बढ्दै द्वन्द्व कारखाना फस्टाउने सपना देख्न थाल्छन् । समाजको महत्त्वाकांक्षाको सकारात्मक व्यवस्था हुन सक्दैन । विद्रोहीको समस्या बाहिर नभई आफैँभित्र छ भन्ने आत्मबोध भएन । जब रोग सही खुट्याइन्छ, तब मात्र उपचार सही हुन्छ । विचारलाई सामाजिकीकरण गर्न नसक्नु दुर्बल पक्ष रहे । विचारअनुसारको व्यवहारको जनमतले शालीन, भद्र, सहज र सरल व्यवहारको अपेक्षा गर्छ भन्ने चिन्तन रहेन ।

बजारसंस्कृतिमा रमिनु र जनमतसँग कटिनु, एजेन्डालाई जनताको दैनिक जीवनसँग ढाल्न नसक्नु सबभन्दा दुर्बल पक्ष रह्यो । जनतासँग गाँसिएको र प्रतिबद्धतासँग जोडिएको पार्टी ठूला दुस्मनसँग भिड्न सक्छ । तर, पार्टी बहस र कार्यक्रम बनाउने थलो नभई अनुमोदक मात्र बन्यो भने हुकुमीतन्त्रमा फेरिन्छ । दण्ड र पुरस्कार त नेताको स्वेच्छा बन्छ । त्यसैले बोगटी आयोग र शेरचन आयोगका प्रतिवेदन सार्वजनिक भएनन् । बरु दामलीहरू पुरस्कृत भए । कुनै योगदान नभए पनि नवआगन्तुकको बिगबिगी बढ्न थाल्यो । कुनै मानक, विधि औचित्य नदेखाई खल्तीबाट पद वितरण हुन थाले । समस्याको हल विधि नभई समस्यालाई घर्काउने वा प्राविधिक हल खोजियो ।

जनतासँग गाँसिएको र प्रतिबद्धतासँग जोडिएको पार्टी ठूला दुस्मनसँग भिड्न सक्छ । तर, पार्टी बहस र कार्यक्रम बनाउने थलो नभई अनुमोदक मात्र बन्यो भने हुकुमीतन्त्रमा फेरिन्छ । दण्ड र पुरस्कार त नेताको स्वेच्छा बन्छ । त्यसैले बोगटी आयोग र शेरचन आयोगकाप्रतिवेदन सार्वजनिक भएनन्

