२०८१ जेष्ठ ६ आईतवार

कोशी प्रदेश सरकारको गृहकार्य : काँकरभिट्टामा पर्यटक स्वागत कक्ष र सूचना केन्द्र निर्माण हुँदै

काँकरभिट्टा । कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले पूर्वी प्रवेशद्वार काँकरभिट्टाबाट भित्रिने पर्यटकको आवागमनलाई सहज बनाउन प्रदेश सरकारले आवश्यक गृहकार्य सुरु गरेको बताएका छन् ।

मंगलवार मेचीनगरका विभिन्न स्थानको अवलोकन गर्दै उनले प्रदेश सरकारले विराटनगरको रानी र काँकरभिट्टामा पर्यटक स्वागत कक्षसँगै पर्यटक सूचना केन्द्र निर्माणका लागि बजेट विनियोजन गरेको बताए ।

त्यसक्रममा मुख्यमन्त्री कार्कीले पर्यटक आवागमनलाई सहज बनाउन पहल थालिएको जानकारी गराउँदै पर्यटकमैत्री सुविधायुक्त पर्यटन सूचना केन्द्रको अवधारणा अघि सारिएको उल्लेख गरे ।

अधिकतम बाह्य पर्यटक भित्र्याउने रणनीतिका साथ प्रदेश सरकारले काँकरभिट्टामा अत्याधुनिक बस टर्मिनल निर्माण गर्ने, निर्माणाधिन भौतिक संरचना समय अवधिभित्रै पूरा गर्ने र सीमावर्ती शहर काँकरभिट्टालाई आकर्षणको केन्द्रको रुपमा विकास गर्ने लक्ष्य लिएको उनको भनाइ थियो ।

मुख्यमन्त्री कार्कीका अनुसार अर्थतन्त्रको प्रमुख स्रोत भन्सार राजस्व वृद्धितर्फ ध्यान केन्द्रीत गर्न मेची भन्सार कार्यालयका प्रमुख रामप्रसाद रेग्मीलाई निर्देशन दिए ।

सो अवसरमा रेग्मीले मुख्यमन्त्री कार्कीलाई सीमाका समस्या, नाकाबाट आयात हुने मालवस्तुको कमीलगायतका विषयमा जानकारी गराएका थिए ।

वर्षौंदेखि हात्तीबाट प्रभावित क्षेत्र मेचीनगर–४ का वडा अध्यक्ष अर्जुनकुमार कार्कीलगायत सरोकारवाला प्रतिनिधिहरुले मुख्यमन्त्री कार्कीलाई हात्तीका कारण भोग्नुपरेको पीडा स्मरण गराउँदै तत्काल दिगो समस्या समाधानका लागि पहल गरिदिन आग्रह गरेका थिए ।

त्यसपछि मुख्यमन्त्री कार्कीले हात्ती प्रभावित क्षेत्रमा विशेष योजना तयार गरी कार्यान्वयन गर्न प्रदेश सरकार दृढतापूर्वक अघि बढ्ने आश्वासन दिए ।

त्यस्तै, संविधानसभा सदस्य एवं पर्यटन व्यवसायी उषा गुरुङले पूर्वी नाकाबाट पर्यटक भित्रिने वातावरण नबन्दा त्यसले पारेको प्रत्यक्ष प्रभावबारे मुख्यमन्त्री कार्कीको ध्यानाकर्षण गराइन् ।

उनले पर्यटन, होटल, ट्राभल, यातायातलगायत क्षेत्रले खेप्नुपरेको सास्ती बुझेर पर्यटक भित्र्याउन आवश्यक तयारी अविलम्ब थाल्न मुख्यमन्त्री कार्कीसमक्ष आग्रह गरिन् ।

अवलोकन टोलीको संयोजन गरेका कोशी प्रदेशका सांसद गोपाल तामाङले प्रदेशका पर्यटकीय गन्तव्यको प्रवद्र्धनसँगै सम्भावित पर्यटकीयस्थलको सम्भाव्यता अध्ययनमा ध्यान केन्द्रीत गर्ने बताए ।