रिङमा पसेपछि खेलका नियम पालन त गर्नैपर्छ । षड्यन्त्र थाहा नपाउनु, नचिर्नु, काउन्टर नीति तय नगर्नुलाई अन्यत्र दोष दिएर मात्र पुग्दैन । समस्या चिर्ने क्षमतामा खोजिनुपर्छ । समस्या पैदा नगर्ने प्रतिस्पर्धीको कल्पना गर्नु मूर्खता हुन्छ । लडाइँको मूल योजना र उद्देश्य भनेको जित्नु हो । विरोधीले कहिल्यै पनि मैदान खाली गरिदिँदैन । गोलपोस्ट खाली भएको कुनै खेल हुँदैन । त्यसैले जनविश्वासलाई कार्यक्रममा लागू गर्ने सङ्गठन आवश्यक पर्ने गर्छ । सत्ता र सरकार भनेका भिन्न हुन् । पार्टी फुट्यो, दोस्रो आमनिर्वाचनदेखि अकाल्पनिक पराजय व्यहोर्दै गयो । छद्म युद्धको आर्क छिचोल्न सीमा समस्या बढ्दै गए । त्यसैलाई उसका विरोधीहरू काँध हालेर प्रशंसा गर्दै अन्तरघुलन गर्दै ध्वस्त गर्दै थिए । आक्रामक साम्राज्यवाद सिद्धान्तको अन्त्य भयो भनेर दुन्दुभि पिटिरहँदा विचारको मार्गचित्रले कोरेको जनयुद्ध पचाउन नसक्ने मात्र होइन, नयाँ प्रयोग बिनारक्तपात ध्वस्त गर्न चाहन्थ्यो । पुँजीवादी समाजवादी अभ्यास त पचाउन नसक्ने ‘उदारवादीहरू’ कम्युनिस्टको फोबिया मात्र थिएन, अझ माओवादी भनेको बलपूर्वक सत्ता कब्जा गर्ने र चिनियाँ सांस्कृतिक क्रान्तिका अनुयायी भएकाले यस संवेदनशील भूगोलमा केन्द्रीय सत्तामा लोकप्रिय अभिमतद्वारा पुगेको हेर्नै सक्दैनथे । युद्धको धराप छिचोलेर आन्दोलनलाई नयाँ मार्गचित्रअनुसार अगाडि बढाइरहेको सह्य थिएन । जनयुद्धकालीन सीमा, समस्या, आग्रह र प्रहारलाई एकीकृत गर्दै शक्ति सञ्चय गरेका विरोधीहरू कलामय तरिकाले विचारमाथि धावा बोलिरहेका थिए । धार्मिक रुढिवादी आस्था र संस्कृति, कर्पोरेट मिडिया, एनजीओमा, कुलीन र सत्ता बुद्धिजीवीहरूको सिन्डिकेट बनेको थियो । विद्रोही शक्तिले समय घर्काउने चाल बुझ्न सकेन । सङ्क्रमणकाल लम्बिँदै गयो । विद्रोहको राप र ताप कम गर्ने, थिलथिलो पार्ने, उपभोक्तावाद र परिवारवादमा फसाएर नैतिक अपिलको हतियार छिन्ने युद्धनीतिको चाल पाएन ।

राजनीतिक चरित्रअनुसार सङ्गठनको स्वरूप, भूमिका र सांस्कृतिक चरित्रको माग गर्दछ । त्यस्तो शक्तिलाई कुनै प्रपञ्च र षड्यन्त्रले धरापमा पार्न सक्दैन । जनयुद्धदेखि नै माओवादीको उदासीन पक्ष भनेकै राजनीतिक संस्कृतिको विकास गर्न नसक्नु हो । अझ त्यो शान्तिकालमा छ्याङछ्याङ्ती देखापर्‍यो । दुस्मनको मोर्चामा पड्किनेहरू बजारमा ढल्नुपछाडि क्रान्तिको क्षतिपूर्ति खोज्ने र भाडाका सेनाको चरित्रभन्दा माथि उठ्न नसक्नु राजनीतिक संस्कृति विकास गर्नमा उदासीनताले गर्दा हो । पहिचान र सामर्थ्यको खोजी, त्यसको मूल्य भुक्तान र सामाजिक उथलपुथल बनेका केन्द्रीय मुद्दा, पैदा गरेको राजनीतिक अवस्थाबारे आ–आफ्नै कोण, सोच र पक्षधरताका आधारमा समीक्षा हुँदै जालान् । यद्यपि नेपाली ‘जनयुद्ध’ अहिले मनोयुद्धमा फेरिएको छ । वर्ग, चिन्तन, भूमिका र आदर्श टकराहट घनीभूत भइरहेका छन् । माओवादी तोडफोडका अभियान चलेका छन् । ती स्वाभाविक, सैद्धान्तिक थिए कि आर्थिक संस्कृति र स्वत्वका टकराहट थिए, थप अध्ययनको विषय हो । झण्डै दुई दशकदेखि नेपाली राजनीतिक घटनाक्रम यति तीव्रताका साथ बढे कि त्यसको गति पक्रनसमेत सामान्य जनलाई सहज र सरल भएन । धेरैका भविष्यवाणी हावादारी भए । स्वयम् माओवादीका कैयौँ नेतृत्व आफ्नै बोझ धान्न नसकेर बामपुड्के देखिए । जुन बेला जेलाई महत्त्व दिनुपर्थ्यो, त्यसलाई उपेक्षा गरे ।

जनयुद्धको बाइप्रोडक्ट

माओवादी आफूलाई राजनीतिको मूलधार मानोस् र आफ्नै मार्गचित्रको आचार, विचार र व्यवहार देखाओस् भन्ने अपेक्षामा थियो । विरोधीको अनुमान भने खुला परिवेशमा आउनेबित्तिकै माओवादीहरूको शक्ति क्षीण हुन्छ र गुमेको औकात पाउन सकिन्छ भन्ने रह्यो । दुवैका आकलन वस्तुवादी थिएनन् । गलत परिणाम आएपछि प्रपञ्च रचिन थालिए । मधेश, थारूवान्, जनजाति र दलितमा उसैको नारा हत्याएर उसैमाथि आक्रमण हुन थाल्यो । अनेकौँ ठाउँमा आवेग र उत्तेजनामा फसाउने प्रयास भए ।

वैचारिक विचलन गराउने र यदुवंशी तयार भए । विरोधीका अनुमान र आकलनलाई निरस्त्र पार्दै पहिलो चुनावी परिणाम आएपछि पुरातन शक्तिहरू हैरान भए, तब माओवादीलाई सरकार बनाउनबाट रोक्न सकिन्छ भन्ने खेल सुरु भयो । या त माओवादी फेरिनु पर्थ्यो, नत्र ऊ सरकारविहीन हुनुपर्थ्यो । फेरिनुको अर्थ हुन्थ्यो जसरी सनातनीहरूले २०४६ देखि अहिलेसम्म गरे, त्यस्तै हुनुपर्थ्यो– सैन्य नेतृत्वको मातहतमा नागरिक प्रशासन चल्नु र विदेशी आदेश र योजनामा हाकिँनु । जब त्यो माओवादीलाई स्वीकार भएन, तब संवैधानिक परिकल्पनाको विवादरहित राष्ट्रपतिको काधँमा बन्दुक राखेर पड्काइयो । सेनापति रुक्मांगत कटवाल प्रकरणमा राष्ट्रपति रामवरण यादव र माओवादी सुप्रिमो प्रचण्ड दुवैले आत्मसमीक्षा गरिसकेका छन् । इतिहासको शिक्षा सबैले लिनुपर्छ ।

अझ कम्युनिस्ट विद्रोहबाट राज्यसत्ताको केन्द्रमा पुग्दा वर्गविरोधीहरूलाई पाच्य हुँदैन । शक्ति सन्तुलन हेरफेरको अवधिमा केही पछि हटेजस्तो, मत्थर भएजस्तो हुन सक्छ । तर, त्यो अवधि थाकेको, हारेको, परिवर्तनका एजेन्डा स्वीकारेको जस्तो देखिए पनि वास्तविकता त्यस्तो हुँदैन । बरु हजारौँ वर्षदेखिको सत्ता अभ्यासलाई कलामय भद्र तरिकाले लडिरहेका हुन्छन् । पहिला विद्रोहका ऊर्जा शिथिल बनाइएर आशालाई निराशा र आक्रोशमा फेरिन्छ । विद्रोहीका मानवीय कमजोरी छामिन्छन् । एजेन्डाका मर्म, वजन र सन्देशलाई बीभत्सीकरण गरिएर मूल चरित्रमाथि धावा बोलिन्छ । विचारभन्दा भावनामा खेलिन्छ । एजेन्डालाई विषयान्तर बनाइन्छ वा न्यूनीकरण गरिन्छ । आपसी अविश्वास, भ्रम र मनोमालिन्य गराएर विद्रोही शक्तिलाई विभाजित गरिन्छ । एजेन्डा हकदाबी रहेको हैसियत ध्वस्त पारिन्छ । बीभत्स सुन्दरताका गाथा रचिन्छन्, छिद्रमा खेलिन्छ । जनमतलाई भ्रमित गर्न सजिलो हुन्छ । विद्रोहीहरू अहङ्कार, घमण्ड, निजी विषय र बजार संस्कृतिका दास बन्दा आलोचनात्मक चेत निषेध भएको पत्तै पाउँदैनन् ।