उनले पर्यटकलाई सूचना सञ्चार गर्न, बाह्य पर्यटकलाई सहजरुपमा सेवा सुविधा प्रवाह गराउन, पर्यटकको सहजीकरण, आत्मिय व्यवहार, पाहुनाको स्वागत तथा सत्कारका लागि ल्याइएको पर्यटक स्वागत कक्ष र पर्यटक सूचना केन्द्रको अवधारणा उपलब्धिमूलक बन्ने धारणा व्यक्त गरे ।

अवलोकन टोलीमा रहेका मेचीनगर नगरपालिकाका प्रमुख गोपाल बुढाथोकीले संघीय र प्रदेश सरकारसँग समन्वय गरी नगरको विकासका लागि ठोस कार्ययोजना बनाएर सर्वदलीय एवं सर्वपक्षीय सहमतिका आधारमा अघि बढ्ने बताए ।

त्यस्तै, सो टोलीमा रहेका कोशी प्रदेशका पूर्वसांसद श्रीप्रसाद मैनालीले नेपालको मौलिक संस्कार संस्कृति झल्किने विश्राम कक्षको निर्माणले पर्यटक आगमनसँगै काँकरभिट्टाको मुहार फेरिनेमा विश्वस्त रहेको बताए ।

“पर्यटन कार्यालय काँकरभिट्टामा रहेको पर्यटक प्रहरी शाखासँगै पर्यटन सूचना केन्द्रको कार्यालयलाई व्यवस्थित गर्ने तयारी भइरहेको छ”, उनले भने, “ बाह्य पर्यटकको सेवा र सुविधालाई मध्यनजर गर्दै यस्तो सोच बनाइएको हो ।”

काँकरभिट्टा बस टर्मिनल, प्यारिभिट्टा बस पार्क व्यवस्थापन र आगन्तुलाई सहजरुपमा सेवा प्रवाह गर्नेबारे लगानी बोर्डका सिईओ अशोक कोइरालाले चासो राखेका मैनालीले बताए ।

“कोभिडअघि चलायमान रहेको नाका त्यसपछि सुस्ताउँदै गयोे, भारतले अवरोध गरेपछि तेस्रो मुलुकका पर्यटक आउनै छाडे”, उनी भन्छन्, “कोशी प्रदेशमा पर्यटकीय गन्तव्य धेरै भएपनि चकमन्न छन्, नाका तत्काल खुलाएर पर्यटक आवागमन सहज बनाउन सरकारलाई मेरो आग्रह छ ।”

काँकरभिट्टामा पर्यटन सूचना केन्द्र निर्माणका लागि प्रदेश सरकारको १ करोड रुपैयाँ बजेट पारित भई लगानी गर्ने तयारी भइरहेको छ । त्यसैगरी, अत्याधुनिक काँकरभिट्टा बस टर्मिनल निर्माण गर्न संघीय सरकार अन्तर्गतको लगानी बोर्डले १ करोड लगानी गर्ने तयारी गरेको छ ।

यी दुवै योजनाको सम्भाव्यता अध्ययनका लागि आएको टोलीमा पर्यटन मन्त्रालयका सचिव विशाल घिमिरे, लगानी बोर्डका सिईओ अशोक कोइरालालगायतको सहभागिता थियो ।

सो टोलीले काँकरभिट्टा बस टर्मिनल, काँकरभिट्टास्थित विश्वनाथ मन्दिर परिसरमा निर्माणाधिन भ्यू टावर, पर्यटन कार्यालय, मेची पुल, मेची भन्सारलगायतको निरीक्षण गरी वस्तुगत अवस्थाबारे जानकारी लिएको थियो ।

उक्त टोलीमा संविधानसभा सदस्य एवं मेचीनगर नगरपालिकाका संस्थापक प्रमुख रविन कोइराला, निवर्तमान नगरप्रमुख विमल आचार्य, मेचीनगर–६ का वडा अध्यक्ष ललित तामाङ, यातायात व्यवसायी विष्णुकुमार श्रेष्ठ, पर्यटन कार्यालय काँकरभिट्टाका सूचना अधिकारी निरोज कट्टेललगायत सहभागी थिए ।

२०८० फाल्गुन १, मंगलवार प्रकाशित 0 Minutes 527 Views

ताजा समाचार