खबरदारी गर्ने, सचेत पार्ने र नियन्त्रण गर्ने अङ्ग शिथिल हुँदै जान्छन् । सामूहिक जीवनबाट निजी चिन्ता, वर्गबाट पारिवारिक मायामोह बढेपछि बजारको धरापमा फस्नु अन्यथा हुँदैन । एकातर्फ क्रमशः वर्ग सिफ्ट, अर्कातर्फ परिवर्तनलाई सौन्दर्यकरण गर्ने बौद्धिक तप्का गुलियो चटानपछि अभिजात तप्कालाई विवेक अर्पित गर्न पुग्छ । हिजो जुन विषय, संस्कृतिको विरोधी हुन्छ, फेरिएको अवस्थामा त्यसैको अनुयायी हुन पुग्छ । त्यो कुरा मिहिन पाराले विरोधीहरू नियालिरहेका हुन्छन् ।

माओवादीहरूले इतिहासलाई दिनुपर्ने उत्तरहरू

पहिला झुट बिस्तारै हिँड्थ्यो । अहिले सूचना प्रविधिको पखेटा लगाएपछि छिनमै संसार चहार्छ । सही सूचनाले आत्मबल पाउँछ भने फर्जी सूचनाले ज्ञानलाई मार्छ । आलोचनात्मक चेत कमजोर पार्छ । मान्छेलाई भिडमा फेरिदिन्छ । केही समयदेखि जिज्ञासाको हत्या भइरहेको छ । परिवर्तन पहिला सोचमा तब मात्र एक्सन प्रक्रियामा आउँछ । तथ्यलाई तथ्यले, तर्कलाई तर्कले प्रतिकार गर्नुपर्छ । तर, सुविधाअनुसारका सिद्धान्त र तर्कले तितो सत्यको सामना गर्न सक्दैन, बरु अहङ्कारले निषेध जन्माउँछ ।

विचार फेर्न त सकिन्छ, ध्वस्त गर्न भने सकिँदैन । संस्कार संस्कृति हिमालबाट निस्केको नदीजस्तै हो । यसलाई बाटो फेर्न सकिन्छ, थुन्न सकिन्न । अहिले विचार, आदर्श र मूल्यभन्दा घृणा र प्रतिक्रियाको सक्रियता अत्यन्तै शक्तिशाली भएको छ । सकारात्मक सोचको कुरा गर्दा त्यसलाई सचेतता र वर्ग संघर्षमा विकास गर्न सकिन्छ भने नकारात्मक सोचले बदला लिने र औकात देखाइदिने भूमिकामा मात्र सीमित बनाइदिन्छ । ट्रेडमार्कमा वस्तुको गुण हुँदैन, विज्ञापन मात्रै हुन्छ ।

झण्डै दुई दशकदेखि नेपाली राजनीतिक घटनाक्रम यति तीव्रताका साथ बढे कि त्यसको गति पक्रनसमेत सामान्य जनलाई सहज र सरल भएन । धेरैका भविष्यवाणी हावादारी भए । स्वयम् माओवादीका कैयौँ नेतृत्व आफ्नै बोझ धान्न नसकेर बामपुड्के देखिए ।

जनयुद्धको प्रस्थान र समय चयनमा नै गलत थियो ? के क्यारिरिस्टहरूको राजनीतिक अभियान मात्रै थियो ? के शहीदको खेती थियो ? समग्र केन्द्रमा प्रचण्ड मात्रै थिए । उपलब्धि हकदार र आरोपको अभियुक्त उनी मात्रै हुन ? के प्रचण्डले माओवादी र कम्युनिस्टलाई धोका दिए ? के उनको क्षमताले यति मात्रै गर्न सक्थ्यो ? उनले आन्दोलनलाई अन्यन्त्र मोड्दा पनि नरोकिएका बहस के हुन ? के जनयुद्ध यहीँ रोकिनुपर्ने आवश्यकता थियो ? रोकिएपछि नरोकिएका बहस के–के हुन ? जो गरिबको हितमा लड्छन्, कसरी ती रातारात धनी बन्न पुग्छन् ? धरती फेर्न गएको कमान्डर कसरी अपराधी बन्न सक्छ ? रूपान्तरण के हो ? पार्टीका आन्तरिक र बाह्य समस्या के हुन् र निदान कसरी हुन्छ ? राष्ट्रिय राजनीतिको केन्द्रीय द्वन्द्वको पाटो के हो ? नेकपाको राष्ट्रिय र अन्तर्राष्टिय अवस्था के छ ? छिमेकीको शक्ति सन्तुलन र अवस्थाले यहाँ के असर पार्छ ? के माओवादी रूप र गुणमै माओवादी हुन् ? जनयुद्धको सन्देश के ? परिणाम के निकाल्ने ? रूपअनुसारको गुण र मर्मअनुसारको कर्म नभएपछि नेपाली अफिसियल कम्युनिस्टहरूले अझै कम्युनिस्ट वा माओवादी भनिरहनु कुनै तुक छ ?

अन्त्यमा,

१) अभिजातको स्वर्गमा जनयुद्धले धावा बोल्यो । हायलकायल बनायो । कालान्तरमा भने फेर्न गएका अधिकांश योद्धा स्वयम् नै फेरिएपछि जनयुद्धप्रति नै प्रश्न उब्जिए । वर्ग संघर्ष प्रधानता बनाएर जाति एवं वर्ण संघर्षलाई मातहत ल्याउन नसक्दा उत्पीडित जाति र वर्णभित्रै अभिजात तप्काको अर्को हालीमुहाली तप्का नेतृत्वमा पुग्दोरहेछ । त्यहीँबाट विद्रोहका बाइप्रोडक्ट निक्लँदा रहेछन् । उत्पीडित तप्काका अभिजातले लम्पट मस्तिष्कलाई भिडमा परिवर्तन गर्दा मधेश, जनजाति र दलित विद्रोह बनेर देखा परे ।

२) जनयुद्ध थालनी गर्ने १८ जना केन्द्रीय सदस्यलाई नियाल्दा भन्नुपर्ने हुन्छ– नायकहरू दुस्मनसँग लड्छन्, नालायकहरू तर्क कोरल्दै आपसमै भिडन्त गर्छन् । राजनीतिक परिणाम सूत्रमा चल्दैनन् । सम्भावना जोखिममा हुन्छन् । उद्देश्य ठीक राखेर गरिएका कामको उचित व्यवस्थापन र मार्केटिङ हुन सकेन भने उचित प्रतिफल कर्ताले पाउन सक्दैन । तर, कहिलेकाहीँ नेतृत्व घोषित आदर्श र अभ्यासमा टिकिरहन नसक्दा पनि आन्दोलनले खेलेको भूमिका, पारेको प्रभाव, भएको उथलपुथलले त्यो समाजमा दीर्घकालीन प्रभाव र छाप इतिहासमा छोडिरहन्छ । ठूलो भएर ठूलो हुन धेरै कठिनाइ हुँदो रहेछ ।

३) हस्तक्षेपको सक्रिय अभ्यासले नेपाली समाजमा जाग्राम गरायो । इतिहासको व्यवस्थापन र अभिजात वर्ग, वर्ग सिफ्ट भएका क्रान्तिकारी र उनका जीवनले दिएको नकारात्मक सन्देश, क्षतिपूर्तिभाव, इतिहासको व्यवस्थापन, विचारको औचित्य सावित गर्ने भाष्य तयार हुनुपर्दो रहेछ । पद र मदका नसा उस्तैउस्तै हुँदा रहेछन् । दुवैका नसा लागुञ्जेल अन्य केही सोचिँदैन, आफैँ सर्वज्ञ र महाशक्तिशाली सोचिन्छ र उत्रिए मात्रै पछुताइरहन्छन् ।

४) वर्ग संघर्ष शान्तिपूर्ण होस् या सशस्त्र, अत्यन्तै भयानक हुन्छ । जहिले पनि अभिजातहरूको भद्रता कुरूप तरिका र षड्यन्त्रमै व्यक्तित्व भने जनमतलाई लम्पटमा फेर्ने वा दिग्भ्रमित पारेर आवेगमा ल्याउने कलामय खेल हुन्छन् । क्रान्तिकारीहरूका लागि हरेक प्रतिकूलता चुनौती मात्र हुँदैन, अवसर पनि लिएर आएको हुन्छ ।

५) नाराको नेतृत्व र कुशल मार्केटिङ गर्नुभन्दा सत्ताकेन्द्रित राजनीति बन्दा जनयुद्धप्रति नै आशंका र प्रश्न उठ्छन् । पहिचान दिने पार्टीबाट मान्छे किन आफन्तसँगै रिसाएपछि मनसुख हुन्छ ? यी भ्रम चिर्न सकिएन भने अन्योल सिर्जना हुन्छ । द्वन्द्वका चरित्र र द्वन्द्वबारे । वर्ग सिफ्ट भएपछि सहमतिको दर्शन सुरु हुन्छ । बुर्जुवासँग प्रतिद्वन्दीलाई चुनौती दिने नैतिक इच्छाशक्ति हुँदैन । पहिचान दिने पार्टीबाटै मान्छे किन विमुख हुन्छ ? समानुपातिक सिद्धान्तले संरचनागत फाइदामा रहेको तप्का नै ‘जनयुद्ध’को विरोधी देखापर्दै गयो । महिला, सीमान्तकृत अल्पंख्यक, दलित, जनजाति, मधेश, पुलिस, कर्मचारी र सेना आदिमा आरक्षित नै विरोधमा देखिए । कारण खोतल्न थालिएन । सतही परिणामलाई मात्र नियालेर उद्देश्यको मापन गर्न सकिँदैन । त्यसले आग्रहहीन समग्र अध्ययन गर्न आवश्यक हुन्छ ।

६) कर्पोरेट राजनीति हावी भइरहेको बेला सिद्धान्तको राजनीति सुविधाको राजनीतिमा फेरिन्छ । नाफाले भूमिका तय गर्छ । पार्टी छुटिँदैनन् । कम्युनिस्टहरूले घन्ट बजाउँदै रामनामी ओढेर स्वर्गको बाटो सफा गर्न वैतरणी तर्न गौदान गर्न सक्छन् । क्यालकुलेटर राम्रो चलाएर आफ्नो मोल तय गर्दै हाटबजारमा लिलाम बढाबढ गरिन्छ । माल किन्ने र बेच्ने दुवैले सक्कली होइन भन्ने थाहा पाउँदापाउँदै किन्छन्, बेचिन्छन् ।

विश्वासको पुनर्स्थापना अहिले माओवादीको सबभन्दा ठूलो चुनौती हो । जुन जनमतले विश्वास गर्‍यो, उसको सम्मान र जसले जिम्मेवार हुन चेतावनी दिए, उसबाट विनम्र शिक्षा लिन सक्छ । चुनौती र सम्भावना भनेको कम्युनिस्ट बन्नकै लागि उसले सूचना तथा सञ्चारको विकाससँगै २१औँ सदीमा वर्चस्ववाद साम्राज्यवाद र उसको मनोदशा सिर्जना गर्ने उपभोक्तावादसँग कलामय प्रतिकार, नयाँ समाजवादी आदर्श र संस्कृतिमा विशेष जोड दिए मात्र विघटनबाट बच्न सक्नेछ ।शिलापत्रबाट

२०८० फाल्गुन १, मंगलवार प्रकाशित 1 Minute 100 Views

ताजा समाचार